चुनाैतीपूर्ण समयमा समाधानको हिस्सा बन्ने ७ तरिकाहरू
आफूलाई यस्तो बनाउनुहोस् कि तपाईं सधैँ समाधानको हिस्सा बन्नुहुन्छ, न कि समस्याको । अहिलेको चुनौतीपूर्ण समयमा आफ्नो जीवनमा यो पक्षलाई स्थापित गर्नको लागि सद्गुरुले केही तरिकाहरू बताउनुभएको छ ।
जब कोरोनाको कारण लकडाउन घोषणा गरियो, त्यसबेला सद्गुरुले यसो भन्नुभएको थियो— "तपाईंहरूमध्ये जो आध्यात्मिक पथमा हुनुहुन्छ वा त्यसो ठान्नुभएको छ, तपाईंहरूका निम्ति यो एउटा भव्य समय हो । तपाईंहरूमध्ये जो विभिन्न योजना र रणनीतिहरू तयार गर्ने विचारक हुनुहुन्छ, तपाईंहरूका निम्ति यो विलक्षण समय हो । तपाईंहरूमध्ये जो आफूलाई सङ्गीतकर्मी वा कलाकर्मी मान्नुहुन्छ, तपाईंहरूका निम्ति यो पूर्णतः चमत्कारपूर्ण समय हो । तपाईंहरूमध्ये जो आफूलाई वास्तवमै विद्यार्थी वा अध्ययनकर्ता भन्नुहुन्छ, अर्थात् स्कूल वा कलेज जाने सन्दर्भमा नभई यदि तपाईं वास्तवमै अध्ययन गर्नुहुन्छ र केही जान्न चाहनुहुन्छ भने, यो तपाईंहरूका निम्ति सर्वथा सुन्दर समय हो ।"
गत महिनाभरी सञ्चालित "चुनौतीपूर्ण समयमा सद्गुरुसँग" शीर्षकअन्तर्गत दैनिक दर्शनहरूमार्फत यसै प्रसङ्गमा सद्गुरुले लकडाउनको कारण हाम्रा निम्ति खुलेका कयौँ अभूतपूर्व सम्भावनाहरूलाई औँल्याउनुभएको थियो । साथसाथै, उहाँले हामीलाई वर्तमान परिस्थितिको गम्भीरताबारे समेत सतर्क गराउनुभएको थियो ।
सद्गुरुले भन्नुभएका कुराहरूको मुख्य अंशहरू यस लेखमा तपाईंहरूसमक्ष प्रस्तुत गरेका छौँ । अहिलेको विषम परिस्थितिमा समेत आफ्नो जीवनलाई अत्यन्तै सुदृढ र समृद्ध बनाउनको लागि यी तरिकाहरूले निकै मद्दत गर्नेछन्, अनि हामी समाधानको हिस्सा बन्न सकेकोमा गर्व गर्न सक्नेछौँ ।
#१ बन्दी साधक बन्नुहोस् !
सद्गुरूः मलाई थाहा छ कि मानिसहरूले यो अभिव्यक्तिको निन्दा गर्नेछन्, तर अहिले तपाईं एउटा बन्दी साधक बन्नुभएको छ— जुन एउटा गुरुको सपना हो । स्वस्थ र सुरक्षित रहनु अपरिहार्य छ, तर आउनुहोस् हामी सबैले यो समयलाई सम्भव भएसम्म सबैभन्दा उत्तम तरिकाले सदुपयोग गरौँ ।
जाबो भाइरसले नै मानिसहरूमा यस हदसम्म समझदारी र सचेतना ल्याउन सक्छ भन्ने थाहा भएको भए मैले तपाईंहरूलाई यस्तो भाइरस निकै अगाडि दिने थिएँ ! तपाईंहरूलाई सचेत र समझदार बनाउनको लागि म तपाईंहरूलाई यति धेरै अभ्यासहरू सिकाउने कोशिस गरेर आफ्नो समय किन खेर फाल्थेँ र ! भाइरसले यस्तो गर्न सक्छ भनेर मलाई थाहा नै थिएन । भलै, यो कुनै हाँसोको विषय होइन, तर तपाईंले आफ्नो हाँसो गुमाउँदैमा भाइरस यहाँबाट जाने होइन । यदि तपाईं अति गम्भीर बन्नुभयो भने, तपाईंको मृत्यु हुनु पहिल्यै तपाईं मृत जस्तै बन्नुहुनेछ ।
यतिखेर तपाईंको मूलभूत जिम्मेवारी भनेको आफू बाँच्नु अनि आफू वरपरका सबैलाई बचाउनु हो— विशेषगरी उहाँहरूलाई, जो जोखिमपूर्ण अवस्थामा हुनुहुन्छ । हामीले यो जाँच उत्तीर्ण गर्नैपर्छ । जिम्मेवारीपूर्वक कार्यहरू गरिएको खण्डमा मात्रै यो सम्भव हुन सक्दछ ।
#२ के हामी वास्तवमै मानव नै हौँ भनेर जाँच गर्ने समय
जब हामी कुनै सङ्कटपूर्ण परिस्थितिहरूको सामना गर्दछौँ, यस्तै समयमा नै तपाईं कस्तो किसिमको मानिस हुनुहुन्छ भन्ने कुराले महत्त्व राख्छ । वास्तवमा, यो कुराले जतिबेला पनि महत्त्व राखेको हुन्छ, तर सामान्य समयमा सबै किसिमका ढोँगीहरू उम्किन सक्छन् । उनीहरूले ढोँग गरिरहेका हुन सक्छन् । तर, जब तपाईं सङ्कट सामना गर्नुहुन्छ, त्यसबेला तपाईं कस्तो किसिमको मानिस हुनुहुन्छ भन्ने कुरा सबैभन्दा मूल्यवान हुन्छ ।
अहिले हामीले यो सुनिश्चित गर्ने बेला भएको छ: के हामी मानवजाति हौँ वा मानवजन्तु ? यदि हामी मानवजाति हौँ भने, हामीलाई यहाँ कसरी रहने भनेर थाहा हुनुपर्छ । यदि तपाईंले कसरी रहने भनेर जान्नुभयो भने, एक–आपसमा हुने अन्तर्क्रियाहरू आफ्नो रोजाइले हुनेछ । यदि त्यो जरूरी छैन भने, तपाईं यत्तिकै एक्लै रहन सक्नुहुन्छ अनि त्यसको लागि यो गज्जबको समय हो । जो व्यक्तिहरू आध्यात्मिक मार्गमा हुन्छन्, उनीहरूका निम्ति एक्लै रहनु, अरू मानिसहरूबाट टाढै रहनु, मौन बस्नु जस्ता कुराहरू कुनै समस्या होइनन्— यी त अवसरहरू हुन् ! तर, अधिकांश मानिसहरूको जीवनमा अझैपनि आध्यात्मिक पक्ष नभएकोले उनीहरू सङ्घर्ष गरिरहेका हुन्छन् । उनीहरूसम्म एकदमै सहज रूपमा विभिन्न समाधानहरू कसरी पुऱ्याउन सकिन्छ भनेर त्यसतर्फ हामी काम गरिरहेका छौँ । तर, यो असाध्यै महत्त्वपूर्ण छ कि जो–जो आफूलाई आध्यात्मिक साधक भन्नुहुन्छ, उहाँहरू अत्यन्तै सतर्क रहनु र आवश्यक परेमा अगाडि सरेर आवश्यक कार्यहरू गर्न इच्छुक र तत्पर रहनुपर्छ । सबैथोक ठीक भएको बेलामा जो–कोही पनि अद्भुत लाग्दछन् । जब हामीले चुनौतीपूर्ण समयको सामना गर्नुपर्ने हुन्छ, त्यतिखेर नै हामी को हौँ भन्ने कुराले वास्तवमै महत्त्व राख्छ ।
मूलभूत प्रश्न यही हो: हामी कस्ता किसिमका मानिस हौँ— समाधानको हिस्सा बन्ने वा समस्याको हिस्सा बन्ने ? हामीले निर्णय गर्नुपर्ने कुरा यत्ति हो । मैले निर्णय गरेको छु । तपाईंहरू जहाँसुकै हुनुभए तापनि, देशको वा विश्वको जुनसुकै भागमा रहनुभए तापनि, म चाहन्छु कि तपाईंहरू सबैले यो अठोट गर्नुहोस्: अब आउने समय, जुन मानवताको लागि वास्तवमै चुनौतीपूर्ण हुनु गइरहेको छ, तपाईं समाधानको हिस्सा बन्नुहुनेछ, न कि समस्याको । सबैले यो अठोट गर्नैपर्छ, सबैजना यसमा प्रतिबद्ध रहनैपर्छ । यो अत्यन्तै, अत्यन्तै जरूरी छ ।
#३ नश्वरता (नाशवान् प्रकृति) को स्मरण
म चाहन्छु कि तपाईंले यत्ति बुझ्नुहोस् कि यो भाइरस तपाईंको विरोधी होइन । यसले आफ्नो जीवन निर्वाह गर्ने कोशिस गरिरहेको मात्र हो । दुर्भाग्यवश, यसले आक्रामक तरिकाले बाँच्न थाल्दा हाम्रो जीवन नै लिइदिन्छ । यो ठ्याक्कै मानिसहरूको क्रियाकलाप जस्तै हो ।
आफ्नो सुख–समृद्धिको खोजमा मानवजातिले यस धरतीका जीवनहरू नाश गरेका छन् । मानिसहरूले पृथ्वीको जीवनलाई नै सङ्कटमा पारिरहेका छन्— पक्कै पनि गलत मनसायले होइन, राम्रोसँग बाँच्ने मनसायले नै ! त्यसैगरी, भाइरसहरू पनि राम्रोसँग बाँच्न चाहन्छन्, अनि तिनका लागि तपाईं वासस्थान हो । हामीले यस धरतीमाथि जे गरिरहेका छौँ, यसले पनि त्यही गरिरहेको छ— न बढी, न त कम । अहिलेको अवस्थामा भाइरसको डर भन्नुको अर्थ नश्वरता (मृत्यु) को डर हो । तसर्थ, जब तपाईंमाथि मृत्यु मडारिन्छ, त्यसबेला तपाईंले मानव जीवन कति क्षणभङ्गुर छ भन्ने कुरा बुझ्नुहुन्छ ।
यस्तो समयमा तपाईं जे हो अनि तपाईं जे होइन, तीबिच भेद छुट्याउनु राम्रो हुन्छ । म भनेको के हो र मेरो भनेको के हो भन्नेबारे अन्तर छुट्याउनु राम्रो हुन्छ । म के हुँ भनेर जान्नु अत्यन्तै महत्त्वपूर्ण छ । तपाईंसँग चाहे जेसुकै किन नहोस्, तपाईं अनेक चीजहरू सङ्ग्र गर्नको लागि आफ्नो पूरै जीवन खर्चिन सक्नुहुन्छ, तर जीवनको अन्त्यमा त्यसलाई आफूसँगै लैजाने व्यवस्था चाहिँ उपलब्ध छैन ! हामी यहाँ सीमित समय र ऊर्जा लिएर आएका छौँ । यतिखेर हामीलाई एउटा सूक्ष्म जीवले हाम्रो नश्वर प्रकृति स्मरण गराइरहेको छ । यो जीवन वास्तवमा जस्तो छ, त्यसलाई त्यही रूपमा हेर्ने समय भएको छ— सत्यलाई दूषित गर्ने काममा लिप्त हुने होइन ।
#४ जीवनमा प्रत्याहार भित्र्याउनुहोस्
आजको विश्वमा हाम्रा इन्द्रियहरूमाथि ध्वनी, रङ्ग तथा दृश्यहरूको चौतर्फी आक्रमण जस्तै भइरहेको छ । आजको समयमा हामीभित्र यस मात्रामा दृश्य र आवाजको कोलाहल प्रवेश गरिरहेको छ कि अधिकांश मानिसहरूको लागि आफूभित्र जानु एकदमै टाढाको कुरा लाग्न सक्छ । तथापि, अहिलेको परिस्थिति आफूलाई परिक्षण गर्न र यो अवसरलाई उपयोग गर्नको लागि उत्तम समय हो । अष्टाङ्ग योगमा प्रत्याहार एउटा अङ्ग हो । अष्टाङ्ग योग अर्थात् योगका आठवटा अङ्गहरू । तीमध्ये एउटा अङ्ग प्रत्याहार हो । प्रत्याहार भनेको बाहिरी संसारमा तल्लिन रहेका आफ्ना इन्द्रियहरूलाई आफूभित्र फर्काउनु हो । आजको विश्वमा मानिसहरूले त्यो के हो भनेर बुझ्न समेत सक्दैनन् । यदि तपाईं दिनमा आफ्ना आँखा चिम्लिएर केही घण्टासम्म लगातार बस्नुभयो भने— निदाएर होइन, सचेत रहेर— तपाईंले आफूमा छुट्टै किसिमको ऊर्जा अनुभव गर्न सक्नुहुनेछ । जब तपाईं बाहिरतिर तल्लिन रहेका इन्द्रियहरूलाई आफूभित्र फर्काउनुहुन्छ, त्यसलाई प्रत्याहार भनिन्छ ।
आफ्नो जीवनमा प्रत्याहार भित्र्याउनको लागि तपाईंले प्रयोग गरेर हेर्ने उत्तम समय यही हो । तपाईं को हो र कहाँ हुनुहुन्छ भन्ने कुराले केही फरक पार्दैन । यसको लागि तपाईंलाई कुनै प्रशिक्षण चाहिँदैन । आफ्ना आँखा चिम्लिएर बस्नुहोस् । यदि तपाईंको मन जताततै दौडिरहेको छ भने, जान दिनुहोस्— त्यसलाई रोक्ने कोशिस नगर्नुहोस्, किनकि त्यसमा कुनै ब्रेक हुँदैन । यसका तीनवटै पाइडलहरू थ्रोटल हुन्, अर्थात् तपाईंले जुनसुकै पाइडल थिचेपनि त्यसले अझ गति बढाउने काम मात्र गर्दछ । त्यसैले केही नगर्नुस्, दौडिन दिनुहोस् । यो जताततै दौडिरहनुको कारण के हो भने, कर्मका छापहरूले त्यसलाई चलायमान राखिरहेका हुन्छन् । यदि तपाईंले त्यसलाई बेवास्ता गरी केही समय यत्तिकै छोड्नुभयो भने, गति स्वतः घट्नेछ अनि अन्तत: रोकिनेछ । मनलाई रोक्ने वा नरोक्ने भन्नेबारे चिन्ता नलिनुहोस् । मैले यत्तिमात्र भनिरहेको छु कि तपाईं जति घण्टासम्म सक्नुहुन्छ, बाहिरी संसारमा संलग्न रहनुहोस् । एक घण्टाबाट शुरु गर्नुहोस् अनि त्यसलाई बढाउँदै छ देखि बाह्र घण्टासम्म पुऱ्याएर यत्तिकै बस्नुहोस् । त्यसबेला, आफूभित्र शिखरको अनुभव गर्नको लागि तपाईंमा आवश्यक ऊर्जा हुनेछ ।
यतिखेर मानिसहरू आफूभित्रै आनन्दित र प्रफुल्ल रहन नसक्नु पछाडिको सबैभन्दा ठूलो समस्या भनेको ऊर्जाको कमी हो— यदि उनीहरू तीन मिनेटको लागि खुसी भए भने, त्यसपछि उनीहरू यत्तिकै फत्रक्क गल्छन् । कुनै पनि अनुभवमा लामो समयसम्म टिकिरहन र त्यसबाट तल खस्न नदिने ऊर्जा प्रणाली निर्माण गर्नको लागि प्रत्याहार मुख्य तत्त्व हो । प्रत्याहार अभ्यास गर्नेको लागि यो राम्रो समय हो ।
#५ योगदान गर्ने समय, न कि आलोचना
तपाईंले यो परिस्थिति कति गम्भीर र जटिल छ भनेर बुझ्न जरूरी छ । यो दुर्भाग्यपूर्ण कुरा हो कि हाम्रो अगाडि राष्ट्रको निम्ति, पूरै विश्वको निम्ति एउटा महाविपत्तिले पर्खिरहेको यस्तो समयमा पनि केही मानिसहरू अगाडि सरेर आफ्नो सेरोफेरोमा कसैका लागि केही उपयोगी र सकारात्मक काम गर्न सक्दैनन् । यस्तो समयमा पनि उनीहरू नचाहिँदा वाहियात् कुराहरू मात्र गर्छन् । यो असाध्यै दुर्भाग्य हो कि मानिसहरूको एउटा जमात छ, जसलाई आफ्नो सेरोफेरोका मानिसहरूलाई जेसुकै भएपनि मतलब हुँदैन, देशमा जेसुकै भएपनि मतलब हुँदैन, बाँकी मानवजातिलाई जेसुकै भएपनि मतलब हुँदैन— उनीहरू अपशब्दले भरिएका हुन्छन्, अनि जतिबेला पनि विष ओकलिरहन्छन् । म यति नै आशा गर्छु कि कम्तीमा पनि यो भाइरसले तिनलाई यो विषबाट उपचार गरोस् । अनि आउँदा दिनहरूमा एक्लै रहँदा उनीहरू अगाडि बढ्न सकून् र केही उपयोगी गरून् ।
हामी सबैले यो बुझ्न जरूरी छ कि मानिसहरूको एउटा पिँढीको रूपमा हामीले कहिल्यै यस प्रकारको परिस्थिति सामना गरेका थिएनौँ । यो कुनै पनि युद्धहरूभन्दा निकै सङ्कटपूर्ण स्थिति हो । तपाईंले अहिलेसम्म जान्नुभएको भन्दा असाध्यै ठूलो आपतकालिन अवस्था हो ।
यो यस्तो समय हो, जहाँ सबैजना अघि सरेर केही गर्नुपर्छ, जीवनमा जे जति सानोतिनो सकारात्मक काम गर्न सकिन्छ, त्यो गर्नुपर्छ । यदि हामीले जिम्मेवार भएर आवश्यक सकारात्मक कार्यहरू गऱ्यौँ भनेमात्र, यो कुनै विशाल क्षति नपुऱ्याइ पार हुन सक्छ । हामी आफ्नो घरमै रहेर, व्यक्ति–व्यक्तिबिच दुरी कायम गरेर कसरी आफ्नोतर्फबाट योगदान गर्न सकिन्छ भनेर हेर्नुहोस् ।
केही गर्नुस् । हरेक कुराको बारेमा गनगन गरेर नबस्नुस् !
#६ कृतज्ञता व्यक्त गर्नुहोस्
दुर्भाग्यवश, हामी सबैथोक आलोचनाबाटै सुल्झाउन सकिन्छ भनेर सोच्छौँ । यो मानसिकता हट्नै पर्छ । थुप्रै मानिसहरूले अहिले जे-जति अद्भुत कामहरू गरिरहनु भएको छ, हामी सबैले उहाँहरूका कामहरूप्रति आभार व्यक्त गर्नुपर्छ । उदाहारणको लागि, जब तपाईं कुनै सवारी साधनमा यात्रा गर्नुहुन्छ, तपाईंहरूमध्ये कति जनाले चालक र सह-चालकलाई हेरेर "धन्यवाद" भन्नुहुन्छ वा कम्तीमा पनि नमस्कार गर्नुहुन्छ ? अधिकांश मानिसहरूमा यो भाव छँदै छैन । विगतलाई हेर्ने हो भने हाम्रो यस्तो संस्कार थियो, जहाँ हामी जतिसुकै सानो चीज पाउँदाखेरि पनि सधैँ एक-अर्कालाई झुकेर नमन गर्थ्यौँ । तर, दुर्भाग्यवश अहिले त्यो हराइसकेको छ ।
यतिखेर, थुप्रै चिकित्सकहरू, सुरक्षाकर्मीहरू साथै अत्यावश्यक सेवाहरू व्यवस्थापन गरिरहनु भएका अन्य मानिसहरूले आफ्नै जीवन अनि आफ्नो परिवारको जीवनलाई जोखिमपूर्ण बनाउनु भएको छ । उहाँहरू अस्पतालमा काम गर्नुहुन्छ, अनि जब घर फर्किनुहुन्छ, सायद उहाँहरू मृत्यु बोकेर घर जानुभएको हुन सक्दछ । जब उहाँहरूले यस हदसम्मको सेवा गरिरहनु भएको छ, हामी उहाँहरूप्रति कृतज्ञ नहुनु भनेको ठूलो बिडम्बना हो ।
आउनुहोस्, कम्तीमा पनि अर्को ६ महिनासम्म यो नजाउन्जेल हामी सबैले यसो गरौँ: प्रत्येक बिहान जब तपाईं ब्यूँझिनुहुन्छ, तपाईं आफ्नो मनमा एउटा दृढ विचार उत्पन्न गर्नुहोस्, “म उहाँहरू सबैप्रति साँच्चिकै आभारी छु, जसले हाम्रो निम्ति आफ्नै जीवनलाई जोखिमपूर्ण बनाइरहनु भएको छ ।“
#७ अद्भुत मानिसहरूको पिँढी तयार गर्ने अवसर
विश्वका सबै मेशिनहरू यस रूपमा बन्द भएकाले, निश्चय पनि पृथ्वीको पर्यावरणीय संरचनामा अद्भुत प्रभाव पारेको छ । मैले यसो भनिरहँदा केही मानिसहरूलाई मैले दुखेको घाउमा नुनचुक छर्दैछु भन्ने लाग्ला, किनकि धेरै मानिसहरूले निकै पीडा सहिरहेका छन् । तर, सबै विद्यालयहरूमा ६–८ हप्ताको गर्मी बिदा भए जस्तै सम्पूर्ण मानवजातिहरूले हरेक वर्ष तीन हप्ता बिदा लिनु राम्रो हुनेछ । तीन हप्ताको लागि न त कुनै मेशिन, न सवारी साधनहरू, न उद्योगधन्दा, सबैथोक बन्द रहने । तपाईं हिँड्न सक्नुहुन्छ, साइकल चलाउन सक्नुहुन्छ, तर कुनै पनि किसिमको मेशिनहरू नचलाउने ।
यदि हामीले यो तीन हप्तासम्म गऱ्यौँ भने, हामीले यी तीन हप्तामा आफूलाई अझ माथि उठाउन सक्छौँ । यदि यो विश्व अहिलेको भन्दा राम्रो हुनुपर्ने हो भने, प्रविधिहरू वा मेशिनहरू उन्नत हुँदैमा त्यो सम्भव हुँदैन । यी चीजहरूले क्रियाकलापको स्तरलाई सुदृढ बनाउने काम मात्र गर्छन् । यदि यो विश्व साँच्चिकै सानदार बन्नुपर्ने हो भने, मानिसहरूले आफूलाई हरेक पक्षमा माथि उठाउनु पर्नेछ । वास्तवमा भन्नुपर्दा, विश्वलाई समृद्ध बनाउने भन्ने कुरा नै हूँदैन, किनकि विश्व भनेको केवल शव्द हो, राष्ट्र भनेको शब्द मात्र हो साथै समाज भनेको पनि केवल शब्द हो । यहाँ व्यक्तिहरू मात्र छन् । हरैक व्यक्तिमा रूपान्तरण नभएसम्म विश्वको रूपान्तरण हुन सक्दैन ।
त्यसैले, यतिखेर तपाईंहरूले यो छुट्टी पाउनुभएको छ । यो समयमा तपाईंहरूले आफूलाई कम्तीमा पनि दश प्रतिशत अझ राम्रो बनाउनुहोस् । अर्थात्, तपाईंको मानसिक क्षमताको स्तर अहिले जस्तो छ, त्यसलाई दश प्रतिशत राम्रो बनाउने लक्ष्य लिनुहोस् । तपाईं आफ्नो जीवनमा जे-जस्तो काम गरिरहनु भएको छ— चाहे तपाईं खाना पकाइरहनु भएको होस्, चिया बनाइरहनु भएको होस् वा देश चलाइरहनु भएको होस्— तपाईं त्योभन्दा दश प्रतिशत राम्रो बन्नुपर्छ । शरीर, मन र भावनाहरूको स्तरमा अनि तपाईं जे–जति कामहरू गरिरहनु भएको छ, त्यसको सामर्थ्यमा दश प्रतिशत बढी राम्रो हुनुपर्छ । तपाईंहरू प्रत्येकले यो गर्नैपर्छ, किनकि अब फेरि आफ्नो जीवनमा तपाईंले फेरि कहिल्यै यति लामो समय पाउनुहुने छैन । यदि हरेक वर्ष हामीले यसरी दश प्रतिशतले वृद्धि गर्दै जाने हो भने, दश वर्षको अवधिमा हामी अहिलेको भन्दा शत–प्रतिशत राम्रो बन्नेछौँ । तपाईं यही तरिकाले अद्भुत राष्ट्र र अद्भुत विश्व निर्माण गर्न सक्नुहुन्छ— किनकि अद्भुत मानिसहरूबिना अद्भुत संसार सम्भव हुँदैन ।
Editor’s Note: Inner Engineering Online is available free of cost for COVID Warriors and at half the cost for everyone else.