कोरोना (कोभिड–१९) को चिन्ता— आफूलाई कसरी सम्हाल्ने ?
कोरोना भाइरसको चिन्ताबाट कसरी मुक्त हुने भन्ने प्रश्नप्रति आफ्नो पृथक दृष्टिकोण दिँदै, सद्गुरु यो बताउँदै हुनुहुन्छ कि चिन्ता बाहिरी परिस्थितिको परिणाम होइन, बरु अनजानमै हामी आफूभित्रै डर, चिन्ता, हताशको भाव उत्पन्न गरिरहेका हुन्छौँ । अहिलेको चुनौतीपूर्ण परिस्थितिलाई सामना गर्नको निम्ति उहाँले सरल प्रकियाहरू प्रदान गर्नुभएको छ ।
चिन्ताको मूल कारण
सद्गुरु: चाहे त्यो डर होस् वा रिस, चिन्ता, हर्ष, दु:ख अथवा परम–आनन्द नै किन नहोस्, यी सबै विभिन्न प्रकारका भावनाहरू हुन् । यदि तपाईंले डर अनुभव गर्नुभएको छ भने, तपाईंलाई यो थाहा हुनुपर्छ कि यो तपाईंलाई एकदमै कमजोर बनाउने भावना हो । यसले तपाईंलाई माथि उकास्नुको सट्टा झन् तल खस्काउँछ । मानिसहरूले आफूमा डर, रिस र चिन्ता उत्पन्न हुनु स्वाभाविक कुरा हो अनि हामीले तीसँग जुझ्नुपर्छ भनेर मानिलिएका छन् । होइन, तपाईंले आफूभित्र ती भावनाहरू उत्पन्न गरिरहनु भएको हून्छ । सम्पूर्ण मानव अनुभवहरू हामीभित्रबाट उत्पन्न हुन्छन् । बाहिरी उत्प्रेरक भए तापनि, मूलत: तपाईंले सृजना गरिरहनु भएको हुन्छ । कुनै निश्चित परिस्थितिमा एउटा व्यक्ति डरले आतङ्कित हुन सक्छ, जबकि अर्को व्यक्तिलाई त्यसले असर नपुऱ्याउन सक्छ ।यसको अर्थ के हो भने परिस्थितिले तपाईंलाई भयभीत बनाइरहेको होइन; तपाईं जुन प्रकारले यो परिस्थितिप्रति प्रतिक्रिया जनाइरहनु भएको छ, त्यसले नै डर उत्पन्न गरिरहेको हो । यदि तपाईं बाध्यात्मक प्रतिक्रियाको अवस्थामा हुनुहुन्छ भने, जोसकै र जेसुकैले तपाईंको जीवन निर्धारण गर्न सक्नेछ । यसैकारण, हामी जिम्मेवार हुनेबारे कुरा गर्दछौँ । जिम्मेवारी भनेको नागरिकको उत्तरदायित्त्व होइन । मूलभूत रूपमा हेर्ने हो भने, जिम्मेवार हुनु भनेको सचेत भई सम्बोधन गर्ने सामर्थ्य हो । यदि तपाईंमा सम्बोधन गर्ने सामर्थ्य रह्यो भने, तपाईंले कुनै पनि कार्य आफूले चाहेअनुसार गर्नुहुनेछ । तर, यदि तपाईंले बाध्यात्मक प्रतिक्रिया गर्नुभयो भने, बाहिरी परिस्थितिहरू तपाईंको जीवनमाथि हावी हुनेछन् । चाहे भाइरस रहोस् वा नरहोस्, तपाईंको जीवनमा बाहिरी परिस्थितिहरू कहिल्यै पनि शत–प्रतिशत तपाईंको हातमा हुँदैनन् । यही अस्तित्वको वास्वतिक प्रकृति हो ।
भाइरस आउनुअघि तपाईंको घर, कार्यालय वा सडकका परिस्थितिहरू कहिल्यै पनि शत–प्रतिशत तपाईंको हातमा थिएनन् । अहिलेको अवस्था पनि ठीक त्यस्तै हो । अहिलेको परिस्थितिको कारक भाइरस भए तापनि, यो सौभाग्यको कुरा हो कि यो हामीमार्फत फैलिरहेको छ । यसको अर्थ के हो भने, यदि हामीले सावधानी अपनाएर सचेतनपूर्वक कार्यहरू गऱ्यौँ भने, हामी यसलाई जीवितै पार गर्नेछौँ । प्राय: सबैजनाले अहिलेको परिस्थितिलाई युद्धसँग तुलना गरिरहेका छन् । कम्तीमा पनि हाम्रो घरमा बम बिस्फोट भइरहेको छैन, साथै हामीलाई बाटोमा सैनिकहरूले गोली प्रहार गरिरहेका छैनन् । यो एक प्रकारले भन्नुपर्दा, यो युद्ध जस्तै हो, तर मन्द खालको युद्ध । यदि हामीहरू जिम्मेवार भयौँ भने, हामी यसलाई रोक्न सक्छौँ । यदि हामीले गैर–जिम्मेवार व्यवहार गर्न थाल्यौँ भने, यो व्यापक रूपमा फैलिने छ ।
यदि यो भाइरस १८ देखि २४ महिनासम्म जीवित रहिरह्यो भने, यसले थुप्रै तरिकाहरूले यसले हाम्रो अस्तित्वको गतिशीलतालाई नै बदल्नेछ । यसको अर्थ मानवजाति यहाँबाट सखाप हुन्छन् भनेको होइन, तर हाम्रा क्रियाकलाप, व्यापार–व्यवसायहरू, जीवनशैली, शिक्षा–व्यवस्था अनि हामी जुन रूपमा बाँकी कुराहरू सञ्चालन गरिरहेका छौँ, ती सबैमा विशाल उथलपुथल हुन सक्छ । यही समयमा हामीले आफ्नो बुद्धिमत्ता, प्रतिभा, स्फर्ति अनि एक–अर्काप्रतिको प्रेम व्यक्त गर्नुपर्छ । हामीले आफूभित्रको सबैभन्दा उत्तम गुण अभिव्यक्त गर्नुपर्छ, किनकी यस प्रकारको परिस्थितिसँग जुझ्नको लागि तपाईं उच्चतम अवस्थामा हुनुपर्छ । यो चिन्ता, निराशा वा डरमा डुब्ने समय होइन; जब तपाईंभित्र डर र चिन्ताको भाव उत्पन्न हुन्छ, एक प्रकारले तपाईं पङ्गु वा अशक्त बन्नुहुन्छ । अहिले आफैँलाई अशक्त बनाउने समय होइन । यस्तो परिस्थितिलाई उचित ढङ्गले सामना गर्नको लागि हामीहरू आफ्नो श्रेष्ठतम अवस्थामा हुन जरूरी छ ।
अवश्य पनि, हाम्रोसामु एउटा गम्भीर चुनौती छ । तर, यस्तै चुनौतीपूर्ण परिस्थितिहरूमा नै हामी आफ्नो सर्वोत्तम क्षमतामा माथि उठ्न सकेका छौँ, किनकि मनुष्यभित्र केही यस्तो हुन्छ, जुन कुनै पनि परिस्थितिमा पछि हट्न चाहँदैन । शुरुवातमा, मानिसहरूको सुख–सुविधामा आँच आएको हुनाले डर, चिन्ता र व्यथा हुन्छ । तर, जब चुनौतीहरू वास्तवमै सशक्त बन्दै जान्छन्, त्यसैबेला मनुष्यहरू अघि सर्नेछन् अनि आफ्नो सामर्थ्यले भ्याएको सबैभन्दा उत्तम कुरा गरी महान् सम्भावनाहरू निर्माण गर्नेछन् । मेरो विचारमा यो उथलपुथलले संसारको अन्त्य गर्नेछैन । यदि हामीले जिम्मेवार भएर यसलाई सम्हाल्यौँ भने, हामीले मृत्युदर र अरू क्षतिहरूलाई कम गर्न सक्नेछौँ ।
कोरोना (कोभिड–१९) को चिन्ताबाट मुक्त हुने दुईवटा सरल अभ्यासहरू:
-
स्थिर बस्नुहोस्:
चाहे तपाईं यसलाई तनाव भन्नुहोस्, चिन्ता वा अरू कुनै नाम दिनुहोस्— मूल कुरा के हो भने, तपाईंको प्रणालीमा संघर्ष चलिरहेको छ । तसर्थ, सर्वप्रथम आफ्नो प्रणालीलाई ज्यामितिको सङ्गतिमा ल्याउनु अनि उचित तरिकाले त्यसको घर्षण कम गर्नु अत्यन्तै महत्त्वपूर्ण छ । यसो गर्नको लागि केही तरिकाहरू छन् । जहाँ ज्यामिति सही सङ्गतिमा रहन्छ, त्यहाँ कुनै घर्षण हुँदैन, त्यहाँ प्रयास गर्नुपर्दैन । तपाईंले आफ्नो प्रणालीलाई त्यही अवस्थामा ल्याउनुपर्छ । आफ्नो जीवनमा यस्ता सानातिना कुराहरू हावी हुन नदिनुहोस् । यदि तपाईंलाई चिन्ताले जतिबेला पनि सताइरह्यो भने, त्यसले तपाईंको जीवनको प्रक्रियालाई सीमित गर्नुको साथै बर्बाद गरिदिन सक्छ । यसलाई जतिसक्दो छिटो सुल्झाउनुपर्छ ।
आफ्नो शरीरलाई सन्तुलित राख्नको निम्ति केही सरल उपायहरू छन् । सबैभन्दा सरल उपाय भनेको सही तरिकाले बस्न सिक्नु हो । हाम्रो प्रणालीमा अनेक रसायनहरू क्रियाशील भइरहेका हुन्छन्; शरीरमा विभिन्न ग्रन्थिहरूले आफ्नो काम गरिरहेका हुन्छन् । यसरी बस्नुहोस् कि तपाईंको शरीर मांसपेशीहरूको सहाराबिनै यत्तिकै बस्न सकोस्, अर्थात् यो यति सन्तुलित रहोस् कि यदि यो बस्यो भने, यत्तिकै बसिरहोस् । दिनमा केही घण्टासम्म यसको अभ्यास गर्नुहोस् । बिस्तारै, तपाईंले निकै राम्रो महसुस गर्नुहुनेछ । चिन्ताको समस्याबाट बाहिर निस्किनको लागि केही जटिल प्रक्रियाहरू पनि छन् । तर, कम्तीमा पनि यति प्रयास गर्नुहोस्— ज्यामितीय रूपमा आफूलाई यस प्रकारले राख्नुहोस् कि तपाईंको प्रणालीमा कुनै तनाव नरहोस् ।
-
ऊर्जा प्रस्फुट गर्नको निम्ति ध्वनिको प्रयोग:
हामी यस्तो परिस्थितिमा छौँ, जहाँ हामीसँग भाइरसको बारेमा विस्तारमा कुनै जानकारी छैन । आवश्यक जानकारीहरू उपलब्ध नभएको बेला हाम्रो बुद्धि असाहय महसुस गर्दछ अनि यसले उदासीनता, असाहयता र उत्तेजनाका भावहरू उत्पन्न गर्दछ । यस्तो समयमा तपाईंले आफ्ना ऊर्जाहरूलाई स्फूर्त राख्नु असाध्यै महत्त्वपूर्ण हुन्छ । जब तपाईं ऊर्जाले भरिपूर्ण बन्नुहुन्छ, तपाईंले बौद्धिक रूपमा नबुझे तापनि तपाईंले आफ्नो प्रणालीमा सही कुराहरू गर्नुहुनेछ— जब प्रणालीमा ऊर्जा प्रस्फुटित हुन्छ, यसले निश्चित तरिकाले कार्य गर्नेछ । तपाईं एउटा सरल प्रक्रिया गर्न सक्नुहुन्छ— आफ्नो विचार, भावना र शारीरिक प्रक्रियाहरू संलग्न गरी कुनै शक्तिशाली ध्वनिको प्रयोग गर्न सक्नुहुन्छ । उदाहरणको लागि जब तपाईं बस्नुहुन्छ वा उठ्नुहुन्छ, तपाईंको प्रणालीले काम गर्ने शैलीमा पूर्ण रूपले परिवर्तन हुन्छ— शरीरको स्तरमा मात्र नभई रसायन र ऊर्जाको स्तरमा पनि । यही कारणले गर्दा, यस संस्कृतिमा यस्तो प्रक्रियाको विकास गरिएको थियो कि तपाईं उठ्दा वा बस्दा "शिव" भन्नुहुन्थ्यो । केही राम्रो कुरा देख्नुभयो भने, "शिव" भन्नुहुन्थ्यो; केही नराम्रो कुरा देख्नुभयो भनेपनि "शिव" भन्नुहुन्थ्यो । यदि तपाईंले आफूभित्र शक्तिशाली रूपमा प्राण प्रतिष्ठा गरिएको शब्द उच्चारण गर्नुभयो भने, ऊर्जाको प्रस्फुटन हुन्छ ।