प्रश्न: सद्‌गुरु, जीवनको अर्थ के हो ?


सद्‌गुरु: तपाईं जीवनको बारेमा यसरी कुरा गरिरहनु भएको छ कि मानौँ यो तपाईंबाट बाहिर छ । तपाईं स्वयं जीवन हो । तर विचार, भावना, धारणा, विचारधारा, सिद्धान्तहरू, धर्म र पूर्वाग्रहहरूको मुस्लोले तपाईंलाई यस हदसम्म छोपिदिएको छ कि यो मनोवैज्ञानिक नाटकले जीवनको प्रक्रियालाई नै पूरै ओझेलमा पारिदिएको छ, महत्त्वहीन बनाइदिएको छ । र आज, अधिकांश मानिसहरूको सन्दर्भमा, जब उनीहरू "मेरो जीवन" भन्छन्, हामीले यो बुझ्नुपर्ने भएको छ कि उनीहरू आफ्नो जागिर, आफ्नो व्यापार–व्यवसाय, आफ्नो परिवार, आफ्नो कार, आफ्नो सम्पत्ति, आफ्नो पार्टीको बारेमा कुरा गरिरहेका हुन्छन्; उनीहरू स्वयं जीवन हुन्, तर त्यसको बारेमा कुरा गरिरहेका हुँदैनन् ।

"जीवन के हो ?" म तपाईंलाई यो स्मरण गराइरहेको छु कि तपाईं स्वयं जीवन हो

तपाईं जीवन हो र यतिखेर तपाईं जीवित हुनुहुन्छ— यसैकारण, यी सबै सहायक वस्तुहरूले केही अर्थ राखेका छन् । तपाईं जीवित हुनु भएकोले मात्रै तपाईंको जागिर, तपाईंको गाडी, तपाईंको घर, तपाईंका सम्बन्धहरूले केही अर्थ राखेका छन् । तपाईं जे लगाउनु हुन्छ, जे बोल्नुहुन्छ, तपाईं जे–जति कुराहरूमा संलग्न वा सम्बद्ध हुनुहुन्छ— यी सबैथोकले यसकारण मात्र महत्त्व राख्छन्, किनकि तपाईं जीवित हुनुहुन्छ । सबैभन्दा मूलभूत कुरा के हो भने, तपाईं जीवन हो । तर, तपाईंको मनको नाटक जीवनको प्रक्रियाभन्दा पनि विशाल भएको छ । युरोपमा यो ठुलो गल्ती गरिएको थियो, जुन अहिले पूरै विश्वले आत्मसात् गरेको छ । कुनै न कुनै तरिकाले, हामीले आफ्नो विचारलाई बढी महत्त्व दिन थाल्यौँ, न कि जीवनलाई । र, यो यस हदसम्म पुगेको छ कि कसैले यो भन्ने दुस्साहस गरे— "म सोच्दछु, त्यसैले मेरो अस्तित्व छ ।"

तपाईंको विचार सफ्टवेयर जस्तै हो । तपाईंले जस्तो प्रकारको जानकारीहरू लिनुभएको छ, तपाईंका विचारहरू सोहीअनुरूप हुन्छन् । वास्तवमा, तपाईं एउटा जीवन हो, जसमा त्यो सफ्टवेयर रहेको हुन्छ; तपाईं त्यो सफ्टवेयरको उपज होइन । तर अहिले, अरू सबैथोकको तुलनामा तपाईंका विचारहरू विशाल भएका छन् । यही कारणले गर्दा तपाईं मलाई "जीवन के हो ?" भनेर सोधिरहनु भएको छ । म तपाईंलाई यो स्मरण गराइरहेको छु कि तपाईं स्वयं जीवन हो । तपाईंले आफ्नो जीवनको बारेमा मलाई किन सोध्नु पऱ्यो ? यदि तपाईं मलाई अहिले भारतको मौसम कस्तो छ भनेर सोध्न चाहनुहुन्छ भने, हामी त्यसबारे चर्चा गर्न सक्छौँ, त्यो एउटा सान्दर्भकि वार्तालाप हो । तर, जब तपाईं मलाई "जीवनको अर्थ के हो ?" भनेर सोध्नुहुन्छ— जबकि, तपाईं स्वयं जीवन हो— तब हामीले तपाईंलाई कथा बनाएर भन्नुपर्ने हुन्छ । म यसलाई कथा भनिरहेको छु, किनकी यदि मैले तपाईंको अनुभवमा नआइसकेको कुराको बारेमा बोलेँ भने, त्यो कुरा तपाईंको लागि एउटा कथामा मात्रै सीमित रहनेछ । यदि तपाईंलाई कथा मन पऱ्यो भने, तपाईं त्यसलाई पत्याउनु हुन्छ । यदि तपाईंलाई कथा मन परेन भने, तपाईंलाई पत्यार लाग्दैन । तर, के तपाईंले पत्याउनु भयो भने, त्यो साँचो बन्ने हो र ? के तपाईंले नपत्याउँदैमा त्यो साँचो बन्ने हो र ? दुवै तरिकाले तपाईं सत्यसम्म पुग्नुहुन्न ।

किन निष्कर्षहरू निकाल्नुहुन्छ ?

आखिर, तपाईं कम्तीमा पनि आफैँसँग किन इमानदार हुन सक्नुहुन्न— "मलाई जे थाहा छ, त्यो थाहा छ; मलाई जे थाहा छैन, त्यो थाहा छैन ।" हामी जे–जति चीजहरूको बारेमा जान्दैनौँ, त्यसको बारेमा नानाथरी निर्क्योल निकाल्न चाहन्छौँ, किनकि "मलाई थाहा छैन" भन्ने कुरा कति विशाल छ भनेर अझै बोध भएको छैन । यदि तपाईं आनन्दित र चेतनशील भएर "मलाई थाहा छैन" भन्ने अवस्थामा रहन सक्नुभयो भने, जे जान्नु छ त्यो टाढा हुँदैन । मनुष्यको प्रज्ञा वा बुद्धिमत्ताको मूल प्रकृति नै यो हो, कि तपाईं "मलाई थाहा छैन" को अवस्थामा रहिरहन सक्नुहुन्न । केही जान्ने अभिलाषा अनि त्यसको लागि खोज गर्ने अभीप्सा तपाईंभित्र निरन्तर सक्रिय रहन्छ । तपाईंले यो देख्नुहुनेछ कि तपाईंको बुद्धिमत्ताले आफूले सकेजति जान्नको लागि कुनै न कुनै तरिका पत्ता लगाउनेछ ।

यदि तपाईं आनन्दित र चेतनशील भएर "मलाई थाहा छैन" भन्ने अवस्थामा रहन सक्नुभयो भने, जे जान्नु छ त्यो टाढा हुँदैन ।

त्यसोभए, "मलाई थाहा छैन" भनेर स्वीकार्नुमा समस्या के छ ? वास्तवमा, समस्या के हो भने हामीले यस्तो समाज निर्माण गरेका छौँ, जहाँ ज्ञानलाई बढी महत्त्व दिइन्छ, तर खोज गर्नुलाई कुनै महत्त्व दिइँदैन । ज्ञान, मुख्यतः केही जानकारीहरू र विशाल मात्रामा तपाईंका निष्कर्षहरूको सञ्चय मात्र हो । यहाँ सम्म कि तथाकथित विज्ञानले समेत हरेक दुई वर्षमा आफ्ना धारणाहरू परिवर्तन गरिरहन्छ । यो किन हो भने, तपाईं अन्तहीन रूपमा एउटा निष्कर्षबाट अर्को निष्कर्षमा गइरहनु हुन्छ । धार्मिक मानिसहरू एउटै निष्कर्षलाई काखी च्यापेर बसिरहेका छन्, वैज्ञानिकहरू एउटा निष्कर्षबाट अर्को निष्कर्षमा गइरहेका छन्, जुन क्रमिक विकास जस्तो देखिन्छ र केही हदसम्म यो त्यसो हो ।

मूलतः हरेक चीजको बारेमा निष्कर्ष निकाल्नु पर्ने त्यत्रो ठुलो आवश्यकता किन ? जब तपाईं "जीवनको अर्थ के हो" भनेर सोध्नुहुन्छ, वास्तवमा तपाईं जीवनको बारेमा निचोडमा वा टुङ्गोमा पुग्न चाहिरहनु भएको हुन्छ । तपाईंको जीवनको निचोड अनि तपाईंको जीवनको अन्तिम क्षण वा टुङ्गिने क्षण एउटै हो— तपाईं र म दुवैका लागि । तपाईं जुन क्षण निचोड वा निष्कर्षमा पुग्न चाहनुहुन्छ, अनजानमै तपाईं मृत्यु पछ्याइरहनु भएको हुन्छ । तपाईंको बाल्यकालदेखि अहिलेको अवस्थासम्म तपाईंसँग फगत यत्ति भएको छ । जब तपाईंले कुनै पनि चीजको बारेमा निष्कर्षहरू निकाल्नु भएको थिएन, तपाईं प्रत्येक चीजलाई निकै आश्चर्य भएर तथा पूरै संलग्न भएर हेर्नुहुन्थ्यो । तर, अहिले तपाईंसँग अनेक निष्कर्षहरू छन्, "अँ त्यो रूख हो, त्यो पुतली हो, यो भनेको यो हो, त्यो भनेको त्यो हो"— एकपछि अर्को निष्कर्ष निकाल्दै सबैथोकलाई उपेक्षा वा बेवास्ता गरिएको छ ।

जीवनको अनुभव

तपाईंले यो बुझ्नैपर्छ कि जब तपाईं जीवनको अर्थ सोध्नुहुन्छ, तब तपाईं केवल निष्कर्ष निकाल्ने प्रयास गरिरहनु भएको हुन्छ, ताकि भरे राति आरामले सुत्न सकियोस्— किनकि, निष्कर्ष नहुने हो भने, तपाईंभित्रको प्रज्ञाले घच्घच्याइ रहन्छ । यदि तपाईंले अन्योलमा रहँदा समेत कसरी आनन्दित हुने भनेर जान्नुभएको छ भने, त्यो एकदमै राम्रो हो, किनकि यसको अर्थ यो हो कि तपाईंको बुद्धिमत्ता सक्रिय छ । तपाईं जुन क्षण निर्क्योल निकाल्नु हुन्छ, तपाईं जुन क्षण विश्वास गर्नुहुन्छ, तपाईंको बुद्धिमत्ता निदाउँछ अर्थात् निष्क्रिय हुन्छ । तर, जब तपाईंलाई थाहा हुँदैन, तपाईं प्रत्येक चीजलाई पूरै संलग्न भएर अनि गहिरिएर नियाल्नु हुन्छ ।

तपाईंभित्रको जीवनले कुनै अर्थ खोजिरहेको हुँदैन; यो अनुभवहरूले प्रचुर हुन चाहन्छ । सर्वप्रथम, तपाईं त्यो निर्माण गर्नुहोस् । त्यसपछि, यस्ता सबै प्रश्नहरू बिलाउने छन् ।

के जीवनसँग तपाईंको संलग्नता महत्त्वपूर्ण छैन ? जीवनलाई जान्ने अरु कुनै तरिका छ र ? यदि तपाईं आफूले खाइरहनु भएको खानासँग संलग्न हुनुहुन्न भने, त्यो खाना वास्तवमा के हो भनेर जान्न सक्नुहुन्छ त ? अधिकांश मानिसहरूको सन्दर्भमा, उनीहरू पहिलो गाँसमा मात्रै सचेत र संलग्न हुन्छन् । त्यसपछि, परिकारहरूको कुनै स्वाद नलिइकनै हतार–हतार निलिरहेका हुन्छन् । वास्तवमा भन्नुपर्दा, जीवनको सुरुवाती बाल्यकालमा मात्रै मानिसहरूले जीवनलाई अनुभव गरेका हुन्छन् । त्यसउपरान्त, प्रत्येक चीजको बारेमा उनीहरूसँग आफ्नै व्याख्या हुन्छ, निष्कर्ष हुन्छ ।

तपाईं जति बढी निष्कर्षमा पुग्नुहुन्छ, त्यति नै कम अनुभव गर्नुहुन्छ । हामीलाई सबैथोकको बारेमा थाहा छ, तर कुनै पनि चीजको रत्तिभर अनुभव छैन । तपाईं जो हो, त्यसको मनोवैज्ञानिक पक्षको सन्दर्भमा मात्रै कुनै पनि चीजको अर्थ अर्थपूर्ण हुन्छ । तपाईंको तार्किक मनले अर्थ चाहन्छ । तर, यो जीवनको प्रकृति यस्तो छ कि यदि तपाईं यहाँ लाखौँ वर्षसम्म बाँच्नुभयो भनेपनि, यसले तपाईंलाई तबपनि अचम्मित पार्नेछ, साथै तपाईं त्यसबेला पनि संलग्न रहन सक्नुहुन्छ । तपाईं यसलाई जति नजिकबाट नियाल्नु हुन्छ, यसले तपाईंलाई त्यति नै चकित पार्नेछ । तपाईंभित्रको जीवनले कुनै अर्थ खोजिरहेको हुँदैन; यो अनुभवहरूले प्रचुर हुन चाहन्छ । सर्वप्रथम, तपाईं त्यो निर्माण गर्नुहोस् । त्यसपछि, यस्ता सबै प्रश्नहरू बिलाउने छन् । त्योबिना, तपाईं अनेक प्रश्नहरू सोधिरहन सक्नुहुन्छ, किनकि तपाईं मनको धरातलमा उभिनुभएको छ, जसले निरन्तर अर्थ खोज्ने प्रयास गरिरहेको हुन्छ ।

 

Editor’s note: Read more about Sadhguru’s personal journey on the spiritual path in More Than A Life.