आगामी १५–३० वर्ष मानवताको लागि निर्णायक !
सद्गुरु, यो बताउँदै हुनुहुन्छ कि अबको १५ देखि ३० वर्षभित्र परम्परागत योग प्रक्रियाहरूलाई व्यापक रूपमा मानिसहरूमाझ उपलब्ध गराउन सकिएन भने, मानव क्षमतामा निकै ह्रास आउन सक्छ ।
योगी हुनु भनेको आफ्नो व्यक्तित्व वा छुट्टै अस्तित्व हुनुको सीमारेखालाई मेटाउन तयार रहनु हो । कुनै न कुनै तरिकाले तपाईं बाँकी ब्रह्माण्डबाट आफूलाई अलग्याउने सीमाहरू मेटाउन चाहिरहनु भएको हुन्छ । योग भनेको वैज्ञानिक तरिकाबाट त्यस दिशातर्फ बढ्नु हो । त्यसको लागि तपाईंले कुनै विशाल मात्रामा काम गर्नुपर्दैन; तपाईं कामवासनामा लिप्त हुनुपर्दैन; तपाईं कुनै पनि कुरामा अल्झेर बस्नुपर्दैन । यदि तपाईंले होशपूर्वक आफ्ना सीमाहरू मेटाउनुभयो भने, कुनै कामबाट पाउने अनुभवभन्दा यहाँ यत्तिकै बसेर पाउने अनुभव खर्बौँ गुणा बढी हुन्छ, र त्यो अनुभव अद्भुत हुन्छ । आफ्ना सीमाहरूलाई मेटाउनु नै योग हो ।
निरर्थक प्रयासहरू
यस धरतीमा मानिसहरूले गरिरहेका सम्पूर्ण वाहियात् कामहरूको मूल कारण ठोस सीमाहरू हुन् । मानिसहरूले आफ्ना सीमाहरूलाई यति ठोस बनाएका छन् कि यदि दुईजना व्यक्तिहरू भेटे भने, जुध्न थालिहाल्छन् । योग भनेको शरीरलाई यताउती बङ्ग्याउने वा बटार्ने अभ्यास होइन; यो मोटोपन घटाउने वा तनावमुक्त गराउने कार्यक्रम समेत होइन । वास्तवमा, योगको अर्थ "म अनि बाँकी ब्रह्माण्ड" भन्ने मूर्खतापूर्ण सोचलाई बुझ्नु हो । जे तपाईंको जीवनको मूल स्रोत हो, उसैसँग प्रतिस्पर्धा गर्नु भनेको पूर्णतया मूर्खता हो । जब तपाईंलाई यो कुरा ज्ञात हुन्छ, तपाईं योगतर्फ बढिरहनु भएको हुन्छ ।
तपाईंले यो कसरी गर्नुहुन्छ भन्ने कुराले कुनै अर्थ राख्दैन । तपाईं चाहे यसलाई प्रभाव भन्नुहोस्, सेवा भन्नुहोस् वा अरू जेसुकै नाम दिनुहोस्, मूलत: जब तपाई म अनि बाँकी संसार भन्नु मूर्खतापूर्ण प्रतिस्पर्धा हो भन्ने कुरा जान्नुहुन्छ, तपाईं आफ्ना सीमाहरूलाई खुकुलो बनाउन थाल्नुहुन्छ— यही योग हो । यसको अर्थ 'असफल नहुने तरिकाले' त्यसतर्फ बढ्नु भन्ने हो । जब दुई व्यक्तिहरू प्रेममा पर्छन् वा विवाह गर्छन्, उनीहरूलाई आफूहरू योगमा भएको लाग्दछ, आफूहरूले सबै सीमाहरू भत्काएको ठान्छन् । तर, केही समयपछि यो असफल नहुने तरिका होइन रहेछ भन्ने कुरा महसुस हुनेछ ।
तपाईंले केही क्षणहरूको लागि मात्रै सीमा भत्काउनु भएको हुनाले केही समयपछि प्रतिशोधको भाव उत्पन्न हुनेछ । दुईजना व्यक्तिहरू केही समय सँगै रहेपछि, एक–अर्काको विरुद्धमा जानैपर्छ भन्ने छैन । सँगै रहँदा सुख–सुविधाहरू हुन सक्छन् । केही विरलै पलहरूमा उनीहरूले एक–अर्काबिचको सीमा मेटाएका पनि हुन सक्छन् । बाँकी समयमा यो एक–अर्काबाट कसरी फाइदा धुत्न सकिन्छ भन्नेमा नै केन्द्रित हुन पुग्दछ । योगको स्वरूप जस्तोसुकै भएपनि मूलतः योगको अर्थ यही हो: सर्वप्रथम, तपाईं आफ्ना सीमाहरू मेटाउन इच्छुक बन्नुहुन्छ । अनि त्यसपछि, यदि तपाईंलाई त्यसले दिने आनन्द अनुभूति भयो भने, तपाईं आफ्नो सेरोफेरोमा सबैमाथि यो अनुभव घटोस् भन्ने चाहनुहुन्छ ।
जीवनको विडम्बना
मूलभूत रूपमा जीवनको विडम्बना के हो भने, जीवनका साधनहरू नै हामी विरुद्ध काम गरिरहेका हुन्छन् । शरीर र मनबिना यहाँ रहन सम्भव छैन । शरीर र मन जीवनका सबैभन्दा आधारभूत साधनहरू हुन्, तर यी दुवै व्यक्तिको विरुद्धमा काम गरिरहेका हुन्छन् । चाहे तपाईं यसलाई दुःख, पीडा, रोग भन्नुहोस्, वा अरू कुनै नाम दिनुहोस्— मूलत: जीवनका दुई आधारभूत साधनहरू तपाईंको विरुद्धमा गएका छन् ।
यी दुवै चीजहरूलाई आफ्नो अहितमा नभई आफ्नै हितमा राख्नु हाम्रो प्रमुख दायित्व हो । यदि हाम्रो शरीर र मन नै हामी विरुद्ध गए भने, मनुष्य हुनुको सम्भावना कहिल्यै जान्न सकिँदैन । मानौँ, तपाईंको टाउको दुखेको छ— कुनै ठूलो समस्या होइन, क्यान्सर होइन— एउटा सामान्य टाउको दुखाइले पनि तपाईंको जीवन अस्तव्यस्त बनाइदिन्छ । वा भनौँ, तपाईंको नाक जतिबेला पनि बन्द भइरहन्छ, कुनै ठूलो समस्या होइन, सामान्य रुघा मात्रै । पहिला त तपाईं भन्नुहोला, "के नै ठूलो कुरा हो र ?" तर, मानिलिनु होस् कि त्यो केही वर्षसम्म रहिरह्यो भने, तपाईंले देख्नुहुनेछ कि जीवन्त हुनुको भाव नै रहँदैन । कुनै क्यान्सर वा हृदयघातले नभई सामान्य रुघाले गर्दा नै जीवन्तता समाप्त हुन्छ । यदि तपाईंको शरीर, तपाईंको मन नै तपाईं विरुद्ध काम गर्न थाले भने, तपाईंले मनुष्य हुनु भनेको के हो भन्ने कुराको सम्पूर्ण आयामलाई पूरै गहिराइमा खोज गर्न सक्नुहुन्न ।
सबैथोकलाई आफ्नो हितमा काम गर्ने बनाउनुहोस्
केही मानिसहरूमा सम्पूर्ण ब्रह्माण्ड नै उनीहरूको विरुद्धमा छ भन्ने धारणा रहेको हुन्छ । उनीहरू जसरी बाँचिरहेका छन्, त्यसले गर्दा नै उनीहरूलाई त्यस्तो लाग्छ । जब तपाईंमा यस किसिमको विरोधी भावना आउँछ, तपाईं बाँच्न सक्नुहुन्न । योग भनेको शरीर, मन, अस्तित्व सबैथोकलाई हामीसँगै काम गर्ने बनाउनु हो; अझ राम्रो त यो हुन्छ कि हामी नै यी सबैसँग काम गरौँ । यस्तो स्थितिमा यदि केही भयो भने, त्यो रामो; यदि केही पनि भएन भने, त्यो झन् गज्जब ! आज केही महत्वपूर्ण काम गर्नुपर्नेछ भने, उत्तम; गर्नुपर्ने केही पनि छैन भने, सर्वोत्तम ! तर प्रायः मानिसहरूको सन्दर्भमा, केही भयो भने समस्या हुन्छ; केही पनि भएन भने त अति विशाल समस्या हुन्छ ।
योग भनेको तपाईं सबैथोकको एउटा अंश बन्नु हो । तपाईंको आफ्नै व्यक्तिगत अस्तित्व हुन्छ, तैपनि अब सीमाहरू भने अलि खुकुलो र खुला हुन्छन् । यसैकारण, कुनै न कुनै रूपमा हामी सबैथोक बनेका हुन्छौँ, अनि तबपनि हामी जुनसुकै चीजसँग सहजै रहन सक्छौँ । यदि तपाईंले आफ्ना सीमाहरू पूरै खुला गर्नुभयो, अनि अस्तित्व र यसको स्रोतले तपाईंसँग सहकार्य गर्न थाले भने, हुनुपर्ने कुरा अवश्य हुनेछ । योग भनेको यही हो— सबैथोकसँग तालमेलमा रहनु, किनकि तपाईंले आफ्ना सीमाहरू खुकुलो पार्नु भएको हुन्छ । तपाईं आफ्ना सीमाहरूमा प्वालै प्वाल पार्नुहोस्, ताकि जीवन त्यसबाट भित्र छिरोस्, जहाँ तपाईं आफ्नै शरीर र मन रूपी पिँजडामा कैदी बनेर रहनुहुन्न ।
अधिकांश मानिसहरू आफ्नै शरीर र मनका बन्दी हुन्छन् । तपाईंभित्र जुन जीवन रहेको हुन्छ, त्यसलाई काम गर्न दिनको लागि तपाईंको शरीर र मन एउटा मञ्च बन्नुको सट्टा स्वयं जीवनलाई बन्दी बनाउने पर्खाल बन्दछन् । यस्तो स्थितिमा यो जीवन बाँच्न योग्य छ भन्ने कुरा महसुस गर्नको लागि तपाईंले सदैव आफूलाई अनेक थरीका कुराहरूले भर्नुपर्ने हुन्छ; तपाईं आफूमात्र नभई अरूहरू पनि त्यसैगरी रहून् भन्ने अपेक्षा राख्नुहुन्छ । अत: योगीहरू एक्लै बस्ने गर्दथे— उनीहरूलाई अरू कसैको वास्ता नभएकोले होइन, बरु यसकारण किनकि उनीहरू एक्लै आनन्दित भएर रहन सक्थे । त्यसबेलाको समाजले रुचि देखाएको भए सायद उनीहरू पनि समाजको अङ्ग बनेर रहन्थे होला ।
खोक्रो पिँढी
अहिले हामी इतिहासको यस्तो कालखण्डमा आइपुगेका छौँ, जहाँ हामी खोक्रो पिँढी भएका छौँ । उदाहरणको लागि, मेरा बुबाको पालामा उहाँहरू आफ्नो जीवनको जस्तोसुकै व्यक्तिगत घटनाहरूबारे कहिल्यै अरू कसैसँग चर्चा गर्नुहुन्न थियो— उहाँहरू त्यसलाई आफूभित्रै सम्हाल्नु हुन्थ्यो अनि जीवन चलाउनु हुन्थ्यो । त्यसपछि मेरो पिँढी शुरु भयो । विश्वविद्यालयमा हुँदाखेरी म बाहिर बगैँचामा बस्थेँ । प्रत्येक दिन कोही न कोही आउँथे अनि मलाई आफ्नो पूरै जीवनकथा सुनाउँथे । रुचिकर जीवन नभए तापनि उनीहरू मलाई सुनाउन चाहन्थे । उनीहरू कसरी आफ्ना आमाबाबु, आफ्नो पढाइ, आफ्नो गरीबी, आफ्नी प्रेमिका वा प्रेमीबाट निरन्तर प्रताडित भइरहेका छन् भन्ने बकम्फुसे गुनासो मात्र सुनाउँथे । त्यसबेला म उनीहरूका सब कुराहरू सुन्थेँ— सबैसँग कुनै न कुनै समस्या हुन्थ्यो । मलाई चाहिँ आफू विचित्र प्राणी हुँ जस्तो लाग्थ्यो, किनकि मसँग कुनै समस्या हुँदैनथ्यो ।
मेरा बुबाको पिँढीमा उहाँहरूले दैनिकी लेख्ने गर्नुहुन्थ्यो । मेरै पिँढीमा पनि धेरै मानिसहरूले आफ्नो जीवनका सबै पक्षहरू समेटेर दैनिकी लेख्ने गर्थे, अनि उनीहरू त्यो कसैलाई देखाउन चाहँदैनथे । यदि केही गरी कसैले शुरुको पाना खोल्यो भनेमात्र पनि उनीहरू निकै दुःखी हुन्थे । "मेरो जानकारीबिना तपाईंले मेरो दैनिकी कसरी खोल्न सक्नुभयो ?"— त्यसो गर्नु अपराध जस्तै हुन्थ्यो ! तर, अहिलेको पिँढीलाई हेर्ने हो भने, उनीहरू आफ्नो जीवनको हरेक पक्षहरू फेसबुकमा राखिरहेका हुन्छन्, अनि यहाँ सम्म कि यदि त्यो कसैले हेरेन भने उनीहरू निकै दुःखी हुन्छन् । जस्तै कि, "म नास्ता गरिरहेको छु,"— फोटो अपलोड ! "म आइसक्रिम चाटिरहेको छु,"— फोटो अपलोड ! अनेक थरीका कुराहरू फेसबुकमा अपलोड गरिएका हुन्छन् ।
एक प्रकारले हेर्ने हो भने, अहिलेको पिँढी खोक्रो भएको छ । एउटा पिँढीको रूपमा मानिसहरू यस हदसम्म खोक्रो भइरहेका छन् भने, अवश्य नै रूपान्तरणको समय भएको छ— यो उत्तम समय हो । यस्ता थुप्रै कुराहरू छन्, जसलाई म यहाँ स्पष्ट रूपमा बताउन सक्दिनँ । यदि हामीले वास्तवमै यस धरतीका मानिसहरूलाई रूपान्तरण गर्नुपर्ने हो भने, आगामी १५ देखि बढीमा ३० वर्षसम्म मात्र हामी उनीहरूसँग काम गर्न सक्नेछौँ । त्यसपछि, उनीहरूसँग काम गर्न अत्यन्तै कठिन हुनेछ । अवश्य पनि केही मानिसहरू इच्छुक हुनेछन्, केही अरू अनिच्छुक हुनेछन् । तर, साधारणतया हेर्ने हो भने, अबको १५ देखि ३० वर्षसम्म मानिसहरूको ठूलो आवादी सही अर्थमा साँच्चिकै इच्छुक हुनेछन् । त्यसपश्चात, विविध कारणहरूले गर्दा स्थिति जटिल र कठिन हुनेछ ।
सीमित समयको लागि रहेको सम्भावना
तसर्थ, हामी एकदमै उपयुक्त समयमा यहाँ छौँ । यदि हामीले सही काम गऱ्यौँ भने, हामीले अधिकांश मानिसहरूको जीवनलाई छुन वा प्रभाव पार्न सक्छौँ । तर, यदि समय बित्यो र यो पिँढी पनि गयो, अनि मानिसहरू फेसबुक र यावत् कुराहरूबाट बाहिर निस्किए भने, त्यसबेला परिस्थिति अत्यन्तै कठिन हुनेछ । सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, यदि हामीले आउँदो २५–३० वर्षमा विश्वभरि पर्याप्त मात्रामा र शक्तिशाली रूपमा योगलाई फैलाउन सकेनौँ भने, विश्वको नब्बे प्रतिशतभन्दा बढी जनसङख्याले कुनै न कुनै प्रकारको नशाको सहारा लिनेछन् । यदि उनीहरू नशाको लतमा फसे भने, तपाईं उनीहरूसँग कुरा पनि गर्न सक्नुहुन्न । दुर्भाग्यवश, विश्व तीव्र गतिले त्यही ठाउँमा अघि बढिरहेको छ । यदि तपाईंले उनीहरूलाई यहाँ यत्तिकै बसरे आफ्ना सीमाहरू मेटाउने योग–मार्ग देखाउनु भएन भने, उनीहरू यस प्रकारले विभिन्न रसायनहरू (chemicals) प्रयोग गर्नेछन्, जुन ठीक होइन । त्यो तरिकाले केही मिनेट वा घण्टाको लागि काम गर्ला— तर, त्यसको प्रभाव सकिएपछि अवस्था अत्यन्तै भयानक हुनेछ ।
अहिले सही समय हो, र यस धरतीमा हाम्रो समय हो । यदि हामी प्रतिबद्ध र दृढ रहने हो भने, यो समयलाई हामी मानवताको इतिहासकै सर्वोत्तम समय बनाउन सक्छौँ, किनकि हामी पहिले कहिल्यै यति सशक्त र सक्षम थिएनौँ । कम्तीमा पनि मानिसहरूको जीविका पहिलेको तुलनामा निकै सुदृढ भएको छ, दुर्भाग्यवश अरू प्राणीहरूका हकमा त्यो अझै सम्भव भएको छैन । मानिसहरूका लागि पहिले कहिल्यै यति धेरै आरामको साधनहरू, यति धेरै सुबिधाहरू उपलब्ध थिएनन् । यदि हामीले अहिल्यै सही काम गरेनौँ भने, पछि निकै ढिलो हुनेछ, किनकि त्यसबेला परिस्थितिहरू निकै भिन्न हुनेछन् । यो आँकलन गरिएको छ कि कृत्रिम बुद्धि (Artificial Intelligence) को उदयसँगै सम्भवतः अबको सत्तरी वर्ष जतिमा ४०–५० प्रतिशतको हाराहारीमा मानिसहरूले आत्महत्या गर्न सक्नेछन् । किनकि, यदि त्यहाँ गर्नुपर्ने केही रहेन भने, मानिसहरूलाई आफ्नो जीवनमा कुनै औचित्य नरहेको लाग्नेछ ।
योग: अधिक छिटो रूपान्तरण गर्ने उत्प्रेरक
तसर्थ, योगको सञ्चार गर्नु (सिकाउनु) भनेको कुनै साधारण काम होइन— यो अत्यन्तै महत्त्वपूर्ण कार्य हो । यो कुरा सबैजनाले अहिले नै नबुझ्लान् । तर, यदि हामी सबैले पर्याप्त लगनताले सही काम गऱ्यौँ भने, तपाईंले अबको ५–७ वर्षमा योग विश्वको निम्ति कति जरुरी बन्नेछ भनेर देख्न सक्नुहुनेछ । पाँच वर्षअघिको तुलनामा अहिले नै यसको माग उल्लेखनीय रूपमा बढिसकेको छ । तर, एउटा कुरा के हो भने, कुनै पनि कुराको माग असाध्यै बढी भएको समयमा अचानक अनेक थरीका जाली, भ्रामक, मिलावटी एवं बनावटी कुराहरू देखा पर्न थाल्छन्, किनकि यो एउटा बजार बन्दछ । यदि त्यहाँ गुणस्तरीय चीज नहुने हो भने, मानिसहरूले आफैँ बनाएर अनेक थरीका चीजहरू गर्न थाल्छन् ।
योगको परम्परागत पद्धति अद्वितीय छ । यो जुम्बा वा अरू त्यस्तै कुराहरू जति मनोरञ्जनात्मक नहोला, तर यदि मानिसहरूले सही तरिकाले योग प्रक्रियाहरूको अभ्यास गर्ने हो साथै त्यसमा आफूलाई समर्पित गर्ने हो भने, यसबाट यस्ता कुराहरू सम्भव हुन्छन्, जुन मानिसहरूले कहिल्यै कल्पना समेत गरेका हुँदैनन् । योग एउटा अद्भुत पद्धति हो— यसले तपाईंको अस्तित्वको रचना र त्यसको संयोजनलाई नै परिवर्तन गर्न सक्छ । जब मैले बाह्र वर्षको उमेरमा योगको सरल प्रक्रयाहरूको अभ्यास शुरु गरें, यसले शारीरिक रूपमा ममा व्यापक बदलाव ल्यायो । यो कुरा तपाईं कति लगनताले त्यसमा लाग्नुहुन्छ भन्नेमा निर्भर हुन्छ ।
योग कसलाई सिकाउने ? कसरी सिकाउने ?
योग विज्ञान सदैव त्यहीँ रहेको हुन्छ, तर यसलाई कसले अघि बढाउँछ अनि कसरी लैजान्छ भन्ने कुराले असाध्यै फरक पार्छ । निर्देशनहरू दिएर योग सिकाउनेबाहेक, योग सञ्चार गर्ने अरू तरिकाहरू पनि छन् । उदाहरणको लागि, यदि तपाईं ईशा योग केन्द्रमा रहेको ध्यानलिङ्ग नजिक जानुभएको छ भने— तपाईंले यस्तो आभास गर्न सक्नुहुन्छ कि त्यहाँ एक योगी बसिरहेका छन्; उनीसँग योगको बारेमा जान्न लायक सबैकुरा छ । उनी बोल्न सक्दैनन्, तर यसको अर्थ उनी कम प्रभावकारी छन् भन्ने होइन ।
म जे–जति गर्न चाहन्छु, त्यसको लागि मसँग सम्पूर्ण ऊर्जा छ । तर, केही अवस्थाहरूमा शरीरको कारणले गर्दा म आफूले सबैथोक गर्न सकिरहेको हुँदिनँ । यदि तपाईं आफूभन्दा पर गएर केही गर्न इच्छुक हुनुहुन्छ भने, विशेषगरी युवा वर्गहरूका लागि त्यो सम्भवना रहेको छ । तपाईंहरूमध्ये जो त्यस दिशामा जान इच्छुक हुनुहुन्छ, तपाईंहरू आफ्नो इच्छा व्यक्त गर्नुहोस् । अनि, त्यसपछि के गर्न सकिन्छ भनेर हामी हेर्नेछौँ ।
Editor's Note: Connect with Sadhguru! Download the Sadhguru App and get access to free meditation, Sadhguru’s articles, videos, daily quotes, program info and much more. Available on Android and iOS.