दिव्यदर्शीको नजरमा कोरोनाको रहस्य !
कोरोना भाइरसको सन्दर्भमा एउटा अन्तर्वार्तामा सद्गुरुले कोरोनाको महामारीप्रति आफ्नो दृष्टिकोण बताउँदै यस प्रकारका चुनौतीहरू सामना गर्नको निम्ति हामीले आफ्नो जीवन र समाजलाई कसरी पुन: निर्माण गर्न सकिन्छ भन्ने विषयमा प्रकाश पार्दै हुनुहुन्छ ।
१. गुरुजी आध्यात्मिक दृष्टिकोणबाट हेर्दाखेरी, के तपाईंलाई यस्तो लाग्छ कि यो महामारीले मानवजाति र मानव संरचनालाई आफू एक्लै रहने र एकआपसमा मिलेर रहने नयाँ तरिकाहरू खोज्न सिकाइरहेको छ ?
सद्गुरु: अहिले त जनावरहरूले एकअर्कालाई भनिरहेका छन्— "हामी सबै मिलेर यस धरतीलाई फेरि सानदार बनाऔँ !" शहरका सडकहरूमा मयूर नाचिरहेका छन् । धुवाँको कुहिरो हट्दै गएकोले राजधानीबाटै हिमालका चुचुराहरू देखिन थालेका छन् । निकै लामो समयदेखि, हामीले यस धरतीलाई दूषित गर्दै आएका थियौँ; पृथ्वीकै जीवन धरापमा पारेका थियौँ । वास्तवमा भन्नुपर्दा, यस धरतीका अरू सबै प्राणीहरू मानव रूपी भाइरसबाट असाध्यै त्रसित छन् !मानिसहरूले प्रत्येक वर्ष तीन हप्ताको छुट्टी लिनुपर्छ— दूषित गर्ने सबै प्रविधिहरू, सबै मेशिनहरू बन्द गर्नुपर्छ । यो छुट्टीलाई उनीहरूले आफूभित्र फर्किनको लागि प्रयोग गर्नुपर्छ । यदि सबैले यो समयलाई आफ्नो शरीर, मन, भावना, ऊर्जाहरू तथा आफ्नो योग्यतालाई अझ माथि उकास्न प्रयोग गर्ने हो भने, हामी अद्भुत संसारमा बाँच्ने छौँ ।
भाइरसले बिस्तारै–बिस्तारै हाम्रो मन–मुटुमा यो कुरा स्पष्ट पारिदिएको छ कि हामी नश्वर (मरणशील) हौँ । एकचोटि जब तपाईं आफू नश्वर छु भनेर महसुस गर्नुहुन्छ, तपाईंले स्वाभाविक रूपमा आफ्नो जीवनलाई व्यवस्थित गर्नुहुनेछ । म मानिसहरूको जीवनशैलीबारे टिप्पणी गर्न चाहदिनँ, तर त्यो कुराले कैयौँ पटक मलाई चकित बनाएको छ । एकपटक म अमेरिकाको एउटा शपिङ्ग मलमा गएको थिएँ । त्यहाँ नाकको रौँ छोटो गर्नको लागि मात्र बीस किसिमका उपकरणहरू राखिएका थिए ! तसर्थ, अब हामीले आफ्नो जीवनलाई उचित तरिकाले व्यवस्थित गर्ने अनि हामी अलिकति कम चिजहरूसँग रहन सक्छौँ कि सक्दैनौँ भनेर विचार–विमर्श गर्ने समय भइसकेको छ । यदि यसलाई कानुनको रूपमा लागू गरियो भने, त्यो भद्दा हुन्छ । तर, यदि हामीले सचेतपूर्वक आफैँ गऱ्यौँ भने, त्यो अद्भुत हुन्छ ।
२. यो भाइरसले हाम्रो मानसिकतादेखि हाम्रो वास्तविकतासम्म नयाँ ढङ्गले आफूलाई पुन: निर्माण गर्नेबारे हामीलाई जे बताइरहेको छ, त्यसलाई तपाईं कसरी व्यक्त गर्नुहुन्छ ?
अत: तपाईंलाई केही सिकाउने सन्दर्भमा भाइरसलाई कुनै चासो छैन । तर, अहिलेको परिस्थितिले मानिसहरूलाई यो कुराप्रति सचेत गराएको छ कि हामीहरू यहाँ छोटो समयका लागि आएका हौँ । तपाईं जुन शरीरलाई यति महत्त्व दिइरहनु भएको छ, त्यो त्यही माटो हो जसमाथि तपाईं हिँडिरहनु भएको छ । यदि हामीले आफ्नो जीवनको प्रत्येक क्षण यो कुरा महसुस गऱ्यौँ भने, हामी पक्कै पनि यस धरतीमा बढी सचेत एवं शिष्ट भएर रहनेछौँ ।
३. हाम्रो पूर्वीय समाजमा, सङ्कटको समयमा हामी जसरी भएपनि सँगै रहने गर्छौँ— युवा पिँढीका मानिसहरू आफ्नो परिवारको लागि किनमेल गर्न किराना पसल अगाडि लामबद्ध भएर उभिने गर्छन् । पश्चिमी समाजमा, एक्लै बस्ने प्रचलन भएकोले वृद्ध व्यक्तिहरूको रेखदेख गर्ने आधारभूत संरचनाहरू थोरै छन् । मेरा कूटनीतिक मित्र भन्छन् कि एक्लै बस्ने वृद्ध व्यक्तिहरू यस्तो महामारीका लागि आफूलाई तयार गर्न सकिरहेका छैनन् । के तपाईंलाई लाग्छ कि पश्चिमी समाजहरूले पनि अब जीवनका केही चरणहरूमा अनि केही परिस्थितिहरूमा एक्लै रहने प्रचलन उपयुक्त होइन भन्ने कुरा बुझ्नेछन् ?
सद्गुरु: सबै जवान केटा–केटीहरू तपाईंको लागि किराना पसल गएर सामानहरू ल्याइदिन तयार छन् भनेर कल्पना नगर्नुहोस् । केही व्यक्तिहरूमा आर्थिक बाध्यता भएकोले नै त्यसो गरिरहेका छन् । यदि हामीले दुई–तीन पुस्ताअघि हेऱ्यौँ, परिवारमा पति–पत्नी, बच्चाहरू, आमा बुबा, दाइ–भाउजू अनि तिनका छोराछोरीहरू, भाइ–बुहारी अनि तिनका छोराछोरीहरू, काका–काकी, हजुरबुबा–हजुरआमा अनि अरू थुप्रै मानिसहरू हुने गर्थे— एउटा परिवारमा ३/४ सयजना व्यक्तिहरू रहन्थे । यस्तो हुनुको महत्त्वपूर्ण पक्ष भनेको परिवारको आर्थिक एकता थियो— परिवारको प्रमुख व्यक्तिले सबै आर्थिक व्यवस्था नियन्त्रण गर्थे, जसकारण सबैजना सँगै बसोबास गर्दथे, अन्यथा उनीहरू असहाय र बेसहारा हुने थिए ।अचेल जो–कोही पनि बाहिर जान सक्छन्, वा घरबाटै काम गर्न सक्छन् अनि पैसा कमाउन सक्छन् । आर्थिक पक्ष सबल बन्दै गएकोले एक अर्काप्रति पूरै निर्भर रहन जरूरी छैन । यो केवल पश्चिममा होइन । जसैजसै मानिसहरूको आर्थिक पक्ष सबल बन्दै जान्छ, उनीहरू त्यति नै बढी एक्लै बस्न रुचाउने छन्, किनभने उनीहरू कसैलाई पनि सहन सक्दैनन् ! अहिलेको समयमा परिवार भनेको पति, पत्नी र बच्चाहरू मात्र भएको छ । यदि आमाबुबा असाध्यै बिरामी हुनुहुन्छ भने, उहाँहरू कहिलेकाहीँ तपाईंसँग रहन सक्नुहुनेछ । पश्चिममा यो अवस्था हेर्ने हो भने, सम्भवत: त्यहाँ परिवार भनेको केवल एक व्यक्ति (पुरुष वा स्त्री) र बच्चा हो । अनि, निश्चित उमेरभन्दा माथिका व्यक्तिहरूलाई आफ्नो हेरविचार आफैँ गर्नको लागि यत्तिकै छोडिइन्छ; वृद्ध आश्रममा रहेकाहरूले चिकित्सा सेवा त पाउलान्, तर त्यहाँ समावेश वा आफ्नोपनको वातावरण हुन्छ भन्न सकिँदैन ।
हामीले यो तथ्यलाई निष्पक्ष भई स्वीकार्न जरूरी छ कि मानव समाजहरू र परिवारहरू अझैपनि विभिन्न आवश्यकताहरूको आधारमा चलिरहेका छन् । यदि कुनै पनि आवश्यकताहरू नहुने हो भने, यो अलग–थलग हुनेछ । यसैकारण, हामीले सचेत समाज निर्माण गर्नु अत्यन्तै महत्त्वपूर्ण छ, जहाँ सबैजना आफ्नो रोजाइले रहनेछन् अनि एक–अर्काबिचमा समावेशीताको गहिरो भावना रहनेछ । केही परिवारहरूमा अझैपनि यो रहेको छ, तर दुर्भाग्यवश थुप्रै परिवारहरूमा यो हराउँदै गएको छ ।
४. यो महामारीको बारेमा व्यक्तिगत रूपमा तपाईंलाई ज्ञात भएको सबैभन्दा शक्तिशाली कुरा के हो ? तपाईंको जीवनीमा लेखिएको एउटा पुस्तकमा यो भनिएको छ कि महादेवसँग तपाईंको प्रत्यक्ष सम्पर्क हुन्छ । यो घटनाको बारेमा अनि हाम्रो इतिहासमा यसको असरबारे महादेवले तपाईंलाई के बताउनुभएको छ ?
सद्गुरु: त्यो किताब अरू कसैले लेखेको जीवन कथा हो, मेरो आत्मकथा होइन । त्यसैले, मलाई त्यहाँ लेखिएको कुराको आरोप नलगाउनुहोस् ! तपाईं जसलाई "शिव" भन्नुहुन्छ, उनको लागि, त्यो प्रकृतिको लागि यो भाइरस समस्या होइन । जतिबेलासम्म भाइरस सशक्त रूपमा क्रियाशील रहन्छ, उनले भन्नेछन्, "तिमीमाथि मेरो आशीर्वाद छ !" तपाईंले यो बुझ्नुपर्छ कि भाइरस वा जीवाणु पनि जीवन हो, अनि शिव जीवनको पक्षमा छन् । यतिखेर भाइरसले निकै कुशलतापूर्वक आफ्नो काम गरिरहेको छ । यसले आफूलाई दशवटा भिन्न–भिन्न रूपहरूमा प्रकट गरिसकेको छ । यदि तपाईंले कुनै खोप बनाउनुभयो भनेपनि, तीमध्ये एउटा मात्र मर्न सक्छ । जुन रूपले यो भाइरस यति स्मार्ट ढङ्गले काम गरिरहेको छ, जहाँसम्म मलाई लाग्छ उनले अवश्य पनि आशीर्वाद दिनेछन् ।शिव पशुपति हुन्, अर्थात् सबै प्रकारका जीवनहरूको मालिक । भाइरस एकदमै सानो र तपाईं यति ठूलो भएकै भरमा उनले तपाईं र भाइरसबिच भेदभाव गर्ने छैनन् । त्यो उचित हुँदैन । त्यसैले, राम्रो यही हुन्छ कि तपाईं आफ्नो दिमागलाई ठीक गर्नुहोस्, जिम्मेवार भूमिका निभाउनुहोस् अनि भाइरसलाई हराउनुहोस् । यस समयमा तपाईंले सामाजिक दूरी कायम राख्नुपर्छ— शिवले जस्तै ! यदि सबैजना १५ दिनसम्म एक्लै बस्ने अनि ध्यान गर्ने हो भने, भाइरस आफैँ जानेछ । सरकारद्वारा जबरजस्ती थोपरिएको लकडाउन होइन; बरु जिम्मेवारपूर्वक एकान्तमा रहनु अपरिहार्य छ ।
Editor’s Note: Read Health Tips from Sadhguru to Face These Challenging Times.