मकर सङ्क्रान्तिको महत्त्व
माघे सङ्क्रान्ति भन्ने बित्तिकै तरुल, तीलको लड्डु, चाकुको पर्व भनेर बुझिन्छ । तर, के यो पर्व त्यतिमै सीमित छ वा यसको विशेष महत्त्व छ ? सद्गुरु यो बताउँदै हुनुहुन्छ कि मकर सङ्क्रान्ति ब्रह्माण्ड र मनुष्यको ज्यामितिको गहन बुझाइमा आधारित रहेको पर्व हो ।
गतिशीलता, निश्चित विन्दु वा सीमासम्म मात्रै सुखद हुन्छ । पृथ्वी यति सुन्दर रूपमा सूक्ष्म तरिकाले घुमिरहेको छ कि यसले ऋतुहरू मात्रै बदल्छ । तर भोलि, यदि यसले आफ्नो गति बढायो र अलि छिटो घुम्न थाल्यो भने, सन्तुलित जस्तो देखिएको हामी सबैको दिमाग पूरै असन्तुलित हुनेछ— सबैथोक नियन्त्रणभन्दा बाहिर जानेछ । त्यसैले गति एक निश्चित सीमासम्म मात्रै सुन्दर हुन्छ । जब यसले त्यो सीमा नाघ्छ, तब गतिशीलता यातना बन्दछ ।
मकर सङ्क्रान्तिको महत्त्व
मकर सङ्क्रान्ति यसकारण महत्त्वपूर्ण छ, किनकि यसदिन राशिमण्डलमा एउटा महत्त्वपूर्ण चाल हुन्छ । यही चाल वा गतिले बदलाव ल्याउँछ, जसकारण हामी यो धरतीलाई फरक रूपमा अनुभव गर्न थाल्छौँ । बर्षभरी थुप्रै सङ्क्रान्तिहरू हुन्छन्, तर दुईवटा सङ्क्रान्तिको विशेष महत्त्व हुन्छ । पहिलो मकर सङ्क्रान्ति र अर्को कर्कट सङ्क्रान्ति । यी दुईको बीचमा थुप्रै सङ्क्रान्तिहरू हुन्छन् । हरेक पटक जब राशीचक्र बदलिन्छ, तब यसलाई सङ्क्रान्ति भनिन्छ । सङ्क्रान्तिले पृथ्वीको गतिशीलता दर्शाउँछ । यसले हामीलाई यो बताउँछ कि यही गतिशीलताले हाम्रो जीवन थामेको हुन्छ अनि पोषित गरेको हुन्छ । यदि यो गति रोकियो भने, हाम्रो जीवनसँग जोडिएका सबैथोक रोकिने छन् । उत्तरायण सुरु भएपछि सूर्यसँगको सम्बन्धमा पृथ्वीको गति वा यसको ढल्काइ (झुकाव) चरम अवस्थामा पुग्दछ । अब, यो दिनपछि उत्तरतर्फको चाल प्रबल हुन्छ । धरतीमा थुप्रै कुराहरू सही अर्थमा परिवर्तन हुन थाल्छन् । मकर सङ्क्रान्तिदेखि जाडो पनि बिस्तारै-बिस्तारै कम हुँदै जान्छ ।
यो पृथ्वीबाट हामी जे-जति प्राप्त गर्छौँ, त्यस सन्दर्भमा यो गतिशीलता एउटा महत्त्वपूर्ण पक्ष हो । यस्तो समय थियो, जब मनुष्यले त्यही मात्र खान सक्थ्यो, जे धरतीले प्रदान गर्थिन् । त्यसपछि, हामीले धरतीबाट आफूले चाहेको चीज पाउने तरिका सिक्यौँ— यो कृषि हो । जब हामी सिकार गर्थ्यौँ वा खाना खोज्ने र सङ्ग्रह गर्ने गर्थ्यौँ, हामी त्यही बटुल्थ्यौँ, जे त्यहाँ उपलब्ध हुन्थ्यो । यो के जस्तो हो भने, जब तपाईं अबोध शिशु हुनुहुन्थ्यो, तब तपाईंकी आमाले तपाईंलाई जेजे दिनुहुन्थ्यो, तपाईं त्यही खानुहुन्थ्यो । जब तपाईं हुर्किएर बालक हुनुभयो, तपाईं आफूलाई मन परेको कुरा माग्न थाल्नुभयो । जब तपाईं हुर्किएर अलि ठूलो हुनुभयो, तब आफूले चाहेको कुरा माग्न थाल्नुभयो अनि पाउन थाल्नुभयो । तर अझैपनि, तपाईं त्यस हदसम्म मात्र आफूले चाहेको कुरा पाउन सक्नुहुन्छ, जतिसम्म उहाँ दिन इच्छुक हुनुहुन्छ । यदि तपाईंले आफ्ना माग वा इच्छाहरूलाई त्यो हदभन्दा बढि तन्काउनु भयो भने, तपाईंले कुनै पनि चीज नपाउने मात्रै होइन, तपाईंले केही अरू नै पाउने पक्का छ । यो औद्योगिकरण हो । कृषि भनेको आफ्नी आमालाई फकाएर आफूले चाहेको कुरा पाउनु जस्तै हो । जबकि, औद्योगिकरण भनेको आफूले चाहेको कुरा कुनै पनि तरिकाले पाउनु हो— चाहे चोट पुऱ्याएर होस् वा छिन्न-भिन्न पारेर । तपाईं यसलाई अन्यथा नलिनुहोस, म कुनै कुराको विरुद्धमा बोलिरहेको छैन । म चाहन्छु कि तपाईं यसलाई बुझ्नुहोस्— जुन रूपमा हाम्रो दिमाग एउटा अवस्थाबाट अर्कोमा गइरहेको छ, जुन रूपमा हाम्रा क्रियाकलापहरू एउटा स्तरबाट अर्कोमा गइरहेका छन् ।
अतः मकर सङ्क्रान्ति आफूलाई यो स्मरण गराउने दिन हो कि आज हामी जे-जति छौँ, त्यो सबै यही धरतीबाट लिएका हौँ । अचेल, म विश्वमा जताततै यो देखिरहेको छु कि मानिसहरू दिने कुरा गरिरहेका छन् । म यो बुझिरहेको छैन कि उनीहरू कहाँबाट ल्याएर दिन्छन् । तपाईं लिन मात्र सक्नुहुन्छ— प्रश्न यति मात्र हो कि तपाईं शिष्ट र सभ्य रूपमा लिनुहुन्छ वा लुछाचुँडी गर्नुहुन्छ ? के तपाईं यो संसारमा अन्त कतैबाट आफ्नै सम्पति लिएर आउनुभएको हो ? तपाईंसँग दिनको लागि के नै छ र ? तपाईं केवल लिन सक्नुहुन्छ । तपाईंलाई सबैथोक दिइएको छ । तपाईंलाई जे-जति प्रदान गरिएको छ, त्यसलाई समझदारी र होसपूर्वक लिनुहोस्— तपाईं यत्ति मात्र गर्न सक्नुहुन्छ ।
बाली भित्र्याउने पर्व
मकर सङ्क्रान्तिलाई बाली भित्र्याउने पर्वको रूपमा पनि हेरिन्छ । किनकि, यो समयमा बाली काटेर सकिएको हुन्छ अनि हामी त्यसको खुसीयालीमा उत्सवहरू मनाउँछौँ । यसदिन हामी ती सबैप्रति आभार व्यक्त गर्छौँ, जसले खेती गर्न वा बाली उब्जाउनमा सहयोग गरेका थिए । खेतीमा सघाउने जनावर र वस्तुभाउको ठूलो योगदान रहेको हुन्छ, त्यसैले मकर सङ्क्रान्तिको अर्को दिन उनीहरूमा समर्पित हुन्छ । पहिलो दिन धरतीका लागि हो, दोस्रो दिन हाम्रा लागि अनि तेस्रो दिन पशु र वस्तुभाउका निम्ति । वास्तवमा, पशुहरूको स्थान हाम्रोभन्दा अलिकति माथि हुन्छ, किनकि उनीहरूको कारणले हाम्रो अस्तित्व सम्भव भएको हो; हाम्रो कारणले उनीहरू जीवित हुने होइन । यदि हामी यहाँ नभएको भए, उनीहरू सबै खुला र खुसी हुने थिए । तर, यदि उनीहरू यहाँ नभएका भए, हामीहरू जीवित रहने थिएनौँ ।
यो पर्वले हामीलाई यो स्मरण गराउँछ कि हामीले आफ्नो वर्तमान र भविष्यलाई पूरै सचेत भई रचना गर्नुपर्छ । भर्खरै, हामीले अघिल्लो वर्षको बाली काट्यौँ । अर्को बालीलाई कसरी तयार गर्ने भनेर निकै सोचीबुझी योजना बनाइन्छ । यो प्रक्रियामा जनावरलाई पनि समावेश गराइन्छ । तपाईंले शहरबाट टाढा रहेका गाउँहरूमा यो प्रक्रिया हेर्नुपर्छ । अहिले त यस्ता गाउँहरू कमै बचेका छन्, किनकि पछिल्ला केही वर्षहरूमा घरघरमा मोबाइल पुगेको छ । यहाँ सम्म कि इन्टरनेट बुथ समेत पुगेको छ । तर, तपाईंले ग्रामीण ठाउँहरूमा यो हेर्नुपर्छ कि गाउँमा अब आउने बालीको लागि कसरी योजना बनाइन्छ । यो निकै अनौठो र अद्भुत हुन्छ । मैले यस्तै एउटा प्रक्रियामा सहभागी हुने सौभाग्य पाएको थिएँ । यो बैठक यसरी सञ्चालन गरिन्छ, जहाँ पशुहरू पनि सहभागी हुन्छन् । यस्तो होइन कि कसैले उनीहरूलाई अब के गर्नुपर्छ भनेर सोध्छन्— तथापि, उनीहरू पनि त्यो बैठकको महत्त्वपूर्ण अंग हुन्छन् । त्यो गाउँका जनावरहरू कस्ता छन्, तिनको उमेर कति भएको छ, तिनीहरू कति बलिया छन्, काम गर्न सक्छन् वा सक्दैनन् जस्ता विषयहरूलाई जसरी मूल्याङ्कन र निर्धारण गरिन्छ, त्यो प्रक्रिया एकदमै रमाइलो र जीवन्त हुन्छ ।
ब्रह्माण्डसँगको सम्बन्ध
मकर सङ्क्रान्तिको खगोलीय र आध्यात्मिक महत्त्व पनि रहेको छ । यो केही निश्चित योग अभ्यासबाट उत्पन्न भएको हो, जसलाई पछि आम मानिसहरूले आफ्नो निम्ति सान्दर्भिक र लाभदायक हुने रूपमा अपनाए । यो समय योगीहरूका निम्ति एकदमै महत्त्वपूर्ण समय हुन्छ, किनकि उनीहरू आफ्नो आध्यात्मिक प्रक्रियामा एउटा नयाँ र स्वच्छ प्रयास गर्न सक्छन् । सोही अनुरूप पारिवारिक मानिसहरू, जो आफ्नो जीवनमा जे-जति गरिरहेका हुन्छन्, उनीहरू पनि त्यसमा केही नयाँ गर्ने कोसिस गर्दछन् ।
योग प्रणालीका थुप्रै पक्षहरू खगोलिय प्रणाली र मानव शरीरको बीचमा रहेको सम्बन्धको आधारमा विकसित भएका हुन्, ताकि हामी हरेक क्षण, हरेक मिनेट, हरेक घण्टा, हरेक दिन लगातार खगोलिय स्थितिहरूमा बढ्दो रूपमा हुने परिवर्तनको लाभ उठाउन सकौँ ।
उदाहरणको लागि, १०८ सङ्ख्या मानव प्रणाली र सम्पूर्ण सौर्य मण्डलको रचनामा कैयौँ रूपहरूमा महत्त्वपूर्ण छ । परम्परादेखि, यदि कसैले माला लगाउने हो भने, त्यसमा १०८ दानाहरू हुनुपर्छ । यदि तपाईं कुनै मन्त्र उच्चारण वा जप गर्नुहुन्छ, अथवा कुनै उर्जा स्थलको प्रदक्षिणा (परिक्रमा) गर्नुहुन्छ भने, त्यसलाई १०८ पटक गरिनुपर्छ । यो यसकारण हो, किनकि यदि कसैलाई यो मानव प्रणालीमाथि प्रवीणता वा पूर्ण रूपमा दक्षता प्राप्त गर्नु छ भने, उसले १०८ चीजहरू गर्नुपर्ने हुन्छ । मानव शरीरमा ११४ वटा चक्र वा बिन्दुहरू हुन्छन्, जहाँ नाडीहरूको मिलन हुन्छ । यी ११४ वटा चक्रहरूमध्ये, २ वटा चक्रहरू शारीरिक ढाँचाभन्दा बाहिर रहेका हुन्छन् । शरीरभित्र रहेका ११२ वटा चक्रहरूमध्ये, तपाईंले १०८ वटा चक्रहरूमा मात्रै वास्तवमा काम गर्नुपर्छ । तपाईंले यी १०८ वटा च्रकहरूलाई सक्रिय गर्न सफल हुनुभयो भने, बाँकी चारवटा चक्रहरू स्वतः सक्रिय हुने छन् ।
यो ग्रहहरूको प्रणालीमा समेत निकै सुन्दर रूपमा प्रकट भएको छ । सूर्यको व्यास (डायमिटर) पृथ्वीको व्यास (डायमिटर) भन्दा १०८ गुणा बढी छ । सूर्य र पृथ्वी बीचको दुरी, सूर्यको व्यासभन्दा १०८ गुणा बढी छ । चन्द्रमा र पृथ्वी बीचको दुरी, चन्द्रमाको व्यासभन्दा १०८ गुणा बढी छ । एउटा चन्द्र वर्षमा १०८ वटा पद वा चरणहरू हुन्छन् । जुन पथ वा कक्षमा पृथ्वीले सूर्यको परिक्रमा गर्दछ, त्यसमा पृथ्वीको १०८ पद वा अवस्थाहरू आउँछन् । पृथ्वीले मालाको दाना जस्तै सूर्यको चारैतिर १०८ स्थितिहरूमा आफूलाई व्यवस्थित गर्दछ । मकर सङ्क्रान्तिमा सूर्यको चारैतिर २७ नक्षत्र वा १०८ पद पूरा हुन्छन् अनि एउटा नयाँ चक्रको सुरुवात हुन्छ ।
मकर सङ्क्रान्ति— गतिशीलताको पर्व
अतः मकर सङ्क्रान्ति यो गतिशीलतालाई चिन्ने र बुझ्ने पर्व हो । गतिशीलता— उत्सवको रूपमा, जीवनको रूपमा, जीवनको प्रक्रियाको रूपमा, जीवनको सुरु र अन्त्यको रूपमा । साथै, ‘शंकर′ शब्दले हामीलाई यो स्मरण गराउँछ कि यी सबैको पछाडि जे छ, त्यो हो शि-व, जुन पूर्णतः निश्चल वा अचल छ । निश्चलता नै चाल वा गतिको आधार हो । भलै, अरू सबै ग्रहहरू घुमिरहेका भए पनि, सूर्य घुमिरहेको छैन । यदि सूर्य पनि घुम्न थाल्यो भने, हामी समस्यामा पर्नेछौँ । त्यो एकै ठाउँमा स्थिर भएर अडिएको छ । त्यसैले, अरू सबैको गतिले कुनै समस्या हुँदैन । तर, सूर्य अचल हुनु सापेक्षिक कुरा हो, किनकि हामी सूर्यलाई पृथ्वीबाट हेरिरहेका हुन्छौँ । हुन सक्छ पूरै सौर्य मण्डल नै गतिशील छ कि । अथवा, पूरै आकाशगंगा नै गतिशील छ कि ! तसर्थ, योभन्दा पनि पर जे छ, त्यो अन्तरिक्ष जसले यी सबैलाई आफूमा समाहित गरिरहेको छ वा थामिरहेको छ, त्यो पूर्ण रूपमा अचल वा निश्चल छ ।
जब व्यक्तिले आवश्यक काम गरी आफूभित्र निश्चलतालाई स्पर्श गर्दछ, तबमात्रै उसलाई गतिशीलताको आनन्द थाहा हुन्छ । अन्यथा, मानिसहरू जीवनको गतिशीलताबाटै आत्तिन्छन् । मानिसहरू आफ्नो जीवनमा आउने हरेक परिवर्तनबाट दुःखी र पीडित बन्दछन् । अहिलेको तथाकथित आधुनिक जीवन यस्तो भएको छ, जहाँ हरेक नयाँ परिवर्तनमा तपाईं पीडित बन्नैपर्छ । मनुष्यको सन्दर्भमा, बाल्यकाल तनाव हो, किशोरावस्था वा युवावस्था त्योभन्दा विशाल समस्या हो, अधबैँसे वा वयस्क उमेर त झनै असह्य, वृद्धावस्था तिरस्कार र डरले भरिएको, अनि मृत्यु चाहिँ उत्सव— होइन, त्यो त भयानक त्रासदीभन्दा कम हुँदैन ! जीवनको हरेक चरण वा कालखण्ड समस्या भएको छ, किनकि मानिसहरूलाई गतिशीलता वा परिवर्तनसँग समस्या छ— उनीहरू यो बुझिरहेका छैनन् कि जीवनको मूल प्रक्रिया नै गतिशील छ । तपाईं तबमात्रै परिवर्तन वा गतिशीलताको आनन्द लिन सक्नुहुन्छ, जब तपाईंको एउटा खुट्टा निश्चलतामा अडिएको हुन्छ । जब तपाईंले स्थिरता वा निश्चलता महसुस गर्नुहुन्छ, तब तपाईंको निम्ति गतिशीलता एउटा सुखद अनुभूति हुन्छ । यदि तपाईंले स्थिरता अनुभव गर्नुभएको छैन, यदि यो निश्चलतासँग तपाईंको कुनै सम्पर्क छैन भने, गतिशीलताले तपाईंलाई निक्कै सताउन सक्छ ।
मानिसहरू ताराहरू हेरी, आफ्ना हत्केलाका रेखाहरू हेरी, सबैथरीका राशी र चिन्हहरू हेरी, यहाँ सम्म कि चियाको पात समेत हेरेर कुनै न कुनै तरिकाले आफ्नो जीवनको गति वा चाललाई बुझ्न चाहन्छन् । गतिशीलतासँग हुने संघर्ष, गतिशीलताप्रति रहेको एक प्रकारको त्रास र उन्माद यसकारण हुने गर्छ, किनकि मानिसहरूमा स्थिरताको अलिकति पनि अनुभव छैन । यदि तपाईंमा स्थिरताको अनुभव भएको भए, गतिले तपाईंलाई आकुलव्याकुल पार्ने थिएन । गतिशीलता यस्तो कुरा हो, जसले एउटा विशेष लय सृजना गर्दछ । हरेक लयको आदि (सुरु) र अन्त्य हुन्छ; हरेक गतिको पनि सुरु र अन्त्य हुन्छ । गतिशील अर्थात् त्यो जुन एउटा अवस्थाबाट अर्कोमा गइरहेको छ, त्यो जुन परिवर्तनशील छ । निश्चलता अर्थात् त्यो जुन सदैव रहिरहेको छ । गतिशीलता भनेको विवशता हो, निश्चलता भनेको चेतना हो ।
मकर सङ्क्रान्ति यसकारण महत्त्वपूर्ण छ, किनकि यो पर्वले हामीलाई यो स्मरण गराउँछ कि गतिशीलताको आनन्द तबमात्र लिन सम्भव हुन्छ, जब हामी आफूभित्र निश्चलता अनुभव गर्दछौँ ।