सद्‌गुरु: यस संस्कृतिमा रहेको वर्ण व्यवस्थालाई यसरी बुझ्न सकिन्छ: वर्णाश्रम धर्ममा चार मुख्य जातिहरूको निर्माण गरिएको थियो । शुद्र, घरायसी कामको लागि; वैश्य, व्यापार–व्यवसायको लागि; क्षेत्रिय, समुदाय वा राष्ट्रको रक्षाको लागि; ब्राह्मण, समाजमा शिक्षा र आध्यात्मिक प्रक्रियाको हेरचाह गर्नको लागि ।

वर्ण व्यवस्थाका चार श्रेणीहरू

सामाजिक व्यवस्थामा यसरी चार श्रेणीहरूमा गरिएको वर्गीकरणलाई भिन्न-भिन्न सन्दर्भहरूमा बुझ्न सकिन्छ । एउटा तरिकाले हेर्ने हो भने, जो मानिसहरूले आफ्नो जीवनको पूरै जिम्मेवारी लिँदैनथे वा आफ्नो जीवनका परिस्थितिहरूको जिम्मेवारी लिँदैनथे, उनीहरूलाई शुद्र भनिन्थ्यो । उनीहरू केवल आफ्नो जीविकोपार्जनको जिम्मेवारी लिने गर्थे ।

वैश्य जातिले आफू, आफ्नो परिवार र आफ्नो समुदायको जिम्मेवारी लिन्थे । यसैकारण, उनीहरूलाई व्यापारको जिम्मेवारी दिइएको थियो । अहिलेको व्यवसायिक प्रणाली पूर्णतया भिन्न छ, तर ती दिनहरूमा खाद्यान्न तथा मानिसहरूलाई आवश्यक पर्ने अन्य चीजहरू भण्डारन गर्ने व्यक्तिलाई व्यापारी भनिन्थ्यो । कुनै चीजहरूको अभाव भएको बेला, उसले ती चीजहरू समुदायलाई प्रदान गर्थ्यो । तसर्थ, हरेक समाजमा वैश्य जाति हुन्थे, जसले सामानहरू भण्डारन गर्थे अनि आवश्यक परेको बेला अरूलाई दिन्थे । यी मानिसहरूले आफ्नो परिवार र केही हदसम्म आफ्नो सेरोफेरोको सानो समुदायको जिम्मेवारी लिन्थे ।

क्षेत्रियहरूले सम्पूर्ण समुदाय वा देशको जिम्मेवारी बहन गर्थे । उनीहरू आफ्नो देश र समुदायको रक्षाको लागि शस्त्र चलाउँथे अनि आफ्ना नागरिकहरूको रक्षाको निम्ति मर्न समेत तयार रहन्थे । उनीहरूलाई प्रशासनको जिम्मेवारी सुम्पिएको थियो, साथै सैन्य गतविधिको लागि हात–हतियारहरू पनि उनीहरूसँगै रहन्थ्यो ।

वास्तवमा 'ब्राह्मण' भनेको त्यस्तो व्यक्ति हो, जसमा आफू ब्राह्मण वा 'दिव्य' हुँ भन्ने कुराको आत्मज्ञान भएको हुन्छ । तसर्थ, जो व्यक्तिमा सर्वोच्च जिम्मेवारी, असीमित जिम्मेवारीको भाव हुन्छ, ऊ ब्राह्मण हो ।

ब्राह्मणहरूलाई शिक्षाको जिम्मेवारी दिइएको थियो । उनीहरूले आध्यात्मिक प्रक्रियाहरू एवं धर्मको जिम्मेवारी बहन गर्थे, किनकि वास्तवमा 'ब्राह्मण' भनेको त्यस्तो व्यक्ति हो, जसमा आफू ब्राह्मण वा 'दिव्य' हुँ भन्ने कुराको आत्मज्ञान भएको हुन्छ । तसर्थ, जो व्यक्तिमा सर्वोच्च जिम्मेवारी, असीमित जिम्मेवारीको भाव हुन्छ, ऊ ब्राह्मण हो । असीमित जिम्मेवारीको भावना भएको व्यक्तिले मात्रै शिक्षा र धर्मको क्षेत्र सम्हाल्नु पर्छ भनिन्थ्यो, किनकि त्यसबेला कुनै पनि समाजमा शिक्षा र धर्म सबैभन्दा महत्त्वपूर्ण पक्ष रहेका थिए ।

'भिन्नता' को अर्थ 'विभेदता' होइन !

सोहीअनुरूप यहाँ जाति व्यवस्था बनाइएको थियो । ती दिनहरूमा यो एउटा राम्रो व्यवस्था थियो । तर, केही समयपछि तपाईं आफ्नो कामबाट नभई जन्मको आधारमा ब्राह्मण बन्न थाल्नुभयो, अनि त्यसैबेलादेखि समस्या शुरु भयो । हरेक व्यवस्थामा यस्तै हुन्छ । हामी जे–जति व्यवस्थाहरू निर्माण गर्छौँ, तिनलाई निर्मल र स्वच्छ राख्नको लागि तथा राम्रोसँग सञ्चालन हुन दिनको लागि हामीले निरन्तर प्रयास गरिरहनु पर्छ— किनकि, कुनै पनि व्यवस्था शुरुवातमा जतिसुकै सुन्दर भए तापनि, केही समयपछि त्यही व्यवस्था शोषणको कारण बन्न सक्दछ ।

जुन व्यवस्था समाजमा कुशलता र सीपलाई अघि बढाउने असाध्यै सान्दर्भिक र सटीक तरिका थियो, मानिसहरूको मूर्खताको कारण त्यही व्यवस्था दुर्भाग्यवश विभेदपूर्ण, नकारात्मक र निरर्थक बनेको छ ।

समयसँगै, मानव समाजहरूले सबै अन्तर वा भिन्नतालाई विभेद वा पक्षपातको रूपमा बदल्ने कोसिस गरेका छन् । संसारमा भिन्नताहरू हुनु भनेको अवश्यम्भावी कुरा हो, अनि भिन्नता हुनु उचित हो; तर, दुर्भाग्यवश हामी हरेक भिन्नतालाई पक्षपात वा विभेदमा बदल्ने प्रयास गर्दछौँ— चाहे त्यो वर्ण होस् वा धर्म वा लैङ्गिकता । अत: जतिबेला हामीले आफ्नो विवेक गुमायौँ र सबैथोकलाई पक्षपातीपूर्ण बनायौँ, जाति व्यवस्था भद्दा र घृणित व्यवस्था बन्न पुग्यो । जुन व्यवस्था समाजमा कुशलता र सीपलाई अघि बढाउने असाध्यै सान्दर्भिक र सटीक तरिका थियो, मानिसहरूको मूर्खताको कारण त्यही व्यवस्था दुर्भाग्यवश विभेदपूर्ण, नकारात्मक र निरर्थक बनेको छ । जब कुनै ठूला शिक्षण संस्थाहरू थिएनन्, कुनै प्रशिक्षण केन्द्र थिएनन्, त्यसबेला तपाईंको परिवार नै तपाईंलाई प्रशिक्षण दिने एकमात्र माध्यम थियो, होइन त ? तसर्थ, लोहार समुदाय, सुनार समुदाय वा सार्की समुदाय कायम राख्नु एकदमै महत्त्वपूर्ण थियो, अन्यथा समाजमा कुनै कुशलता नै रहँदैनथ्यो ।

वर्ण व्यवस्था: प्रशिक्षणका विधिहरू

जाति व्यवस्थाको शुरुवात त्यसबेला भएको थियो, जब निश्चित पेशाको लागि कुनै औपचारिक प्रशिक्षणको व्यवस्था थिएन । मानिलिनु होस् कि यदि तपाईंका बुबा एक लोहार हुनुभएको भए, ६ वर्षको उमेरमै तपाईंले हतौडा र आरनसित खेल्न शुरु गर्नुहुने थियो । तपाईं ८ वर्षको हुँदा, तपाईंका बुबाले तपाईंलाई यत्तिकै हिर्काइरहेको देखेर कुनै काममा त्यसको प्रयोग होस् भन्ने कुरा मनन गर्नुहुन्थ्यो । तपाईं १२ वर्षको भएपछि तपाईं काम गर्न थाल्नुहुन्थ्यो । १८–२० वर्षको हुँदासम्म तपाईंमा सीप र दक्षता हुन्थ्यो, जसबाट तपाईं आफ्नो जीविकोपार्जन गर्न सक्नुहुन्थ्यो ।

यसैकारण, यदि तपाईंका बुबा लोहार हुनुभएको भए, तपाईं पनि लोहार बन्नुहुन्थ्यो । यदि तपाईंका बुबा सुनार हुनुभएको भए, तपाईं पनि सुनार बन्नुहुन्थ्यो । परिवारिक संरचनाभित्रै त्यस पेशाको लागि तालिमको आफ्नै व्यवस्था हुने गर्थ्यो, किनकि त्यसबेला परिवार नै एकमात्र प्रशिक्षण केन्द्र थियो । समाजमा सबैजसो शिल्प, पेशा र सीप सोही तरिकाले अघि बढ्न सकेका थिए । यदि तपाईं लोहार हुनुहुन्छ भने, तपाईं सुनारको काम नगर्नुहोस् भनिन्थ्यो । तपाईंले लोहारकै काम गर्नुको कारण के हो भने, समाजलाई लोहारको पनि आवश्यकता हुन्छ ।

तर समयसँगै, हामीले यिनै सुन्दर भिन्नताहरूलाई कुरुप विभेदको रूप दिएका छौँ । यदि हामीले यिनलाई भिन्नताको रूप्मा मात्रै हेरेको भए, हामीले विविधताले भरिएको असाध्यै सुन्दर समाज बनाउने थियौँ— तर बिडम्बना, हामीले त्यसलाई पक्षपाती बनाएको छौँ ।

जब मानिसहरूको आबादी बढ्यो र हजारौँ लोहारहरू भए, तब स्वाभाविक रूपमा उनीहरूले आफ्नै शैलीको खानपान, विवाह र कामहरू गर्ने तरिकाहरू विकसित गर्दै लगे, जसकारण उनीहरूको एउटा जाति बन्यो । यदि तपाईंले यसलाई एक स्तरमा हेर्नुभयो भने, यसमा वास्तवमै कुनै खराबी छैन । यो त समाजलाई सुविधाजनक बनाउने एक प्रकारको व्यवस्था मात्र थियो । लोहार र सुनारबिच, उनीहरूको औजार, काम गर्ने शैली, उनीहरूको रूपरङ्ग, के खाने र कसरी बनाउने जस्ता कुराहरू स्वाभाविक रूपले भिन्न हुने गर्थे, किनकि दुवैको कामको प्रकृति एकदमै फरक हुन्थ्यो ।

समयसँगै यो शोषणको माध्यम बन्न पुगेको छ । विद्यालय सञ्चालन गर्ने व्यक्तिभन्दा मन्दिर चलाउने व्यक्ति माथि हुन्छ, सुनचाँदीको पसल चलाउने व्यक्तिभन्दा विद्यालय चलाउने व्यक्ति माथि हुन्छ भनेर हामीले अनेक थरीका वाहियात् र बकम्फुसे धारणाहरू भित्र्याउँदै गयौँ । यी सबै भिन्नताहरू हुन्, किनकि जो कोहीले केही न केही गरिरहेका हुन्छन् । तर समयसँगै, हामीले यिनै सुन्दर भिन्नताहरूलाई कुरुप विभेदको रूप दिएका छौँ । यदि हामीले यिनलाई भिन्नताको रूपमा मात्रै हेरेको भए, हामीले विविधताले भरिएको असाध्यै सुन्दर समाज बनाउने थियौँ— तर बिडम्बना, हामीले त्यसलाई पक्षपाती बनाएको छौँ ।

वर्ण व्यवस्थाका कैयौँ प्रकारहरू

मानिसहरूले हरेक भिन्नतालाई विभेदपूर्ण बनाउनुको कारण के हो भने, प्रत्येक व्यक्ति अहिले आफू जे हो, त्योभन्दा केही अधिक हुन चाहिरहेको हुन्छ । यसको लागि उसले एउटा दुर्भाग्यपूर्ण तरिका अपनाएको छ— आफ्नो अगाडिको व्यक्तिलाई सानो वा निच देखाउने । उसको चाहना वास्तवमा केही अधिक महसुस गर्नु हो, तर उसलाई आफूलाई कसरी माथि उठाउने भनेर थाहै छैन । तसर्थ, उसले अरू कसैलाई निच देखाउनु नै उत्तम हो भन्ने ठानेको छ । यो सोच एकदमै अल्पविकसित दिमागको उपज हो, तर हामीले लामो समयसम्म सोहीअनुरूप काम गरेका छौँ अनि त्यो क्रम अझैपनि जारी राखेका छौँ । अब त्यसलाई बदल्ने समय भएको छ, तर पुरानो जाति व्यवस्थालाई समाप्त गरेर मात्रै त्यसलाई बदल्न सम्भव छैन— त्यसले हजारौँ भिन्न रूपहरूमा आफूलाई स्थापित गर्नेछ ।

यदि मानिसले अरूलाई आफूमा समावेश गर्नुको भाव अनुभव नगर्ने हो भने, निश्चय पनि अन्ततः उनीहरूले अरूलाई वहिष्कार गर्ने प्रक्रियाहरू शुरु गर्नेछन् । आध्यात्मिक प्रक्रियाको एउटा मूल पक्ष के हो भने, यसले व्यक्तिलाई सर्व–समावेशी (सबैलाई समावेश गर्ने) मानिस बनाउँछ ।

जस्तै कि, के तपाईंले न्यूयोर्क शहरमा कुनै जाति व्यवस्था छैन भन्ने सोच्नुभएको छ ? त्यहाँ शिक्षा र आर्थिक क्षमताहरूमा आधारित फरक प्रकारको जाति व्यवस्था रहेको छ; यी सबै कुराहरूले आफ्नै किसिमको पक्षपाती समूहहरू सृजना गरिरहेका हुन्छन् । यसैकारण, जबसम्म हामीले मानिसको मनमा पूर्ण रूपमा बदलाव ल्याउँदैनौँ, यसलाई परिवर्तन गर्न सकिँदैन ।

यदि प्रत्येक व्यक्तिमा सबैलाई आफूमा समावेश गर्ने भावना छैन भने, उनीहरूले बनाउने व्यवस्थाहरू वा उनीहरूले गर्ने कामहरूले सबैलाई आफूभित्र समेट्ने प्रश्न नै उठ्दैन । यदि मानिसले अरूलाई आफूमा समावेश गर्नुको भाव अनुभव नगर्ने हो भने, निश्चय पनि अन्ततः उनीहरूले अरूलाई वहिष्कार गर्ने प्रक्रियाहरू शुरु गर्नेछन् । आध्यात्मिक प्रक्रियाको एउटा मूल पक्ष के हो भने, यसले व्यक्तिलाई सर्व–समावेशी (सबैलाई समावेश गर्ने) मानिस बनाउँछ । साथै, यसले व्यक्तिलाई अझ बढी निपुण, अझ बढी योग्य, अझ बढी सन्तुलित र अन्ततः अधिक उपयोगी बनाउनको लागि तयार गर्दछ ।

 

Photo Credit: lumaxart @Flickr