विषयसूची
१. माटो जोगाउन किन जरूरी छ ?
२. माटोलाई पुन:जीवित गर्नाले कसरी पर्यावरणलाई सहयोग पुग्छ ?
३. माटोलाई पुन:जीवित गर्ने ५ विधिहरू
   ३.१ जैविक तत्त्वले माटोलाई स्वस्थ बनाउँछ
   ३.२ रूखमा आधारित कृषि वा कृषिवन
   ३.३ मासुको उपभोग कम गर्नुहोस्
   ३.४ फलाहर (फलफूलको आहार)— तपाईं र धरती दुबैको लागि स्वस्थकर
   ३.५ जागरूक धरती निर्माण गराैँ

माटो जोगाउन किन जरूरी छ ?

सद्‌गुरु: यस धरतीका ८७% जीवन-रूपहरू— सूक्ष्मजीव, कीरा-फट्याङ्ग्रा, चराचुरुङ्गी, जनावर, मानिस, बोटविरुवा, रूखहरू र अन्य सबै वनस्पतिहरू— औसत ३९ इन्च जति सतही माटोको कारणले जीवित रहेका छन् । र, त्यो माटो अहिले भयानक सङ्कटमा छ । पछिल्लो ४० वर्षमा धरतीको ४०% सतही माटो (topsoil) नष्ट भएको छ । संयुक्त राष्ट्रसङ्घले भनेअनुसार हामीसँग लगभग ८० देखि १०० बाली मात्र उब्जाउन सक्ने माटो रहेको छ, आर्थात् अबको ४५ देखि ६० वर्षको लागि मात्र कृषियोग्य माटो रहेको छ । त्यसपछि हामीसँग खाद्यान्न उत्पादन गर्न पर्याप्त माटो रहनेछैन । हामीले संसारमा कुन हदसम्मको पीडा सृजना गर्नेछौँ भनेर तपाई कल्पना गर्न सक्नुहुन्छ । भारतको ३०% भूमि उब्जाउको लागि अयोग्य भइसकेको छ अनि भारतका ९०% राज्यहरूले माटो मरुभूमि बनिरहेको स्थिति सामना गरिरहेका छन् । यसको अर्थ त्यहाँ केहीपनि खेतीपाती गर्न सकिँदैन । त्यसैले भावी पिँढीको लागि माटो जोगाउनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।

तपाईंले जुन माटो विनाश गर्नुभएको छ, त्यसलाई ठीक गर्न जोडदार तरिकाले लाग्नुभयो भनेपनि १५-२५ वर्ष लाग्नेछ ।

माटोलाई पुन:जीवित गर्नाले कसरी पर्यावरणलाई सहयोग पुग्छ ?

म जर्मनीमा संयुक्त राष्ट्रसङ्घको एउटा निकायसँग कुरा गरिरहेको थिएँ, र उनीहरूले मलाई सोधे,"पर्यावरणको विनाश रोक्न हामीले गर्नुपर्ने ३ वटा कार्यहरू केके हुन् ?" मैले भनेँ,"हामीले ध्यान दिनुपर्ने ३ वटा पक्षहरू हुन्: माटो, माटो र माटो ।"

माटो यस्तो पक्ष हो जसलाई अहिलेसम्म ध्यान दिएको छैन, किनकि शहरहरूमा वायु प्रदूषणको बारेमा मात्र चर्चा गर्ने फेशन चलेको छ । यो सरोकारको विषय होइन भन्न खोजेको होइन, तर यदि तपाईंले माटोलाई पुन:जीवित गर्न आवश्यक कार्यहरू गर्नुभयो भने त्यसबाट पानीको समेत हेरचाह हुन्छ । यदि हामी हाम्रा आर्थिक गतिविधिहरूलाई थोरै कटाैति गर्न इच्छुक हुने हो भने, वायु प्रदूषण छोटो समयमा ठीक हुनेछ । तर तपाईंले जुन माटो विनाश गर्नुभएको छ, त्यसलाई ठीक गर्न जोडदार तरिकाले लाग्नुभयो भनेपनि १५-२५ वर्ष लाग्नेछ । यदि तपाईंले खासै चासो नदिएर गर्नुभयो भने, माटोलाई निश्चित स्तरमा पुऱ्याउन ४०-५० वर्ष लाग्नेछ । त्यति लामो समयसम्म माटो खराब स्थितिमा रहनु भनेको २ देखि ३ पिँढीको जीवन निकै कष्टकर र पीडादायी हुनु हो ।

माटोलाई पुन:जीवित गर्ने ५ विधिहरू

soil-revitalization-methods-gif

#१ जैविक तत्त्वले माटोलाई स्वस्थ बनाउँछ

प्राचीन समयदेखि, हामीले बाली हुर्काउँदा अन्न मात्रै लैजान्थ्याैँ अनि बाँकी बोट-बिरुवा र गाई-वस्तुको मल सधैँ माटोमुनि जान्थ्यो । हामीले त्यो विवेक गुमाइरहेका छाैँ ।

यस भूभागमा एउटै खेतमा हजारौँ पुस्तादेखि खेतीपाती हुँदै आएको थियो । तर पछिल्लो समयमा माटोको गुणस्तर यति खराब भएको छ कि यो मरुभूमि बन्ने अवस्थामा पुगेको छ । यदि हामीले माटो जोगाउनु छ भने, माटोमा जैविक तत्त्वहरू हाल्नुपर्छ । तर हाम्रा रूखहरू सबै काटिएका छन् र लाखौँ जनावरहरू बाहिर निर्यात भइरहेका छन् । वास्तवमा भन्नुपर्दा, हामीले जनावरहरू बाहिर पठाएका होइनाैँ, हामीले यहाँको सतही माटो बाहिर पठाइरहेका छाैँ । यस्तो अवस्थामा तपाईं कसरी माटोलाई पुन: जीवित गर्नुहुन्छ ?

पातपतिङ्गर र जनावरको मल भएन भने, माटोमा केही हाल्न सकिँदैन । यो साधरण ज्ञान खेतीपाती गर्ने सबै परिवारलाई थाहा थियो । उनीहरूलाई निश्चित जमिनमा कति जनावर र रूखहरू हुनुपर्छ भन्ने ज्ञान थियो । भारतमा पुरानो नीति आयोगले पहिल्यै यो स्थापित गरिसकेको छ कि भारतको ३३% भाग छहारीमुनि हुनुपर्छ, किनकि माटो जोगाउने एकमात्र तरिका त्यही हो । र, म सरकारलाई यो नीति बनाउन जोड दिइरहेको छु कि यदि तपाईंसँग १ हेक्टर जमिन छ भने त्यहाँ अनिवार्य रूपमा कम्तीमा पाँचवटा गाईवस्तुहरू हुनैपर्छ । यदि तपाईंले उर्वर माटो भएको स्थानबाट १ क्युबिक मीटर (cubic meter) माटो लिनुभयो भने, त्यो १ क्युबिक मीटर माटोमा लगभग १०,००० प्रजातिका जीव-रूपहरू पाइन्छन् । यति विशाल मात्रामा जैविक घनत्व अन्य भूभागमा कतै पाइँदैन । त्यसैले यो माटोलाई थोरै सहारा चाहिएको छ । यदि तपाईंले थोरै सहारा दिनुभयो भनेपनि, यो छिट्टै पुन: जीवित हुनेछ । तर अहिलेको पिँढीमा त्यो सहारा दिने विवेक छ वा हामी केही नगरी यत्तिकै माटो मरिरहेको टुलुटुलु हेरिरहने छाैँ ? तपाईं मल र ट्रयाक्टरले माटोलाई उर्वर र समृद्ध राख्न सक्नुहुन्न । तपाईंलाई जमिनमा गाई-वस्तुहरू चाहिन्छ । प्राचीन समयदेखि, हामीले बाली हुर्काउँदा अन्न मात्रै लैजान्थ्याैँ अनि बाँकी बोट-बिरुवा र गाई-वस्तुको मल सधैँ माटोमुनि जान्थ्यो । हामीले त्यो विवेक गुमाइरहेका छाैँ ।

#२ रूखमा आधारित कृषि वा कृषिवन

आज हामीसँग रूखमा आधारित कृषि अपनाएका १,०७,००० भन्दा बढी किसानहरू छन्, जसले यो पर्यावरणीय र आर्थिक स्तरमा प्रभावकारी भएको प्रमाणित गरेका छन् ।

वन-जङ्गलको उत्पादन भन्ने विचारलाई हामीले बिर्सिनुपर्छ किनकि उत्पादनको स्रोतको रूपमा प्रयोग गर्न हामीसँग यस धरतीमा पर्याप्त वन-जङ्गल नै छैनन् । त्यो युग बितिसक्यो । तपाईं भविष्यमा वन-जङ्गलको उत्पादन भनेर कुरा गर्न सक्नुहुन्न । हामी नयाँ वर्षावन बनाउन सक्दैनौं किनकि यसको लागि हजारौँ वर्ष लाग्छ । तर हामी निश्चित रूपमा रूखको आवरण बढाउन सक्छौँ । विशाल स्तरमा रूखमा आधारित कृषिमा नजाँदासम्म त्यो सम्भव हुन सक्दैन । साथै ठूलो हिस्सामा जमिन किसानहरूसँग भएको हुनाले जबसम्म हामीले उनीहरूको लागि रूख रोप्ने काम फाइदाजनक बनाउँदैनौं, रूखहरू हुनेछैनन् । वर्षौंको कामपछि, संयुक्त राष्ट्र सङ्घले आज स्पष्ट रूपमा स्वीकार गरिरहेको छ कि रूखमा आधारित कृषि समाधानको ठूलो हिस्सा हो । हामीले २२ वर्षदेखि यही कुरामा जोड दिइरहेका छौं । आज हामीसँग रूखमा आधारित कृषि अपनाएका १,०७,००० भन्दा बढी किसानहरू छन्, जसले यो पर्यावरणीय र आर्थिक स्तरमा प्रभावकारी भएको प्रमाणित गरेका छन् ।

#३ मासुको उपभोग कम गर्नुहोस्

विश्वको लगभग ४ करोड वर्ग किलोमिटर जमिन, कूल जमिनमा कृषिको लागि प्रयोग हुने लगभग ७७% जमिन पशुपालन र तिनको आहार उब्जाउनको लागि प्रयोग भएको छ । माटोको सङ्कटपूर्ण स्थितिलाई सुधार्नको लागि हामीसँग भएका विभिन्न समाधानहरूको तुलनामा मासुको उपभोग कम गर्नु सबैभन्दा सरल उपायमध्ये एक हो । यदि तपाईंले मासुको उपभोगलाई ५०% ले घटाउनुभयो भने, २ करोड वर्ग किलोमिटर जमिन रूखमा आधारित कृषिको लागि उपलब्ध हुनेछ । यदि तपाईंले त्यति धेरै रुखहरू हुर्काउनुभयो भने, तपाईंले जङ्गलबाट पाइरहनु भएका सबैचीजहरू आफ्नो खेतीयोग्य जमिनमा उत्पादन गर्न सक्नुहुन्छ । किसानहरू धनी बन्नेछन्, माटो पनि उर्वर र समृद्ध बन्नेछ । यस सन्दर्भमा, तपाईंले मासुलाई त्याग्नुपर्दैन— केवल ५०% कम खानुहोस् । यसैपनि सबै डाक्टरले तपाईंलाई त्यही सल्लाह दिइरहेका छन् । यो पर्यावरणसँग सम्बन्धित भन्दापनि तपाईंको जीवनको लागि, तपाईंको स्वास्थ्यको लागि समाधान हो ।

#४ फलाहर (फलफूलको आहार)— तपाईं र धरती दुबैको लागि स्वस्थकर;

हाम्रो आहारको कम्तीमा ३०-४०% हिस्सा रूखबाट आउनुपर्छ, न कि ४ महिनामा फल्ने बालीबाट । यसको अर्थ हामी सबैले अलि बढी फलफूल खानुपर्छ ।

मानौँ कोही अस्पतालमा बिरामी छन् भने पक्कै पनि तपाईंले म:म: वा चाउमिन लिएर जानुहुन्न । तपाईं फलफूल लिएर जानुहुन्छ । सन्देश स्पष्ट छ, "कम्तीमा अब त समझदारीपूर्वक खाऊ !" तर खाने व्यक्तिले सन्देश बुझ्दैनन् ! यदि तपाईंले खाने खानामा ७५% भन्दा बढी पानीको मात्रा छ भने, तपाईंको स्वास्थ्य सजिलैसँग ठीक अवस्थामा रहनेछ । यदि तपाईंले काँचो तरकारी खानुभयो भने, पानीको मात्रा ७०% भन्दा बढी हुन्छ । यदि तपाईंले फलफूल खानुभयो भने, सामान्यतया ९०% भन्दा बढी पानीको मात्रा हुन्छ । तसर्थ त्यही उत्तम आहार हो । हाम्रो आहारको कम्तीमा ३०-४०% हिस्सा रूखबाट आउनुपर्छ, न कि ४ महिनामा फल्ने बालीबाट । यसको अर्थ हामी सबैले अलि बढी फलफूल खानुपर्छ । अहिले फलफूल धेरै महँगो छ किनकि हामीले न्यूजिल्याण्ड,अस्ट्रेलिया वा थाइल्याण्डबाट फलफूल आयात गरीरहेका छौँ । यदि तपाईं यहीँ फल्ने स्थानीय फलहरू उब्जाउनुभयो भने, ती धेरै महँगो हुँदैनन् ।

#५ जागरूक धरती निर्माण गराैँ

हामी ३ अर्ब मानिसहरूलाई पर्यावरणसम्बन्धी उनीहरूको देशमा हुनैपर्ने कम्तीमा ५ पक्षहरू र उनीहरूको देशमा गर्नै नहुने दुई वा तीन पक्षहरूको बारेमा जागरूक बनाउन चाहन्छौँ ।

यदि कुनै अन्य प्रजातिले यस धरतीलाई हामीले जति क्षति पुर्‍याएको भए, हामीले तिनलाई ठीक पार्ने तरिका फेला पारिसकेका हुनेथियाैँ । यदि करोडाैँ सलह कीराहरू यहाँ आएर हाम्रा सबै रूखहरू नष्ट गर्न थाले, हाम्रो माटोलाई मरुभूमि बनाउन थाले, र हाम्रा नदीहरूबाट पानी रित्याउन थाले भने, हामीले तिनलाई निश्चय नै नष्ट गरिसक्ने थियौं । तर समस्या अर्को ग्रहका सलहहरू होइनन् । समस्या त हामी स्वयं हाैँ । हामी समस्याको स्रोत भएका हुनाले हामी समाधानको स्रोत पनि बन्न सक्छौँ । हामी समस्या बन्नुको मुख्य कारण भनेको हामी अचेतन छाैँ, बाध्यत्मक रूपमा जथाभावी कार्यहरू गरिरहेका छौँ । यदि हामी सचेतन भएको भए, हामी स्वाभाविक रूपमा समाधानको हिस्सा हुनेथियाैँ । यही कारणले गर्दा म संयुक्त राष्ट्रका एजेन्सी र अन्य शक्तिहरूसँग मिलेर कार्यहरू गरिरहेको छु, अनि “जागरुक धरती” अभियानको अवधारणा प्रस्ताव गरिरहेको छु ।

विश्वभरिका विभिन्न राष्ट्रहरू गरी ५.२ अर्ब मानिसहरूमा मतदानको माध्यमले राष्ट्रको नेतृत्व चयन गर्ने क्षमता रहेको छ । हामी कम्तीमा ३ अर्ब मानिसहरूलाई यसमा संलग्न गराउने तरिकाहरू हेरिरहेका छाैँ, ताकि पर्यावरणीय समस्याहरू सरकार निर्वाचित हुने मुद्दाहरू बनून् । हामी ३ अर्ब मानिसहरूलाई पर्यावरणसम्बन्धी उनीहरूको देशमा हुनैपर्ने कम्तीमा ५ पक्षहरू र उनीहरूको देशमा गर्नै नहुने दुई वा तीन पक्षहरूको बारेमा जागरूक बनाउन चाहन्छौँ । यस्तो गर्न सक्याैँ भने चुनावको घोषणापत्रमा पर्यावरणीय विषय एक नम्बर नभएपनि, कम्तीमा दुई नम्बरको मुद्दा बन्नेछ ।

पर्यावरणको विषय चुनावी मुद्दा बन्यो भनेमात्र यो सरकारको नीति बन्नेछ, र तबमात्र ठूलो बजेट विनियोजन गरी समाधानतर्फ अग्रसरता देखिनेछ ।

जागरूक धरती अभियानअन्तर्गत, म यस धरतीलाई पुन: जीवन्त बनाउने सबैभन्दा महत्त्वपूर्ण पक्ष अर्थात् माटोतर्फ सबैको ध्यान केन्द्रित गर्ने प्रयास गर्दैछु । तपाईंले यस धरतीमा देख्नुभएका सम्पूर्ण जीवन-रूपहरू— कीरा-फट्याङ्ग्रा, चराचुरुङ्गी, जनावरहरू, वनस्पतिहरू र हामी मानिसहरू— त्यही ३९ इन्चको सतही माटोको कारणले यहाँ रहेका हाैँ । विभिन्न जीवन-रूपहरूलाई जीवित राख्ने यही सतही माटोमा भयानक क्षति भइरहेको छ । यदि हामीले माटोलाई जैविक रूपमा समृद्ध र स्वस्थ राख्न सक्याैँ भने, धरतीले आफूमा नव जीवन भर्न सक्षम हुनेछ, अनि हामी अन्य समस्याहरूलाई धेरै हदसम्म सुल्झाउन सक्षम हुनेछौँ ।

यतिखेर, विश्वभरिमा कूल जनसङ्ख्याको ९५% भन्दा बढीलाई उनीहरू वरपर बढ्दै गइरहेको पर्यावरणीय विनाशको बारेमा कुनै सचेतना नै छैन । पर्यावरयसम्बन्धी जागरूकता सानो खण्डका मानिसहरूमा मात्र सीमित छ, र तीमध्ये पनि अधिकांशमा पर्यावरण जोगाउनु भनेको धेरै हदसम्म नुहाउँदा कम पानी प्रयोग गर्ने वा दाँत माझ्दा धारा बन्द गर्ने भन्नेमै सीमित छ । मानिसहरू आफूले प्रयोग गरिरहेका कुराहरूप्रति जागरूक हुनु सराहनीय छ, तर यो वृहत् पर्यावरणीय समाधान होइन । पर्यावरणको विषय चुनावी मुद्दा बन्यो भनेमात्र यो सरकारको नीति बन्नेछ, र तबमात्र ठूलो बजेट विनियोजन गरी समाधानतर्फ अग्रसरता देखिनेछ ।

सम्पादकीय: थप जानकारीको लागि: जागरूक धरती