सूत्र किन प्रयोग गरिन्छ— यसको विज्ञान के हो ?
यस संस्कृतिमा विभिन्न अवसरहरूमा सूत्र बाँध्ने प्रचलन रहेको छ । सूत्र कसरी निर्माण गरिन्छ अनि किन प्रयोग गरिन्छ ? के सूत्र भनेको धागो मात्रै हो वा यसको पछाडि कुनै विज्ञान पनि रहेको छ ? शरीरमा लगाउँदैमा के एउटा सामान्य धागोले साँच्चिकै कुनै प्रभाव पार्न सक्ला र ? यिनै प्रश्नहरूलाई सम्बोधन गर्दै, सद्गुरु, सूत्र निर्माण गर्ने तरिका, यसको विज्ञान र प्रयोग गर्नुको कारणबारे व्याख्या गर्दै हुनुहुन्छ ।
आधुनिक विज्ञानले अस्तित्वमा रहेका चिजहरूको मूलभूत बनोटलाई पहिचान गर्न शुरू गरेको छ । उदाहरणको लागि, बगिरहेको पानीले बनाउने आकृति र मरुभूमिमा बालुवामा हुने आकृतिबिच समानता हुन्छ । एउटा नदी जसरी बग्दछ अनि मानवप्रणाली जसरी सञ्चालित हुन्छ, त्यसको बिचमा पनि प्रत्यक्ष सम्बन्ध हुन्छ । अस्तित्वमा भएका हरेक वस्तुहरूको मूलभूत बनोट एउटै छ । वस्तुहरू केवल जटिलता र परिष्कारको सन्दर्भमा भिन्न हुन्छन् । केही विशेष स्वरूप वा आकारहरूले ऊर्जालाई लामो समयसम्म थाम्न सक्छन् । यस सन्दर्भमा लिङ्ग वा दीर्घवृत्ताकार (ellipsoid) उत्कृष्ट आकार हो, किनकि सही तरिकाले निर्माण गरिएको लिङ्गले ५–१० हजार वर्षसम्म ऊर्जालाई सञ्चय गर्न सक्छ, जुन मनुष्यको अनुभवमा अनन्तकाल जस्तै प्रतीत हुन्छ ।
ऊर्जा सञ्चय गर्ने वस्तुहरू
हामी विभिन्न वस्तुहरूमा ऊर्जा भर्न सक्छौँ, जस्तै कि रेशम । यदि तपाईंले ईशा योग केन्द्रमा प्रतिष्ठित गरिएको लिङ्ग भैरवी देवीको स्थानमा विशेष रूपले ऊर्जावान् गरिएको सारी लगाउनुभयो भने, त्यसले तपाईंलाई पूरै आनन्दित बनाइदिन्छ, किनकि त्यो कपडा केही समयसम्म लिङ्ग भैरवीमा राखिएको हुन्छ । रेशम, सुती र तामाले उत्तम ढङ्गले ऊर्जा सोस्दछन् । पारो (mercury) सबैभन्दा उत्तम हुन्छ । तर, तपाईंले त्यसको लागि आवश्यक स्तरको साधना गर्नुभएको छ भनेमात्र, मर्करी प्रयोग गर्न सक्नुहुन्छ ।
कपासको धागोलाई ऊर्जा सङ्ग्रह गर्ने वस्तुको रूपमा प्रयोग गरिन्छ, किनकि यो सहजै पाइन्छ, सस्तो हुन्छ अनि यसले लामो समयसम्म राम्ररी काम गर्छ । यसको ऊर्जा सोस्न सक्ने क्षमतालाई अझ बढाउनको लागि हामी बेसार जस्ता केही अरू पदार्थहरू पनि प्रयोग गर्छौँ ।
प्रतिरक्षा— भित्रबाट अनि बाहिरबाट समेत
अहिलेको आधुनिक समाजले बेसारको महत्व र चमत्कारलाई बुझ्न अझै बाँकी छ । एउटा कुरा के हो भने, यसले पाचन प्रणालीमा रहेका सानातिना सङ्क्रमणहरूलाई नष्ट गर्दछ । साथै, तपाईंले केही मात्रामा बेसार र घ्यू प्रयोग गर्नुभयो भने, त्यसले छालाको चमक वा कान्ति बढाउँछ । यो चमक बाहिरी सौन्दर्यसँग मात्रै सम्बन्धित छैन । बेसारले तपाईंको आभा (aura) को शुद्धिकरण गर्छ ।
प्रतिरक्षा प्रणालीले भित्रबाट मात्रै काम गर्दैन । तपाईंले आफ्नो वरपर निर्माण गर्नुभएको ऊर्जाको तहले पनि तपाईंको प्रतिरक्षा क्षमता निर्धारित गर्दछ । बेसारले तपाईंको वरपर एक प्रकारको जीवन्तता सृजना गर्छ, जसले तपाईंको आभाको प्रकृतिलाई परिवर्तन गरिदिन्छ, तपाईंको कान्ति बढाउँछ अनि तपाईंको प्रतिरक्षा क्षमतालाई बलियो बनाउँछ । बेसारको अर्को गुण यो हो कि तपाईंले यसको माध्यमबाट सहजै ऊर्जा सञ्चारित गर्न सक्नुहुन्छ । बेसारको प्रयोगले धागोले ऊर्जा राम्रोसँग सोस्न सक्दछ । वास्तवमा, बेसारले नै सामान्य धागोलाई विशेष सूत्र बनाउँछ ।
फरक प्रयोजन, फरक तयारी
आफ्नो प्रयोजन जे हो, सोहीअनुसार फरक–फरक किसिमका सूत्रहरू बनाउन सकिन्छ— सामान्य तरिकाले वा जटिल एवं परिष्कृत तरिकाले । यदि तपाईं त्यो सूत्रले निश्चित तरिकाले काम गरोस् भन्ने चाहनुहुन्छ भने, यसलाई विशेष रूपमा तयार गरिनुपर्छ । उदाहरणको लागि मङ्गलसूत्र । मङ्गलसूत्र, एउटा पवित्र सूत्र हो, जुन यस संस्कृतिमा विवाहित नारीहरूले लगाउने गर्थिन्— यो सूत्र दुई व्यक्तिहरूलाई जीवनको स्तरमा बाँध्ने प्रक्रियासँग सम्बन्धित हुन्थ्यो । महिनाको एकपटक महिलाहरूले आफ्नो मङ्गलसूत्रलाई बेसारले लेप्थे, अनि वर्षको एकपटक त्यसको धागो फेरिन्थ्यो । त्यो धागो कुनै विशेष सामाग्रीबाट बनेको हुन्थ्यो अनि त्यसलाई कसरी बनाउने भनेर जानेको व्यक्तिले नै तयार गर्दथे । तर, दुर्भाग्यवश आज त्यो पवित्र मङ्गलसूत्रको सट्टा महिलाहरूले सुनको मोटो सिक्री झुण्ड्याइरहेका हुन्छन् । जुन कुरा त्यसबेला विज्ञानको रूपमा रहेको थियो, त्यो समयको अन्तरालमा प्रतिकमात्र बन्न पुग्यो । अनि, जे प्रतिक थियो, त्यो अहिले हास्यास्पद र अर्थहीन बनेको छ ।
अन्य विशेष प्रयोजनको लागि विशेष किसिमको सूत्र वा धागो प्रयोग गरिनुपर्छ, जसले हामीले चाहेअनुरूप कार्य गर्दछ । केही उदाहरणहरू दिनुपर्दा— ईशा योग केन्द्रमा अवस्थित 'आदियोगी आलायम' मा रहेको आदियोगी लिङ्गमा एउटा सूत्र बेरिएको छ । लिङ्ग भैरवीको लागि भने, हामीले सूत्र हटाएका छौँ । तर, ध्यानलिङ्गमा रहेको वानश्रीमा जहिल्यै एउटा सूत्र बेरिएको हुन्छ, जसलाई समय–समयमा फेरिन्छ । यी सबै सूत्रहरू भिन्न–भिन्न तरिकाले बनाइन्छन् । सूत्र बनाउन लागि केही निश्चित समय लाग्छ— कहिलेकाहीँ ३० देखि ४० दिनसमेत लाग्छ । तर, यदि तत्कालै बनाउनुपर्ने भयो भने, केही मात्रामा जीवन–ऊर्जा खर्चिनुपर्ने हुन्छ ।
केही वर्षअघि म यात्रा गरिरहेको बेलामा केही विशेष परिस्थिति निम्तियो , अनि मैले पूर्व तयारीहरू नगरिकनै केही सूत्रहरू बनाउनु परेको थियो । सूत्र निर्माण गरिसकेपछि आफूलाई असर नगरोस् भन्नको लागि मैले आफूमाथि केही आवश्यक कामहरू गर्नुपर्ने हुन्छ, जुन मैले त्यसबेला गरिनँ । भोलिपल्ट, म लगभग हिँड्नै नसक्ने भएको थिएँ, जुन मेरो जीवनमा सायदै कहिल्यै भएको थियो । म त्यस्तो व्यक्ति होइन, जसलाई चक्कर लाग्दछ— चाहे मलाई विशाल चक्कामा घुमाउनुहोस्, रोलर कोस्टरमा राख्नुहोस् वा मलाई फनफनी घुमाउनुहोस् । तर, त्यस दिन म लर्खराइरहेको थिएँ, किनभने मैले तत्कालै सूत्रहरू तयार पार्नुपरेको थियो ।
मूलत: सूत्र भनेको एउटा माध्यम हो । हामी अरू नै केही प्रयोग गर्न सक्छौँ, तर धागोसँग काम गर्न सहज हुन्छ अनि सजिलै उपलब्ध हुन्छ । यसले हाम्रो उद्देश्य पूरा गर्दछ, साथै पर्याप्त समयसम्म टिक्दछ । मानौँ कि यदि कोही व्यक्ति ६ महिनाको साधनामा रहेको छ भने, हामी उसलाई निश्चित किसिमको सूत्र बाँधिदिन्छौँ । यदि मैले कसैलाई तीन वर्षको साधनामा राखेको छु भने, म उसलाई अर्कै किसिमको सूत्र बाँधिदिन्छु, किनकि त्यो तीन वर्षसम्म टिक्नुपर्छ । यदि धागो लामो समयसम्म टिक्न सक्दैन भने, हामी त्यसमा अरू केही सामाग्रीहरू थप्छौँ, ताकि त्यो लामो समय टिकोस् ।
सूत्र भनेको शरीर जस्तै हो, भौतिक जगमात्र— ऊर्जा बिलकुलै फरक कुरा हो । योगमा, हामी भौतिक पक्षलाई जग वा आधारको रूपमा मात्र प्रयोग गरिरहेका हुन्छौँ, जुन सृष्टिको प्रकृति नै हो । हाम्रो भौतिक शरीर पनि एउटा आधार मात्र हो । यो वास्तविक चिज होइन । पूरै अस्तित्व सोही रूपमा बनेको छ । तथापि, आधुनिक समाजहरूमा हामीले केही मापदण्डहरू तोकेका छौँ, जुन विशुद्ध भौतिक छन् । यही कारणले गर्दा हामी पूरै अस्तित्वलाई भौतिकतामा सीमित गर्न खोजिरहेका छौँ ।
शिवले कसरी वीरभद्र सृजना गरे
योगविद्यामा एउटा यस्तो घटना उल्लेख गरिएको छ, जहाँ शिवले एउटा जीव सृजना गर्नको लागि सूत्रको प्रयोग गरेका थिए । शिवकी पहिली पत्नी सतीका पिता दक्षले एउटा ठुलो यज्ञ आयोजना गरे, जसमा उनले सबै राजाहरू, सम्पूर्ण देवी–देवताहरू र सबै यक्षहरूलाई आमन्त्रण गरेका थिए । तर, उनले शिवलाई आमन्त्रण गरेनन् । विशाल यज्ञ गरिरहेका थिए । जब सतीले आफू र आफ्ना पतिलाई आमन्त्रण नगरिएको कुरा थाहा पाइन्, उनले निकै अपमानित महसुस गरिन् । सती अनुष्ठान भइरहेको स्थानमा पुगिन् । सतीले आफ्ना पितालाई यज्ञमा आफ्ना पति शिवलाई नबोलाउनुको कारण सोधिन्, तब दक्षले शिवको अपमान गर्दै तथानाम गाली–गलौज गरे । त्यो अनादार सहन नसकेर सतीले यज्ञको अग्नीमा हाम फालिन् । दक्ष र परिवारका अरू सदस्यहरूले अपमान गरेको कारण सतीले यज्ञ–अग्निमा आफूलाई होमेर जलाएको कुरा शिवले क्रोधले ज्वाला भए । शिवले आफ्नो जटाबाट एउटा लट्टा निकालेर ढुङ्गामा बजारे, अनि त्यसबाट अत्यन्तै शक्तिशाली र अलौकिक जीव सृजना गरे, जो थिए वीरभद्र ।
उनले विरभद्रलाई निर्देशन दिए, “गएर यज्ञ नष्ट गर्नू । यो यज्ञबाट कसैले पनि रत्ती भर पाउनुहुँदैन— यहाँ सम्म कि दक्षले पनि । जेसुकै वा जोसुकै होऊन्, जो यस यज्ञमा संलग्न छन्, सबैको संहार गरिदिनू । सतीले अग्नीमा आहुती दिएको टुलुटुलु हेरेर बसेका सबैजनालाई समाप्त गर्नू ।" वीरभद्र क्रोधले हुर्रिँदै गयो— यज्ञलाई ध्वस्त पाऱ्यो, आफ्नो बाटोमा आएका जो–कोहीलाई वा जेसुकैलाई नष्ट गऱ्यो, अनि विशेषगरी दक्षलाई सुलीमा चढायो ।
विभिन्न प्रकारका सूत्रहरू
शिवले आफ्नै जटाको प्रयोग गरेर वीरभद्र सृजना गरे । यदि सूत्र जैविक र काँचो छ अनि त्यसमा बेसार लेपिएको छ र त्यो भिजेको छ भने, केही सेकेन्डभित्रै तपाईं यसलाई आफ्नो शरीरको हिस्सा जस्तै बनाउन सक्नुहुन्छ । सूत्र त्यो हो, जसले केही कुराहरूलाई एकसाथ गाँस्दछ । पतञ्जलीका योग–सूत्रहरू केवल धागो हुन् । जो व्यक्ति यो धागोलाई प्रयोग गर्नमा निपुण हुन्छ, उसले त्यसमा माटोका दाना, मोती, हिरा भर्न सक्छ— यहाँसम्म कि उसको आफ्नै जीवन समेत । एउटा धागोमा उन्न सकिने कुराहरू धेरै छन् । सूत्रलाई शरीरको जुन भागमा बाँधिने हो, जस्तै कि तपाईंको कम्मरमा वा घाँटीमा वा हत्केलामा, त्यसैको आधारमा यसलाई फरक ढङ्गले विस्तृत रूपमा तयार गरिनुपर्छ, । पाखुरामा बाँधिने सूत्र सबैभन्दा सरल हुन्छ, किनकि यसको निश्चित र सीमित उद्देश्य हुन्छ । यदि विशेष उद्देश्यको निम्ति प्रयोग गरिनुपर्ने हो भने, अझ विस्तृत तयारीहरू गरिनुपर्छ ।
निर्जीव वस्तुहरूको बुद्धिमत्ता
हामी जे–जति कुराहरूलाई निर्जीव भन्छौँ, ती पनि विशेष तरिकाले काम गरिरहेका हुन्छन् । यदि तपाईंले त्यही बीउलाई फरक–फरक स्थानहरूमा रोप्नुभयो भने, त्यहाँको माटोको गुणस्तर, वातावरण तथा अन्य थुप्रै कारक तत्त्वहरूले गर्दा त्यो भिन्न रूपमा उम्रिन्छ वा फल्दछ । माटो निर्जीव हुन सक्ला, तर यसको आफ्नै विशेषताहरू छन् । यसले आफूले चाहेअनुसार नै कार्य गर्दछ ।
निर्जीव वस्तुहरूमा फरक किसिमको बुद्धिमत्ता वा प्रज्ञा हुन्छ । आधुनिक समाजलाई केवल बौद्धिकता र विचार–प्रक्रिया मात्र थाहा छ । तर, तपाईंले आफ्नो वैचारिक प्रक्रियाहरूको माध्यमले वास्तवमा केही पनि पत्ता लगाउन सक्नुहुन्न । तपाईंको शरीरभित्र जे–जति कुराहरू स्वत: भइरहेका छन्, त्यो सम्पूर्ण विचार–प्रक्रियाहरूभन्दा निकै परको कुरा हो— तर, हामीले त्यो बुद्धिमत्तालाई पहिचान गरेका छैनौँ । हामीहरू यो सोच्छौँ कि बुद्धिमत्ता भनेको केही निश्चित किसिमका विचारहरू मात्र हुन् । सूत्र एउटा बुद्धिमानी धागो हो, जसलाई हामी यसरी बनाउन सक्छौँ ताकि त्यसले केही निश्चित समयसम्म विशेष प्रयोजनको लागि काम गरोस् !
Editor’s Note: “Mystic’s Musings” includes more of Sadhguru’s insights. Read the free sample or purchase the ebook.
A version of this article was originally published in Isha Forest Flower May 2017.