१. दुर्योधनको पत्नी कसरी कृष्णको भक्त बनिन् ?

सद्‌गुरु: भानुमती दुर्योधनको पत्नी थिइन् । उनी असाध्यै सुन्दर युवती थिइन । दुर्योधनको दरबारमा कृष्ण पाहुनाको रूपमा आउँदा उनी केवल १७ वर्षकी थिइन् ।       

उत्साह र उल्लासको यस माहोलमा भानुमतीले पनि आफ्नो क्षमताभन्दा बढी पिइन् । उनी कलिली थिइन् र यी चिजहरूप्रति अभ्यस्त थिइनन्, त्यसैले उनी एकदमै मात्तिइन् । केही समयपछि सबैजना बढी मात्तिए र चीजहरू नियन्त्रणबाहिर गयो ।

दुर्योधनले कृष्णलाई नशामा लठ्याउने र उनीबाट एक खालको प्रतिबद्धता लिने भनेर षड्यन्त्र रचे । उनले सबै प्रकारका प्रबन्धहरू गरे र समारोहमा यथेष्ट मात्रामा मदिराको व्यवस्था गरे । दुर्योधनका साथीहरू आए र सबैले अत्यधिक पिए । उनीहरू सबैले आफ्नो होश गुमाए । तर कृष्ण चाहिँ शान्त र शालीन रहिरहे, अनि सबैलाई मोहित पारे ।

उत्साह र उल्लासको यस माहोलमा भानुमतीले पनि आफ्नो क्षमताभन्दा बढी पिइन् । उनी कलिली थिइन् र यी चिजहरूप्रति अभ्यस्त थिइनन्, त्यसैले उनी एकदमै मात्तिइन् । केही समयपछि सबैजना बढी मात्तिए र चीजहरू नियन्त्रणबाहिर गयो ।   

भानुमतीले आफैँलाई सम्हाल्न सकिनन् । उनी कृष्णको काखमा लडिन् र कृष्णप्रति आफ्नो इच्छा व्यक्त गर्न थालिन् । कृष्णले उनीलाई बच्चालाई झैँ समाते । उनले त्यो स्थिति कुन दिशामा गइरहेको छ भनेर देखे । कृष्णले यो जानेका थिए कि भानुमतीले त्यस अवस्थामा केही गरिन् भने, पछि त्यसलाई सम्हाल्न सक्ने थिइनन् । हस्तिनापुरको रानीको रूपमा उनी समाप्त हुनेथिइन् ।       

कृष्णले भानुमतीलाई बोकेर दरबारभित्र लगे, भानुमतीकी सासुआमा, गान्धारीको कक्षमा गए र भानुमतीलाई उनको जिम्मा लगाए । भोलिपल्ट बिहान, कृष्णले त्यसो गरेका भनेर थाहा पाएपछि भानुमती कृष्णप्रति अत्यन्तै कृतज्ञ भइन् । त्यसपछि, उनी कृष्णको भक्त बनिन् ।

२. कृष्णकी स्वाभिमानी पत्नी

सद्‌गुरु: कृष्णकी दोस्रो पत्नी सत्यभामा निकै स्वाभिमानी महिला थिइन् । उनी आफूलाई सबैभन्दा सुन्दर र धनी महिला ठान्दथिन्, किनकि उनका पिता असाध्यै धनी व्यक्ति थिए, जसकारण उनीसँग चाहे जति सबै धन-सम्पत्ति र गहनाहरू थियो । घमण्डी हुनु चाहिँ उनका कमजोरीहरूमध्ये एक थियो ।      

एकपटक कृष्णको जन्मदिनमा, उनले सबैसामु आफूले कृष्णलाई कति माया गर्छु भनेर देखाउने निर्णय गरिन् । उनी कृष्णको तौल बराबरको सुन शहरका मानिसहरूलाई बाँड्न चाहन्थिन् । त्यसलाई तुलादान भनिन्थ्यो । यस्तो चलन मन्दिरहरूमा गर्ने गरिन्छ । मानिसहरू तराजुको एकापट्टि बसेर अर्कोपट्टी आफ्नो ताैल बराबरको मक्खन, घिउ वा चामल राख्छन्, अनि त्यो मानिसहरूमाझ बाँडिदिन्छन् । तपाईं चामल, नुन, दाल, सुन वा आफूले सकेको जेसुकै दिन सक्नुहुन्छ । यस संस्कृतिमा यही चलन थियो ।  

कृष्णको बाल्यकालमा पनि यस्तै घटना भएको थियो । कुनै राक्षसले कृष्णलाई बोकेर लैजान खोजेको थियो । तर कृष्ण अत्यन्तै भारी बनिदिए र त्यो भार थेग्न नसकेर राक्षस पल्टियो, अनि कृष्णको भारले दबेर राक्षसको अन्त्य भयो ।

सत्यभामाले तुलादानको तयारी गरिन् । मानिसहरू यसबाट हर्षित र दङ्ग परे, तर कृष्ण यस्ता उरन्ठ्याउला चीजहरूबाट मख्ख पर्ने खालका होइनन् । उनी तराजुमा गएर बसे । सत्यभामालाई कृष्णको तौल लगभग कति जति छ भन्ने थाहा थियो, त्यसैले सोहीअनुरूप सुन तयार गरेकी थिइन् ।  तर जब उनले तराजुमा सुन राखिन्, तराजुको काँटा अलिकति पनि हल्लिएन ।              

कृष्णको बाल्यकालमा पनि यस्तै घटना भएको थियो । कुनै राक्षसले कृष्णलाई बोकेर लैजान खोजेको थियो । तर कृष्ण अत्यन्तै भारी बनिदिए र त्यो भार थेग्न नसकेर राक्षस पल्टियो, अनि कृष्णको भारले दबेर राक्षसको अन्त्य भयो । क्रिया योगमा यस्तो तरिका छ, जहाँ योगीले आफ्नो तौल बढाउन वा घटाउन सक्छन् । यस्ता थुप्रै कथाहरू छन् जहाँ योगीहरू पहाड जत्तिकै गह्राैँ भएको उल्लेख गरिएको छ । 

कृष्णले आफ्नो तौल बढाएर तराजुमा बसे । सत्यभामाले कृष्णको तौलसँग बराबर हुने ठानेर राखेको सबै सुन तराजुको एकापट्टी राखिन्, तर केही हात लागेन । यतिबेलासम्म शहरका सबैजना त्यो समारोह हेर्न जम्मा भएका थिए । त्यसपछि, उनले आफ्ना भारदारहरूलाई आफ्ना सबै गर-गहनाहरू ल्याउन आदेश दिइन् । सायद यसबाट केही हुन्छ कि भन्ने आशामा उनले एकएक गर्दै तराजुमा आफ्ना गहनाहरू राखिन् । उनले आफूसँग भएको सबैथोक तराजुमा राखिन्, तर त्यो ज्युँका त्युँ रहिरह्यो । 

उनी रुन थालिन्, किनकि त्यो उनको लागि निकै लज्जास्पद थियो । यो रीति हेर्नको लागि पूरै शहर त्यहाँ जम्मा भएको थियो, तर उनीसँग प्रयाप्त सुन नै पुगेन । जसले आफ्नो भाग्य र सम्पत्तिको सधैँ धाक लगाउने गर्थिन्, आज उनीसँग पर्याप्त सुन नै थिएन वा भनाैँ उनले के गर्ने भनेर बुझ्नै सकिनन् ।

त्यसपछि उनले रुक्मिणीलाई हेरिन्, जोसँग उनी सधैं ईर्ष्या गर्थिन् र उनको खटपट भइरहन्थ्यो । उनले रुक्मिणीलाई सोधिन्, “म के गरूँ ? किनकि यो लाज मेरो लागि मात्र होइन । तिमी, म र सबैका लागि हो । अब के गर्ने?" रुक्मिणी बाहिर गइन र त्यहाँ रहेको तुलसीको बोटबाट तीनवटा पात लिएर तराजुमा राखिदिइन् । कृष्णको काँटा जुरुक्क माथि उठ्यो !

 

३. कृष्णको अधुरो भक्त

भोजनको बिचमै, कृष्ण जुरुक्क उठे र हात पनि नधोइकन ढोकातर्फ दाैडिए । सत्यभामा अक्क न बक्क परिन् ।

एकदिन कृष्ण भोजन गर्दै थिए । सत्यभामा निकै गर्व र हर्षको साथ कृष्णलाई खाना पस्किरहेकी थिइन्, किनकि कृष्ण सधैँ घरमै खाना खान आइरहने खालका होइनन् । सत्यभामाले उनलाई खाना खुवाउने अवसर विरलै पाउँथिन् । त्यसैले उनले अत्यन्तै हर्ष र आनन्द भावमा सेवा गरिरहेकी थिइन् ।         

तर भोजनको बिचमै, कृष्ण जुरुक्क उठे र हात पनि नधोइकन ढोकातर्फ दाैडिए । सत्यभामा अक्क न बक्क परिन् । उनले भनिन्, " के भयो ? कृपया भोजन त सकेर जानुहोस् ।" कृष्णले भने, "होइन, म जानैपर्छ" अनि उनी मूल ढोकामा पुगे ।             

तर यत्तिकैमा उनी फनक्क फर्किए अनि आएर आफ्नो भोजन पुन: शुरु गरे । सत्यभामाले सोधिन्, "तपाईं किन अचानक दाैडिँदै जानुभयो र फेरि फर्किएर आउनुभयो ? त्यस्तो के भयो र ? कृष्णले भने, "मेरो भक्त जङ्गलमा बसिरहेको थियो, र उसको हरेको श्वास ‘कृष्ण, कृष्ण, कृष्ण’ बनेको थियो । मैले भोको बाघ उसको नजिक आइरहेको देखेँ, त्यसैले म दाैडिँदै गए । जब म ढोकासम्म पुगेँ, उता मूर्खले ढुङ्गा उठाइहाल्यो, त्यसैले म फर्किएँ । अब उसले आफैँ सम्हालोस् ।”

४. कृष्णको टाउको दुःखाइको उपचार

सद्‌गुरु: एकपटक कृष्णको जन्मदिनमा, नृत्य, सङ्गीतको उत्सवको लागि ठूलो तयारी भइरहेको थियो । ठूलो सङ्ख्यामा मानिसहरू जम्मा भएका थिए । तर कृष्ण सहभागी हुन चाहेनन् र घरमै बसे । जस्तोसुकै उत्सवको लागि कृष्ण सधैँ सहभागी हुने गर्छन्, तर त्यो दिन उनी अनिच्छुक थिए ।

कृष्णले भने, "जसले मलाई वास्तवमै प्रेम गर्छाै, तिमीले आफ्नो पैतालामुनिको थोरै माटो निकालेर मेरो शिरमा पुछिदेऊ । अनि ठीक हुनेछ ।"

रुक्मिणी आइन् र सोधिन्, “तपाईंलाई के भयो प्रभु ? कुरा के हो ? तपाईं उत्सवमा सहभागी नहुने ?” कृष्णले भने, “मेरो टाउको दुखेको छ ।” वास्तवमै त्यस्तो भएको थियो वा थिएन भन्नेबारे हामीलाई थाहा छैन ! सायद दुखेको थियो होला, तर उनी टाउको दुखेको स्वाङ पार्नमा पनि माहिर छन् ।

रुक्मिणीले भनिन्, “वैद्यहरूलाई बोलाउनु पऱ्यो ।” वैद्यहरू आए । उनीहरूले यो औषधि, त्यो औषधि सबैथोक दिन खोजे । कृष्णले भने, "होइन, यी सबैकुराले मलाई छुँदैन ।" त्यसपछि मानिसहरूले सोधे, "हामीले के गर्नुपर्छ प्रभु ?" त्यसबेलासम्म थुप्रै मानिसहरू जम्मा भइसकेका थिए । सत्यभामा आइन्, नारद आए । “के भयो, के भयो ?” सबैजना चिन्तित थिए । "कृष्णको टाउको दुखेको छ । लाै न के गर्ने होला ?"

कृष्णले भने, "जसले मलाई वास्तवमै प्रेम गर्छाै, तिमीले आफ्नो पैतालामुनिको थोरै माटो निकालेर मेरो शिरमा पुछिदेऊ । अनि ठीक हुनेछ ।" सत्यभामाले भनिन्, "कस्तो कुरा गर्नुभा’को ? म तपाईंलाई प्रेम गर्छु, तर म कुनैपनि हालतमा आफ्नो पैतालामुनिको माटो लिएर तपाईंको शिरमा राख्न सक्दिनँ । हामी त्यस्तो काम गर्न सक्दैनाैँ ।” रुक्मिणी भक्कानिन्, “हामी त्यस्तो कसरी गर्न सक्छाैँ ? त्यो पाप हो । हामी त्यो गर्न सक्दैनाैँ ।” नारद पनि पछि हटे, “म त्यस्तो कार्य गर्न चाहँदिनँ । तपाईं स्वयं परमात्मा हुनुहुन्छ । मलाई थाहा छैन यसको पछाडि के मनशाय छ । कस्तो फन्दा हो भन्ने पनि थाहा छैन । मैले पैतालामुनिको माटो लिएर तपाईंको शिरमा राखिदिऊँला रे, अनि सधैँको लागि नर्कमा जल्नुपऱ्यो भने नि । म त त्यस्तो पाप गर्न चाहँदिनँ ।”

यो कुरा सबैतिर फैलियो । सबैजना आत्तिएका थिए । “हामी त्यस्तो काम कहिल्यै गर्नेछैनाैँ । हामी उहाँलाई प्रेम गर्छौं, तर त्यस्तो काम गरेर हामी नर्कमा जान चाहँदैनौं ।” पूरै उत्सव कृष्णको आगमनमा प्रतीक्षा गरिरहेको थियो, तर यता कृष्ण चाहिँ टाउको दुखाइले यत्तिकै बसिरहेका थिए ।

त्यसपछि यो खबर वृन्दावनमा पुग्यो र कृष्णको टाउको दुखेको बारे गोपीहरूलाई थाहा भयो । राधाले तुरुन्तै आफ्नो पल्लु झिकिन् र भुइँमा राखिन्, जहाँ सबै गोपीहरू मस्त नाचे । अनि उनले त्यो नारदलाई दिएर भनिन्, "यो लिनुहोस् र कृष्णको टाउकोमा बाँध्नुहोस् ।" नारदले त्यो पल्लु लिएर आए अनि कृष्णको टाउकोमा बाँधिदिए । कृष्ण निको भए !

कृष्णले आफ्नो लागि कुन कुराको बढी महत्त्व छ भनेर सधैँ प्रष्ट पारे । उनी राजाहरूसँग घुम्दथे, उनलाई महलहरू दिइएको थियो, तर उनले त्यो स्वीकारेनन् । किनकि यो उनको लागि यही (साँचो, निस्वार्थ, सरल प्रेम) नै बढी महत्त्वपूर्ण थियो ।