महाकुम्भ मेला: क्या है इसका विज्ञान?
கும்பமேளா – ஏன் இவ்வளவு சிறப்பு?

...सूर्यले आफ्नो परिक्रमामा भेट्ने देशहरू मध्ये भारतलाई सर्वश्रेष्ठ बनाउन मानव र प्रकृति दुवैले कुनै कमी राखेका छैनन् । - मार्क ट्वेन

सद्‌गुरु: भारतीय संस्कृति संसारकै सबैभन्दा जटिल र रङ्गबिरङ्गी संस्कृति हो । तपाईंले देख्नुहुनेछ, मानिसहरूको रूप-रङ्ग, उनीहरूको भाषा र खाना, लुगा लगाउने तरिका, संगीत र नृत्य, सबैकुरा देशको हरेक पचास वा सय किलोमिटरमा फरक-फरक छन् । यो संस्कृतिको जटिलता वास्तवमै देख्न सकिने एउटा ठाउँ भनेको कुम्भ मेला हो ।

सन् २००१ मा प्रयागराजमा भएको महाकुम्भ मेलामा ६ करोड मानिसहरू जम्मा भएका थिए । मलाई यस्ता ठाउँहरूमा जाने कहिल्यै रहर थिएन, तर यसको बारेमा धेरै चर्चा भइरहेको थियो, त्यसैले यो अकल्पनीय स्तरको भव्य कार्यक्रम हेर्न मैले कोयम्बटुरबाट त्यहाँ जाने निर्णय गरें ।

यो संसारको सबैभन्दा अद्‌भुत दृश्यहरू मध्ये एक हो । म त्यहाँ बिहान करिब २ बजे पुगें र देशका विभिन्न भागबाट आएका सबै खालका मानिसहरू त्यहाँ वरपर बसिरहेका थिए । उनीहरूसँग सुत्ने ठाउँ थिएन, त्यसैले उनीहरूले स-सानो आगो बालेर आ-आफ्नै संस्कृति र भाषाको गीत र नृत्यमा रम्दै थिए । मानवताको सबैभन्दा खराब र उच्च दुवै पक्ष त्यहाँ देखिन्थ्यो - आफ्नो भाग्य चम्काउन चाहने हरेक किसिमका ठगहरू, तर साथै धेरै सिद्धि प्राप्त योगीहरू पनि त्यहाँ थिए । मानिसहरू हजारौं वर्षदेखि यसरी भेटघाट गर्दै आएका छन् । यो एउटा परम्परा र संस्कृति हो, जसलाई तपाईं मार्न सक्नुहुदैन र यसको एउटा निश्चित सामाजिक सान्दर्भिकता छ । तर यसको एउटा निश्चित आध्यात्मिक शक्ति पनि छ ।

पृथ्वी र चन्द्रमा आफ्नै चक्रहरूमा घुमिरहन्छन् । सबैजना यो चक्रहरूको प्रभावमा हुन्छन्, तर यी चक्रहरू कि त बन्धनका चक्रहरू बन्न सक्छन्, वा तिनीहरू पर जाने माध्यम बन्न सक्छन् – जीवनको एउटा चक्रबाट अर्को चक्रमा । मुक्तिको गहिरो आकांक्षा राख्ने व्यक्ति लगातार आफूले सिर्जना गरेका चक्रहरूबाट कसरी मुक्त हुने भन्ने खोजिमा हुन्छ । विभिन्न प्रकारका चक्रहरू छन्, जसमध्ये सबैभन्दा लामो १४४ वर्षको हुन्छ; १४४ वर्षमा एकपटक, सौर्य मण्डलमा विशिष्ट घटनाहरू हुन्छन्, जसको कारण महाकुम्भ मेला हुने गर्छ, जुन पछिल्लो पटक सन् २००१ मा भएको थियो ।

कुम्भ मेलाहरू देशका विशिष्ट स्थानहरूमा आयोजना गरिन्छन्, जसको वरिपरि एउटा सम्पूर्ण ऊर्जा प्रणाली सिर्जना गरिएको थियो । ग्रह घुमिरहेको कारण, यसले एउटा केन्द्रापसारक बल वा centrifugal force अर्थात् केन्द्रबाट बाहिरतर्फ फैलिने ऊर्जा सिर्जना गर्छ । शून्य देखि तेत्तीस डिग्री अक्षांशसम्म, यो बल मुख्यतया तपाईंको प्रणालीमा ठाडो रूपमा काम गरिरहेको हुन्छ, र विशेष गरी एघार डिग्रीमा, ऊर्जाहरू सिधै माथि तर्फ प्रवाह हुन्छन् । त्यसैले, प्राचीन ऋषिमुनीहरूले यस्ता ठाउँहरू पत्ता लगाए जसको मानिसहरूमा सहयोगी प्रभाव पर्ने थियो । धेरै बिन्दुहरू नदीहरूको संगम हुने ठाउँमा पर्छन् र ती क्षेत्रहरूमा स्नान गर्नुको फाइदा छ । कुनै व्यक्ति कुनै खास दिनमा त्यस ठाउँमा हुँदा, दुर्लभ सम्भावनाहरू उपलब्ध हुन्छन्, त्यसैले मानिसहरू यी परिस्थितिहरूको उपयोग गर्न त्यहाँ जान्छन् । यी मध्ये धेरै मानिसहरू किसान र अनपढ हुन्छन्, जो न्यून स्रोत-साधनका साथ लामो दूरीको यात्रा गरेर त्यहाँ जान्छन् । उनीहरू बस् मुक्तिको लागि रहेको गहिरो चाहनाको कारण त्यहाँ हुन चाहन्छन् । सम्पूर्ण जनसंख्याले यति तीव्रताका साथ मुक्तिको लागि इच्छा राख्ने ठाउँ संसारमा अन्य कहीँ छैन ।

धेरैजसो भारतीयहरूलाई भारतमा भएको र भइरहेको रहस्यवाद र आध्यात्मिक प्रक्रियाको गहिराइको बारेमा थाहा छैन । यो भूमि सधैं विश्वको आध्यात्मिक राजधानीको रूपमा चिनिएको छ, किनभने अरु कुनै संस्कृतिले भित्री विज्ञानलाई यति धेरै बुझाइका साथ हेरेको छैन । यहाँ, मुक्ति सर्वोच्च लक्ष्य रहेको छ, र भगवानलाई पनि त्यसतर्फको एउटा खुड्किलोको रूपमा मात्र लिइन्छ ।

दुर्भाग्यवश, आज हामीले देख्ने आध्यात्मिक संस्कृति धेरै हदसम्म आक्रमणहरूले र लामो समयको गरिबीले विकृत भएको छ । तैपनि, आध्यात्मिक प्रक्रियाको मूल भावना नष्ट भएको छैन, न त यसलाई नष्ट गर्न सकिन्छ । अब यो गहन परम्पराको पूर्ण गौरवको फाइदा उठाउने समय आएको छ ।

सम्पादक टिप्पणी: के तपाईं कहिल्यै कुम्भ मेलामा जानुभएको छ? तलको कमेन्ट सेक्सनमा आफ्नो अनुभव हामीलाई बताउनुहोस्।

प्रयागराजमा कुम्भ मेला

प्रयागराजको कुम्भ मेला सम्भवतः विश्वको सबैभन्दा ठूलो जमघट हो । ग्रहीय स्थितिको आधारमा गणना गरिएको यस शुभ दिनमा भारतभरका साथै हरेक आध्यात्मिक मार्गका साधकहरू पवित्र गंगा नदीमा स्नान गर्न एकसाथ आउँछन् । मेला हरेक बाह्र वर्षमा हुन्छ, जुन एउटा सौर्य चक्र हो र यो आध्यात्मिक मार्गमा महत्वपूर्ण संख्या हो । कुम्भ मेला भारतको अमूल्य आध्यात्मिक सम्पदाको एक स्थायी प्रतीक हो ।