सम्पूर्ण महाभारत अध्यायहरू

सद्‌गुरु:

महाभारत— प्रत्येक मानिसको कथा

तपाईंले आफ्नो बारेमा गलत धारणाहरू बनाउनु भएकोले नै कथा आरम्भ हुन्छ । मानिसहरूमा जीवनप्रति, उनीहरूका दुःख–कष्टहरू तथा उतार–चढावहरूप्रति रहेका मिथ्या एवं भ्रामक धारणहरूको प्रतिनिधित्व गर्ने कथा नै महाभारत हो । मानिसहरू जीवनसँग तालमेलमा नरहेका हुनाले नै यी गलत धारणाहरू निरन्तर चलिरहेका छन् । जो जीवनसँग लयमा रहेका हुन्छन्, उनीहरूले भन्न खोजेका कुराहरू अरू मानिसहरूले गलत रूपमा बुझ्दछन् । प्रकाश वा उज्यालोलाई शब्दमा व्यक्त गर्न सकिँदैन, तर यदि तपाईंले आँखा खोल्नुभयो भने, तपाईंले उज्यालो देख्न सक्नुहुन्छ । त्यसैगरी, यदि यो जीवन प्रष्फुटित भयो भने— त्यो जीवन, जुन तपाईं स्वयं हो— यसले अरू जीवनलाई महसुस गर्न सक्छ, यो स्वयं जीवन बन्न सक्छ ।

जीवनलाई बताउन सकिँदैन । कुनै पनि कुरा बताउनुको उद्देश्य केवल प्रेरित गर्नु हो, तपाईंको आफ्नै सम्मोहनबाट मोहभङ्ग गर्नु हो । प्रत्येक मानिसले आफूलाई आफ्नै सीमाहरूभित्र सम्मोहित गरेका हुन्छन् र उनीहरूले जीवन भनेकै यही हो भनेर पत्याएका हुन्छन् । यदि तपाईंले उनीहरूलाई त्यो सम्मोहनबाट बाहिर निकाल्नुभयो भने, उनीहरूले भयभीत महसुस गर्नेछन्, किनभने अस्तित्व असीमित छ । त्यसैकारण, यदि उनीहरू एउटा दिशामा फन्को मारिरहेका छन् भने, तपाईंले केही समयको लागि विपरित दिशामा घुमाइदिनु पर्ने हुन्छ, जसले गर्दा उनीहरूलाई कतै गइरहेको भान हुनेछ ।

मानिसहरूले चाहे जेसुकै गरिरहेका भएपनि, सबैजनाले केही राम्रोको लागि नै त्यसो गरिरहेको छु भनेर ठानेका हुन्छन् ।

महाभारतको सम्पूर्ण कोसिस भनेकै यही हो । मानिसहरूले चाहे जेसुकै गरिरहेका भएपनि, सबैजनाले केही राम्रोको लागि नै त्यसो गरिरहेको छु भनेर ठानेका हुन्छन् । चाहे त्यो "मेरो लागि राम्रो" होस्, "तपाईंको लागि राम्रो" होस्, अरू कसैका लागि राम्रो होस् वा सबैका लागि राम्रो होस्— चाहे जोसुकैका लागि राम्रो भए तापनि, सबैजना आफूले राम्रै होस् भनेर त्यसो गरिरहेको ठान्छन् । तर वास्तवकिता के हो भने, सबैजना न त राम्रा हुन्छन्, न त नराम्रा; न सही हुन्छन्, न त गलत नै— त्यसैले, कथा निरन्तर अघि बढिरहन्छ !

महाभारत कोही व्यक्ति विशेषको कथा होइन । 'महाभारत' लाई इतिहास अन्तर्गत वर्गीकृत गरिएको छ । यस संस्कृतिमा महान् ग्रन्थहरूलाई तीनवटा भागहरूमा विभाजन गरिएको छ— इतिहास, पुराण र वेद । वेदहरू अमूर्त सिद्धान्तहरू, वैज्ञानिक तथ्यहरू र अलौकिक (यस लोकभन्दा परका) घटनाहरूको वयानले भरिपूर्ण छन् । पूराणहरूमा यस्ता जीवहरूका कथाहरू छन्, जो मानव होइनन् । इतिहास मानवजातिका कथाहरू हुन्, तर हामीले अहिले जानेको इतिहास (history) को रूपमा होइन, यद्यपि त्यसमा ऐतिहासिक तत्त्व अवश्य हुन्छ । तथ्यहरू वास्तविक घटनामा आधारित हुन्छन् । महाभारत, प्रत्येक मानिसको कथा हो— यसमा तपाईंको जीवनको अर्थ निहीत छ । यदि यो तपाईंको आफ्नै कथा बन्यो भनेमात्र, तपाईंलाई माथि उठाउने प्रक्रिया बन्न सक्दछ ।

महाभारतका रचयिता अनि लेखक

महाभारतको पहिलो संस्करणमा १,००,००० श्लोकहरू थिए, जुन स्वयं गणपतिले लेखेका थिए । जब महर्षि व्यास महाभारत कथा सुनाउन चाहन्थे अनि यो कथा लेख्नको लागि कोही खोजिरहेका थिए, उनले गणपति जत्तिको उत्तम लेखक अरू कोही भेटेनन् । तर, गणपति यस्तो लेखपढको कामबाट दिक्क भइसकेका थिए । उनले भने, "मैले लेख्न शुरु गरेपछि तपाईं एक क्षणको लागि पनि रोकिनुहुन्न । जब म एउटा शब्द लेखिरहेको हुन्छु, अर्को शब्द आइसकेको हुनुपर्छ । यदि तपाईं अकमकिनु भयो भने, म यो काम त्यहीँ छोड्नेछु । तपाईंले यस शैलीमा कथा भनिरहनु पर्छ ताकि मैले रोकिन नपरोस् । के तपाईं यसको लागि तयार हुनुहुन्छ ?" महर्षि व्यासले भने, "ल हुन्छ ! किनकि यो कथा मैले रचना गरेर भन्न गइरहेको होइन । यो कथा मभित्र बाँचिरहेको छ, जुन स्वतः अभिव्यक्त हुनेछ । मेरो एउटै शर्त के हो भने तपाईंले एउटा पनि शब्द नबुझिकन लेख्नुहुँदैन ।"

यस महागाथामा प्रत्येक पात्रले जन्मदेखि मृत्युसम्म पूरै जीवन बाँचेका छन्, जसकारण यो रचना अत्यन्तै जटिल बनेको छ । यदि कुनै पनि कथाले मनुष्य वास्तवमा को हो भनेर बताउन सक्छ भने, त्यो महाभारत नै हो ।

दुवैले एकदमै चलाखपूर्ण तरिकाले सम्झौता गरे अनि व्यासले कथावाचन प्रारम्भ गरे । यी १,००,००० श्लोकहरूमा सयौँ पात्रहरूको चित्रण गरिएको छ । महाभारतमा जति पात्रहरू छन्, त्यति अरू कुनै कथामा छैनन् । यी पात्रहरू कहिलेकाहीँ देखापर्ने पाहुना कलाकारहरू होइनन्, अर्थात् ती पात्रहरू देखा पर्ने अनि फेरि हराउने गर्दैनन् । बरु, प्रत्येक पात्रको जीवनको सबै पक्षहहरूलाई विस्तारमा वर्णन गरिएको छ । यसमा ती पात्रको जन्म, तिनको बाल्यकाल, तिनको विवाह, तिनको सन्यास, तिनको साधना, तिनको विजय, तिनको सुख–दुःख साथै तिनको मृत्युको बारेमा स–विस्तार व्याख्या गरिएको छ । अधिकांश पात्रहरूको सन्दर्भमा, उनीहरूको पूर्वजन्म अनि यहाँ सम्म कि उनीहरूको अर्को जन्मको बारेमा समेत वर्णन गरिएको छ । यस महागाथामा प्रत्येक पात्रले जन्मदेखि मृत्युसम्म पूरै जीवन बाँचेका छन्, जसकारण यो रचना अत्यन्तै जटिल बनेको छ । यदि कुनै पनि कथाले मनुष्य वास्तवमा को हो भनेर बताउन सक्छ भने, त्यो महाभारत नै हो । महाभारत राम्रो वा नराम्रो, प्रेम वा घृणाको कथा होइन, बरु यसले जीवनका सम्पूर्ण जटिलताहरूलाई समावेश गरेको छ । यसले जीवनका सबै प्रकारका भावनाहरू, अनेक थरीका मानिसहरूको बारेमा कुरा गरेको छ । यसमा हरेक स्तरको मानवीय चेतनाको प्रतिनिधित्व भेट्न सकिन्छ । साथै, सबै दर्जा र कोटिका विकास र प्रगतिहरू देखाइएको छ ।

आखिर महाभारतको महत्त्व के हो ? पहिलो कुरा त यो हो कि यदि यसलाई कथाको रूपमा हेर्ने हो भने, यो अद्वितीय एवं अद्‌भुत कथा हो । महाभारत कथा नै कथाको श्रृङ्खला हो— कथाभित्रको कथा, त्यसभित्र एउटा कथा अनि फेरि अर्को कथा ! यो यस धरतीको सबैभन्दा लामो महाकाव्य हो । 'इलियाड'र र 'ओडिसिया' लाई मिलाउने हो भनेपनि, यो तीभन्दा सात गुणा बढी लामो छ । (यी दुवै प्राचीन युनानी कवि होमरद्वार लिखित महाकाव्य हुन्, जुन उनले 'ट्रायको महायुद्ध' को पृष्ठभूमिमा लेखेका थिए ।)

धारणा नबनाउनुहोस्, बरु कथालाई बाँच्नुहोस्

म चाहन्छु कि तपाईं यो कथालाई बाँच्नुहोस् । हामी यहाँ २१औँ शताब्दीमा बसेर ५,००० वर्षअघिका मानिसहरूका बारेमा धारणा बनाउनु उचित होइन— यो अत्यन्तै अन्यायपूर्ण हुनेछ । म यो निश्चिन्त भन्न सक्छु कि यदि उनीहरू अहिले जीवित हुने हो भने, तपाईंहरूलाई हेरेर उनीहरूले निकै अप्रिय धारणाहरू बनाउने छन् । यो राम्रो वा नराम्रो, सही वा गलतको बारेमा होइन । यो त मनुष्यको प्रकृतिलाई गहिराइमा खोज्ने बारेमा हो, जुन कहिल्यै कहीँकतै गरिएको छैन । यो त केवल एउटा खोज हो, अन्वेषण हो— कृपया यसको बारेमा निष्कर्षहरू ननिकाल्नु होस् ।

धर्म र अधर्म भनेको सही र गलत, राम्रो वा नराम्रोसँग सम्बन्धित हुँदैनन् । यो यस्तो नियम हो, जसलाई तपाईंले बुझ्नुभयो भने, यसले तपाईंलाई सत्यतर्फ लिएर जानेछ ।

यो कथा सबैभन्दा पहिले महर्षि व्यासले भनेका थिए । उनी यो कथालाई जीवित राख्न चाहन्थे, त्यसैले यो चुनौती उठाए । त्यसबेला देखि हजारौँ मानिसहरूले केही फेरबदल गरेर आ–आफ्नै तरिकाले महाभारत लेखेका छन् । भिन्न–भिन्न क्षेत्रहरूमा, भिन्न–भिन्न जातिहरू, वर्गहरू अनि जनजातिहरूमा यसको फरक–फरक स्वरूपहरू देख्न सकिन्छ । हरेक कथावाचकले आफू सामुन्ने बसेको भीडलाई हेरेर सोहीअनुसार कथालाई फेरबदल गरेका थिए । तर, यति धेरै फेरबदलहरू हुँदा समेत यो दूषित भएको छैन । बरु, यो झन् समृद्ध भएको छ, किनकि यी ५,००० वर्षमा कसैले पनि यो कथामा आफ्ना धारणाहरू थोपरेर यसलाई दूषित गरेका छैनन् । र, तपाईंले त्यो गर्नुहुँदैन । यस कथामा को असल छ वा को खराब छ भनेर नसोच्नुहोस् । यो कथा त्यसरी बनेको छैन । यी केवल मानिसहरू हुन् ।

धर्मअधर्म भनेको सही र गलत, राम्रो वा नराम्रोसँग सम्बन्धित हुँदैनन् । यो राजा–महाराजाहरू, पुजारीहरू वा आम नागरिकहरूका लागि दिइएको आचार संहिता पनि होइन । यो यस्तो नियम हो, जसलाई तपाईंले बुझ्नुभयो भने, यसले तपाईंलाई सत्यतर्फ लिएर जानेछ । यदि तपाईंले कुनै कथालाई बाँच्नुभयो भने, यो एकदमै शक्तिशाली आध्यात्मिक प्रक्रिया बन्दछ । यदि तपाईंले कथाको बारेमा धारणा बनाउनुभयो भने, तपाईंको जीवन अन्योलपूर्ण बन्नेछ, भ्रमहरूको डङ्गुर बन्नेछ । भ्रमित अवस्थामा तपाईंलाई के राम्रो हो र के नराम्रो, के गर्नुपर्छ र के गर्नुहुँदैन, परिवारमा बस्नुपर्छ वा जङ्गलमा जानुपर्छ, युद्ध लड्नुपर्छ वा लड्नुहुँदैन भन्ने नै थाहा हुँदैन । यदि तपाईंले यो कथालाई बाँच्नुभयो भने, तपाईंले यो बुझ्नुहुनेछ कि धर्मले जीवनको प्रक्रियालाई चैतन्यसम्म पुग्ने भऱ्याङ बनाउन सक्दछ । अन्यथा, यही जीवन प्रक्रिया भूमरी बनेर नर्कमा पुऱ्याउनेछ— थुप्रै मानिसहरू यही गरिरहेका छन् !

स्वर्णिम काल— बाहिर र भित्र

समय अनि हाम्रो प्रणालीमाथि समयको प्रभाव निकै महत्त्वपूर्ण हुन्छ । तपाईंहरूमध्ये जो आफ्नो दैनिक जीवनमा दिनबाट रात र रातबाट दिन, पूर्वान्हबाट अपराह्न र मध्यरातको भिन्न–भिन्न सन्ध्याहरूको प्रयोग गर्नुहुन्छ, सायद तपाईंहरूले यो समयको महत्त्व जान्नुभएको हुनुपर्छ । तर, अहिले हामी दुईवटा युगहरूबिचको सन्ध्याको कुरा गरिरहेका छौँ । मानव शरीर, मन, ऊर्जा, मनुष्यको सम्पूर्ण विद्युतीय प्रणाली साथै यो प्रणाली सृष्टिको विद्युतीय प्रणालीसित तालमेलमा काम गर्ने तरिकामाथि समयको निकै ठूलो प्रभाव हुन्छ । यसले एउटा विशाल सम्भावनातर्फ डोहोऱ्याउन सक्छ । यदि तपाईं त्योसँगै जानुभयो भने, तपाईं एउटा स्थितिमा रहनुहुनेछ । यदि तपाईं त्यस विरुद्ध जानुभयो भने, तपाईं अर्कै स्थितिमा रहनुहुनेछ ।

महाभारतको अन्त्यको बारेमा तपाईंले जे–जति जान्नुभएको छ, त्यसलाई किनारा लगाउनुहोस् । यदि तपाईं आफ्नो जीवनको सुन्दरता खोज्न चाहनुहुन्छ भने, तपाईंले कथाको परिणामको बारेमा नसोचिकनै यसको सुन्दरताको खोज गर्नुपर्छ ।

वोल्टेज बढ्दै गर्दा यदि तपाईं सही प्रकारको उपकरण हो भने, तपाईं एकदमै चम्किनु हुनेछ— अन्यथा फ्युज उड्नेछ ! साथसाथै, समय, युग वा ग्रहहरूको स्थित जस्तोसुकै भए तापनि, मनुष्य व्यक्तिगत स्तरमा यी सबैबाट माथि उठ्न सक्दछ । चाहे जेसुकै होस्, प्रत्येक मानिस आफूभित्र स्वर्णिम कालमा रहन सक्दछ । अति प्रतिकूल समयहरूमा समेत मानिस व्यक्तिगत स्तरमा त्यसबाट अछुतो रहने सम्भावना सदैव हुन्छ ।

सही दृष्टिकोण र परिवेश

तपाईंहरूमध्ये जो समयभन्दा माथि रहने कोसिस गर्नुहुन्छ अनि जो समयसँगै विलिन हुन चाहनुहुन्छ, सबैका लागि दृष्टिकोणहरू फरक–फरक हुन्छन् । तर दुवैमध्ये जेसुकै भएपनि, म चाहन्छु कि यसलाई आफ्नै कथा जसरी यसको आनन्द उठाउनुहोस्, कथासँगै बग्नुहोस् अनि यसलाई बाँच्नुहोस् । महाभारतको अन्त्यको बारेमा तपाईंले जे–जति जान्नुभएको छ, त्यसलाई किनारा लगाउनुहोस् । यदि तपाईं आफ्नो जीवनको सुन्दरता खोज्न चाहनुहुन्छ भने, तपाईंले कथाको परिणामको बारेमा नसोचिकनै यसको सुन्दरताको खोज गर्नुपर्छ ।

कथाको सबैभन्दा सुन्दर पक्ष भनेको यदि तपाईं कथामा पूरै संलग्न हुनुभयो भने, जीवनका दुःख–कष्टहरू नभोगिकनै तपाईंले जीवनको अनुभव गर्न सक्नुहुनेछ । तपाईं कुनै पनि नाट्यशाला वा रङ्गमञ्चमा जानुको कारण के हो भने, तपाईं कुनै पनि खतरा वा जोखिमबिनै जीवनका सम्पूर्ण अनुभवहरूमार्फत सुरक्षित तरिकाले जान सक्नुहुन्छ । यदि तपाईंले ती सम्पूर्ण कुराहरूलाई आफ्नो जीवनमा प्रयोग गर्ने कोसिस गर्नुभयो भने, तपाईंलाई जीवनले पटक–पटक चुटेर मार्न सक्छ । यसैकारण, यदि तपाईंले महाभारतको रसस्वादन गर्नुभयो भने, तपाईं घाइते नभइकनै हिंसा अनुभव गर्न सक्नुहुन्छ, जुन निकै महत्त्वपूर्ण कुरा हो । चाहे तपाईंलाई यो कुरा चित्त बुझोस् वा नबुझोस्, अझैपनि मानव समाजहरूमा हिंसा कायमै छ । तसर्थ, हिंसा किन हुन्छ भनेर बुझ्नु नै उत्तम हुनेछ । यदि तपाईंले हिंसा किन हुन्छ भनेर बुझ्नुभएन भने, कुनैदिन यो तपाईंकै कारणले हुनेछ । कृपया यसलाई मनन गर्नुहोस् । तपाईं हिंसाबाट टाढै रहने कामना गर्न सक्नुहुन्न । कुनै दागबिनै एउटा महान् युद्धबाट गुज्रिनको लागि महाभारत कथा एउटा अद्‌भुत अवसर हो— किनकि, मानिसको अनुभव मुख्य रूपमा उसको विचार र भावनाहरूबाट निर्धारित हुन्छन् ।

सम्पूर्ण महाभारत अध्यायहरू

Editor’s Note: Find more stories at the Mahabharat stories page.

This article is based on an excerpt from the February 2015 issue of Forest Flower. Pay what you want and download. (set ‘0’ for free). Print subscriptions are also available.