कालभैरव कर्म के हो ? 

सद्‌गुरु: "कालभैरव कर्म" केवल मृतकहरूको लागि रचिएको प्रक्रिया हो यो सुनिश्चित गर्नको लागि कि अर्को स्थान राम्रो रहोस् । जब कसैको मृत्यु हुन्छ तपाईं सोच्नुहुन्छ कि त्यो व्यक्ति अब रहेन । तर जहाँसम्म त्यो व्यक्तिसँग सम्बन्धित छ, उसले केवल आफ्नो शरीर गुमाएको हो साथै उसले जुन चीजहरूलाई जीवन ठानेको हुन्छ, ती सबै गुमाएको हुन्छ । जब उसले आफ्नो शरीर गुमाउँछ, उसले आफ्नो विवेकी मन पनि गुमाउँछ । विवेकी मन गुमाउनु भनेको के हो ? मानौँ तपाईंले चिनेको कसैको मृत्यु भयो भने अब तपाईं दु:खी र निराश बन्नुहुन्छ । सायद तपाईं केही समयको लागि शोकमा डुब्नुहुन्छ, तर केही समयपछि तपाईं आफ्नो विवेक प्रयोग गर्नुहुन्छ र सोच्नुहुन्छ," सधैँभरि यसरी शोकमा डुबेर पनि त हुँदैन नि । म आफ्नो कामकाजमा फर्किनुपर्छ ।" तर जसले आफ्नो विवेक प्रयोग गर्न सक्दैन, ऊ लामो समयसम्म त्यही अवस्थामा रहिरहन्छ, किनकि विवेकी मनले जसरी काम गर्नुपर्ने थियो, त्यसरी काम गर्दैन । उसका प्रवृत्तिहरू जे-जस्ता थिए, ती प्रवृत्तिहरू गुणान हुँदै जानेछन् । यदि उसको प्रवृत्ति सुखद थियो भने, सुखद प्रवृत्तिहरू चुलिँदै जानेछन्; यदि उसको प्रवृत्ति दु:खद थियो भने, त्यो अत्यन्तै दु:खद बनेर धस्किनेछ । 

हामी चाहन्छाैँ कि मानिसहरू आनन्दित भएर बाँचून् । यदि उनीहरूले आनन्दित रूपमा जीवन बाँचेनन् भने, कम्तीमा पनि उनीहरू शान्त रूपमा मर्नुपर्छ । यदि उनीहरूले त्यो पनि गरेनन् भने, हामी उनीहरूको मृत्युपछि उनीहरूका निम्ति केही गर्न चाहन्छौँ ।

जुनसुकै ठाउँ वा धर्म भएपनि सबै संस्कृतिहरू यसबारे जागरूक थिए जब कोही व्यक्ति मृत्युको नजिक हुन्छ तपाईंले सुखद वातावरण सृजना गर्नुपर्छ, ऊ चाहे जोसुकै किन नहोस् । तपाईंको शत्रु नै मरिरहेको भएपनि त्यो क्षणमा तपाईं कुनैपनि दु:खद भावना सृजना नगर्नुहोस् । कि त अन्तिम क्षणमा वा त्यसलगत्तै, हामीले तबपनि त्यो जीवनलाई यसरी स्पर्श गर्न सक्छौँ कि त्यो जीवनमा सुखद अनुभव घुस्नेछ । उसमा केवल एक थोपा सुखद अनुभव हालियो भनेपनि, केही समयपछि त्यो सुखको सागर बन्छ किनकि उसमा भिन्नता छुट्याउने विवेक हुँदैन । 

कालभैरव शान्ति प्रक्रिया के हो ?

यदि ५० वर्ष माथिका व्यक्तिको स्वाभाविक र सहज मृत्यु भएको हो भने, हामी त्यो जीवनमा १४ दिनसम्म एक थोपा सुखद अनुभव हाल्न सक्छाैँ; ५० वर्ष मुनिका व्यक्तिको लागि ४८ दिनसम्म त्यसो गर्न सकिन्छ । यदि कोही जीवन्त थियो तर दुर्घटना वा आत्महत्याको कारण शरीर नष्ट गरी मृत्यु भएको हो भने ३३ वर्ष माथिका व्यक्तिको लागि ४८ दिनसम्म र ३३ वर्ष मुनिका व्यक्तिको लागि ९० दिनसम्म सो प्रक्रिया गर्न सकिन्छ । त्यसैगरी हामीले "कालभैरव शान्ति" प्रक्रिया समेत गरिरहेका छाैँ, जुन मृत्युपछिको कुनैपनि अवधिमा गर्न सकिन्छ । यदि कालभैरव कर्मको समय-अवधि नाघिसकेको छ भने, तपाईंले कालभैरव शान्ति प्रक्रिया गर्न सक्नुहुन्छ ।

यो योगिक संस्कृतिमा सधैँ अभ्यास गरिएको पक्ष हो कि यदि कसैको मृत्यु भयो र उसले जागरूकतामा मृत्यु वहन गर्न जानेको छैन भने, उसको लागि अरू कसैले केही गरिदिन्छन् । तर दुर्भाग्यवश, सम्भवतः पछिल्लो १००-१५०  वर्षमा यी परम्पराहरू धेरै हदसम्म निष्क्रिय भएका छन् । जेजति बाँकी छ, त्यो पनि प्राय: भ्रष्ट र व्यापारिक बनेको छ । जब तपाईं आफ्नो प्रियजन गुमाउनुहुन्छ, उनीहरू तपाईंलाई मृतकको लागि भनेर जुत्ता-चप्पल, छाता माग्छन् । जसले आफ्नो शरीर गुमाएको छ, उसले जुत्ता लगाउने वाला छैन । यदि त्यो पूजा गराउने व्यक्तिलाई जुत्ता चाहिएको हो भने, उसले प्रष्ट भन्नुपर्छ, "मलाई जुत्ता चाहिएको छ ।" कम्तीमा उसले सही साइजको त पाउनेछ । यदि उसले मृतकको साइजको जुत्ता पायो भने, उसले त्यसलाई कतै लगेर बेच्नुपर्ने हुन्छ ! 

हामीले लिङ्ग भैरवीको देवीको निवासलाई ऊर्जाको आधारको रूपमा प्रयोग गर्नेछौँ अनि मृतकका निम्ति निश्चित प्रक्रियाहरू सञ्चालन गर्नेछौँ । यदि तपाईंले चिनेको व्यक्तिको मृत्यु भयो, वा यदि तपाईंले चिनेको व्यक्तिको आफन्तको मृत्यु भएको छ भने, निश्चित समयभित्र निश्चित प्रक्रिया गर्न सकिन्छ ।

हामी चाहन्छाैँ कि मानिसहरू आनन्दित भएर बाँचून् । यदि उनीहरूले आनन्दित रूपमा जीवन बाँचेनन् भने, कम्तीमा पनि उनीहरू शान्त रूपमा मर्नुपर्छ । यदि उनीहरूले त्यो पनि गरेनन् भने, हामी उनीहरूको मृत्युपछि उनीहरूका निम्ति केही गर्न चाहन्छौँ । त्यसैले, तपाईं मर्नु नै भयो भनेपनि म तपाईंलाई आध्यात्मिक बनाउने मेरो प्रयास छोड्ने छुइनँ ।

कालभैरव कर्म शरीरसँग सम्बन्धित 

प्रश्न: सद्‌गुरु, यदि कसैले मेडिकल कलेजमा आफ्नो शरीर दान गर्न चाहन्छ भने कालभैरव कर्म गर्नुको कुनै अर्थ हुन्छ ?

सद्‌गुरु: भौतिक शरीरको लागि कालभैरव कर्म गर्न जरूरी छैन । शरीर जलाइनुपर्छ ताकि यो धरतीमा पुन: फर्कियोस् । यदि शरीरको १-२ भाग केही समयको लागि उपयोगी हुन सक्छ भने, त्यसलाई अर्को शरीरमा राख्न सकिन्छ जसले राम्रोसँग काम गरिरहेको छैन । कालभैरव कर्म त्यो आयामसँग सम्बन्धित हुन्छ, जुन शरीरबाट बाहिरिएको छ । हामी शरीरसँग सम्पर्कमा भएका केही चीज चाहन्छौं, किनकि शरीरले स्मृति बोकेको हुन्छ । त्यसैले हामी कपडाको टुक्रा र फोटो प्रयोग गर्छौं ताकि दुई आयामहरूलाई जोड्ने कुनै पहिचान रहोस् । 

कालभैरव कर्म स्मृतिको त्यो फोकाको लागि हो, जुन अझै वरपर घुमिरहेको हुन्छ र अर्को शरीर खोजिरहेको हुन्छ ।

कसैको मृत्युपछि तपाईंले शरीरको लागि केही गर्नुपर्दैन । यसले कुनै अर्थ राख्दैन । यदि शरीरको लागि केही गर्नुपर्ने भएको भए त्यो व्यक्ति जीवित छँदै हामीले उसको लागि केही प्रक्रियाहरू गर्ने थियौँ । कालभैरव कर्म स्मृतिको त्यो फोकाको लागि हो जुन अझै वरपर घुमिरहेको हुन्छ र अर्को शरीर खोजिरहेको हुन्छ । यो प्रक्रिया त्यो जीवनमा केही चेतना ल्याउनको लागि हो, किनकि जब उनीहरू शरीरमा हुन्छन् उनीहरू पटक्कै सुन्दैनन् । तर अब उनीहरूसँग विवेक हुँदैन; जसले आफ्नो बुद्धि गुमाएको हुन्छ, त्यस व्यक्तिसँग हामीले थुप्रै चीजहरू गर्न सक्छौँ । जब विवेकी मन रहँदैन, यसको अर्थ अब छान्ने जाली हुँदैन । त्यो खुला हुन्छ तपाईंले चाहेको जेसुकै हाल्न सक्नुहुन्छ । छान्ने जालीले तपाईंलाई मन नपर्ने सबैथोक छानिदिन्छ । र तपाईंलाई मन नपर्ने कुराहरू त ब्रह्माण्ड जत्तिकै विशाल छन् ! निश्चय नै शिव समेत छानिएर बाहिर रहनेछन् !              

एक तरिकाले ध्यानको सम्पूर्ण प्रक्रिया मृत्युको अनुकरण हो । मृत्यु अर्थात् अब शरीर कुनै समस्या रहँदैन, साथै भेद छुट्ट्याउने बुद्धि पनि रहँदैन । तपाईंले जेजति भेद छुट्ट्याउनुहुन्छ, त्यो विगतको अनुभव र प्रभावको उपज हो । एक व्यक्तिको तुलनामा अर्कोले राम्ररी भेद छुट्ट्याउन सक्दछ, तर मूल रूपमा तपाईं त्यस्तो पक्षलाई विभाजन गर्न खोजिरहनु भएको हुन्छ जसलाई विभाजन गर्नै सकिँदैन ।  

म आशा गर्छु कि तपाईंले मृतक र मृत शरीरबिचको भिन्नता बुझ्नुभएको छ । मेडिकल कलेजहरूलाई मृत शरीर वा शवसँग मात्रै चासो हुन्छ; उनीहरूलाई मृतक वा मरेकाहरूसँग कुनै सरोकार हुँदैन । उनीहरूले मरेकाहरूको लागि केही गर्न सक्दैनन् । कालभैरव कर्म मृतकको लागि हो, मृत शरीरको लागि होइन । 

सम्पादकीय:

कालभैरव कर्म वा कालभैरव शान्ति प्रक्रियाको लागि दर्ता गर्नुहोस्:
kbprocess@lingabhairavi.org
info@lingabhairavi.org.